सिन्धुली – सिन्धुलीको एक विद्यालयले विद्यार्थीलाई मौलिक संस्कृति सिक्ने अवसर दिएको छ । जिल्लाको कमलामाई नगरपालिका ६ को भगवती अंग्रेजी आवासिय उच्च माध्यमिक विद्यालयले हरेक महिनाको अन्तिम मंगलबार विद्यार्थीलाई जातीय पहिचान खुलाउने पहिरनमा स्वेच्छिक रूपले विद्यालय आउन र मातृभाषा बोल्न पाउने अवसर दिएको हो ।

विद्यालयले विगत ३ वर्ष देखि विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सम्पूर्ण जात, धर्म, संस्कृति, भाषा र भेषभुषाको सम्मान साथै संरक्षण गर्न सिकाइरहेको छ । मौलिक संस्कृतिका बारेमा नयाँ पुस्ता परिचित हुनुपर्छ भन्ने हेतुका साथ भगवती अंग्रेजी आवासिय उच्च माध्यमिक विद्यालयले फरक कार्यक्रम संचालन गर्दै आएको जनाएको छ ।

महिनाको अन्तिम मंगलबार भगवती विद्यालयमा फरक फरक भेषभुषामा विद्यार्थी देखिन्छन् । जातीय पोशाकमा सजिएर विद्यालय आएका विद्यार्थीहरु कुनै कार्यक्रमका लागि प्रदर्शन गर्न भने आएका होइनन् । विद्यालयले अभिभावकसँग छलफल गरि महिनाको अन्तिम मंगलबार बालबालिकालाई जातिय पोशाकमा पठाउन आग्रह गरेपछि बालबालिकाहरु विभिन्न जातजातिको भेषभुषामा सजिएर विद्यालय आउने गरेका छन् । नयाँ पुस्तामा मौलिक संस्कृतिप्रतिको अपनत्वकालागि विद्यालयले सो कार्यक्रम संचालन गरेको प्रधानाध्यापक कृष्ण उप्रेतिले बताउनुभयो । उहाँले भन्नुभयो, “विद्यालयले संस्कृति संरक्षणसँगै बालावालिकाहरुलाई नैतिकवान शिक्षा दिनुपर्छ ।

नयाँ शिक्षा, सामाजिक ज्ञानसँगै सामाजिक मूल्य मान्यता सिकाउने थलो हो विद्यालय । पढाइसँगै विद्यार्थीले आफ्नो संस्कृति, भेषभुषा, भाषा लगाएतका कुरामा जानकार हुनुपर्दछ । विद्यालयमा शिक्षा मात्रै होइन धर्म र संस्कृतिको बारेमा समेत ज्ञान दिने गर्दछ ।” उहाँले भगवती विद्यालयले विद्यार्थीलाई आफ्नो संस्कार, संस्कृति सिकाउने र यसको संरक्षणकालागि कार्यक्रम संचालन गरेको बताउनुभयो ।

दौरा सुरुवालमा आफ्नो छोरालाई सज्जाउदैँ गर्नुभएकि सिन्धुली माढीबजारकी सबिना कार्कीले विद्यालयको रचनात्मक कार्यक्रमप्रति अभिभावक सन्तुष्ट भएको बताउनुभयो । ९ वर्षिया छोरालाई विद्यालय पठाउन दौरा सुरुवाल लगाइदिदैँ उहाँले भन्नुभयो, “बालबालिका जिज्ञासु हुन्छन् ।

आफ्नो साथीले फरक लुगा लगाएको देख्दा जिज्ञासा राख्छन् । त्यहिक्रममा बालबालिकाले नेपाली संस्कृति, भेषभुषा, जात, धर्मका बारेमा ज्ञान पाउँछन् ।” सबिना जस्तै ग्रेसा खड्कापनि आफ्नो बच्चाले भेषभुषा र संस्कृतिको बारेमा चासो लिन थालेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “विद्यालयहरुले गर्ने यस्ता कार्यक्रमहरुले नेपाली संस्कृति जोगिएको छ । विद्यार्थीहरुलाई सैद्धान्तिक ज्ञानका अलबा आफ्नो धर्म, संस्कृतिका बारेमापनि जानकारी मिलेको छ ।”

संस्कृति विनाको सभ्यताको कल्पना गर्न सकिन्न । संस्कृतिले मानिसको उत्पति, चालनचलन, भाषा, संस्कार र धर्मको समग्रतालाई जनाउँछ । संस्कारले व्यक्ति, समाज र राष्ट्रको पहिचान बनेको हुन्छ । नेपालमा बहुसांस्कृतिक रुपमा १२ धर्म र १ सय २५ जातजातिको आ–आफ्नै भाषा तथा धर्म, संस्कृति रहेको छ । तर, नयाँ पुस्तामा मौलिक संस्कृतिप्रति चासो घट्दै गएको छ ।