शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीमा ६६ जनाले आत्महत्या गरे

सोमवार , आश्विन ३, २०७९

सिन्धुली – सिन्धुलीमा आत्महत्या सम्बन्धी सचेतना कार्यक्रम संचालन गरिएको छ । आइतबार जिल्ला प्रहरी कार्यालय सिन्धुलीले आत्महत्या न्यूनिकरणका लागि सचेतना कार्यक्रम संचालन गरेको हो ।

आत्महत्या रोकथाम सम्बन्धी देशब्यापी सचेतनाको अवधारणा २०७९ बमोजिम “आत्महत्या दुरुत्साहन’’ कार्यक्रम संचालन गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रबक्ता प्रहरी नायब उपरिक्षक हरिकृष्ण केसिले बताउनुभयो । ¥याली सहित सिन्धुलीमाढी बजारमा परिक्रमा गरिएको थियो । कार्यक्रममा आत्महत्या न्यूनिकरणका चुनौती, समाधान लगाएतको विषयमा छलफल भएको थियो ।

कार्यक्रम जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्र.ना.उ.हरीकृष्ण के.सी.को अध्यक्षता तथा जिल्ला सरकारी वकिल कार्यालय सिन्धुलीका प्रमुख जिल्ला न्यायधिबक्ता बिमल थापाको प्रमुख आथित्यतामा भएको कार्यक्रममा स्थानिय जनप्रतिनिधि,वृद्धिजिवि , बिभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रमुख तथा प्रतिनिधी ,शसत्र प्रहरी,नेपाल प्रहरी, बिभिन्न बिद्यालयका शिक्षक तथा बिद्यार्थीहरु, नागरीक समाज लगायतको उपस्थिति रहेको थियो ।

जिल्लामा आर्थिक वर्ष २०७८/७९ मा ६६ जनाले आत्महत्या गरेका छन् । ५९ जनाले झुण्डी र ७ जनाले विष सेवान गरे आत्महत्या गरेको प्रहरीले जनाएको छ । जिल्लामा हरेक महिना आत्महत्याका घटना बढ्दै गएको प्रनाउ केसिले बताउनुभयो । “हाम्रो प्रहरी कार्यालयको तथ्यांक हेर्न हो भने महिनौँ आत्महत्या गर्नेको संख्या बढी रहेको छ । विभिन्न कारणले बालबालिका देखि बृद्धबृद्धा सम्मका व्यक्तिले आत्महत्या गरिरहेका छन् । यसलाई न्यूनिकरण गर्नका लागि सम्पूर्ण नागरिक गम्भिर भएर लाग्न जरुरी छ ,” उहाँले भन्नुभयो , “बढ्दै गएको सहरीकरणसँगै महत्वाकांक्षा पनि थपिँदै जाने तर महत्वाकांक्षा पूरा नहुने, व्यवसायमा असफलता, श्रीमानश्रीमतीबीचको झगडालगायतका कारणले पनि आत्महत्याका घटना बढेका छन् ।”

यसका साथै मानसिक तनाव, प्रेम सम्बन्ध, बहुविवाह, बढ्दो प्रविधिसँगै आएको विकृति, घरेलु हिंसा, आत्मग्लानी, गरिबीलगायत पनि आत्महत्याका लागि कारण बन्ने उहाँले बताउनुभयो । ‘प्रेममा असफलताका कारण खासगरी युवाहरूमा एक्लै वा युगल आत्महत्याका घटना पनि भइरहेका छन् । प्रेमका कारण आत्महत्या हुनुका समेत दुई किसिमका छन् । पहिलो, घरमा श्रीमती या श्रीमान् हुँदाहुँदै भएका विवाहइतर सम्बन्ध । दोस्रो, प्रेममा परेका तर विभिन्न कारणले विवाह हुन नसकेका । जस्तै– जातपात, आर्थिक हैसियत नमिल्दा प्रेममा जोडिएकाहरूको सम्बन्धले विवाहको रूपधारण गर्न सक्दैन । र, उनीहरू आफूहरूको प्रेम अस्वीकार गर्ने समाजलाई आफैँलाई समाप्त पारेर दण्डित गरिरहेका छन्, उहाँले भन्नुभयो ।

सिन्धुलीमा मात्र नभई देशभर नै आत्महत्याको समस्या रहेको उहाँको भनाइ छ । साथै उहाँले आत्महत्याका घटना बढ्दै गएपछि यसका कारण र न्यूनीकरणबारे सूक्ष्म अनुसन्धान गरिरहेको जनाइएको छ । उहाँले भन्नुभयो, “जसरी आत्महत्या गर्नेहरुको संख्या बढिरहेको छ, यसले समाज डरलाग्दो अवस्थामा जाँदै छ भन्ने अवस्थाको चित्रण गरेको छ”, केशीले भन्नुभयो, “त्यसैले पनि बेरोजगार युवाहरूलाई रोजगार बनाउने, सचेतना बृद्धि गर्नुका साथै मनोवल बढ्ने खालका कार्यक्रममा जोड्न सके आत्महत्या न्यूनीकरण गर्न सकिन्छ ।”

शरीरमा थकान, निराशा, अनावश्यक तनाव, पुराना कुराहरूप्रति वितृष्णा हुनेजस्ता किसिमका लक्षण देखिए चिकित्सकहरूसँग परामर्श गर्नुपर्ने मनोचिकित्सकहरूले सुझाव दिएका छन् । पछिल्लो समय किशोर–किशोरीले समेत आत्महत्या गर्नुको कारण पहिचान गरी विद्यालय स्तरबाटै जीवनको महत्व बुझाउँदै सचेतना जगाउने र आत्मबल बढाउने खालका कार्यक्रम गर्न जरुरी रहेको उनीहरूको भनाइ छ । के कारणले मानिस आत्महत्यातर्फ उन्मुख हुने गरेका छन् ती कारणको पहिचान गरी निराकरण गर्न जरुरी रहेको मनोचिकित्सकहरू बताउँछन् ।

प्रतिक्रिया