सिन्धुली– सुनकोशी गाउँपालिकामा दश बुँदे घोषण पत्र जारी गरिएको छ । पालिका स्तरीय विपद् जोखिम व्यवस्थापन ऐन बनाउने र कार्यान्वयन गर्ने, विपद् जोखिम व्यवस्थापन तथा वातावरणीय उत्थानशील योजना तयार पारी लागु गर्ने, विपद् प्रतियोजना कार्ययोजना तयार पार्ने, विपद् कोषको सही परिचालन गर्ने लगायतका १० बुँदे घोषण पत्र जारी गरिएको हो ।
गाउँपालिकाका जनप्रतिनिधीहरुले पालिकाले गर्नुपर्ने नीतिगत र कार्ययोजनाका विषय समेटेर १० बुँदे घोषणा पत्र जारी गरेका थियो । शनिबार विपद् जोखिम व्यवस्थापन तथा न्यूनीकरण सम्बन्धमा २ दिने तालिममा घोषण पत्र जारी गरिएको थियो । विपद् जोखिम व्यवस्थापन र न्यूनीकरणका क्षेत्रमा भए गरेका नीति योजना र स्थानीय तहलाई प्राप्त अधिकारका सम्बन्धमा र स्थानीय जनप्रतिनिधिको भूमिका सम्बन्धमा भदौ ३० र ३१ गते २ दिनसम्म छलफल चलेको थियो ।
नेपाल सरकार संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालय र आइ ओ एमको मार्गनिर्देशनमा भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालले तालिमको आयोजना गरेको थियो । तालिममा कमलामाइ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विषकसेन ढकाल र भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालका रामकृष्ण शर्माले मूख्य प्रशिक्षकको भूमिका निर्वाह गर्नुभएको थियो ।
तालिमको समापन कार्यक्रममा बेल्नुहुँदै सुनकोशी गाउँपालिकाकी अध्यक्ष दिपा बोहरा दाहालले पालिका स्तरमा विपद् व्यवस्थापनका क्षेत्रमा गर्नुपर्ने सबै काम गर्ने र भएका नीति योजना बमोजिम कार्यान्वयन पनि गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।