शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीमा विश्वकर्मा पुजाका लागि सामान किन्नेको भिड

शनिवार , आश्विन १, २०७९

सिन्धुली – सिन्धुलीमा विश्वकर्मा पुजाका लागि सामान किन्नेको भिड देखिएको छ । सिन्धुलीमाडी बजारमा शुक्रबार विश्वकर्मा पुजाको सामान किन्ने र बेच्नेको चहलपहल बढेको हो ।

विहाननै देखि सिन्धुलीमाढीमा ठेलामा थरिथरिका ध्वजा र मिठाइको परिकार बेच्नेको लर्को देखिएको छ । मुख्य चोक तथा बजारमा विश्वकर्मा पुजाका सामाग्रीले रंगीचंगी देखिन्छ । कमलामाई नगरपालिका ६ कि विनिता गौतम विश्वकर्मा पुजाका लागि चाहिने आवश्यक सामाग्री किन्न बजार आउनुभएको थियो । एकै ठाउँमा राखिएको ठेलामा उहाँलाई कस्कोमा सामान किन्ने भने नै अन्योल भयो । “सबै ठेला एकै ठाउँमा छ । कुनमा र कस्कोमा किन्ने भन्ने अन्योल नै भयो । सबै व्यापारी यता छ पुजाको सामान भनेर देखाउछन् । यता जाउँ कि उता अन्योल नै भयो नि ,” उहाँले भन्नुभयो ।

पुजाका लागि आवश्यक सामाग्री किनेर फर्किदै गर्नुभएको स्थानिय शोभा पौडेल बजारमा चहलपहल बढेको बताउनुहुन्छ । “बजार रंगीचंगी देखिएको छ । सबै ठेलामा सामान किन्नेको भिड छ । वर्कशपहरु सिंगारेर बेहुुली जस्तै बनाएका छन् । विश्वकर्मा पुजाको गित बजेको छ । धेरै नै चहलपहल बढेको छ ,” उहाँले भन्नुभयो ।

कमलामाई नगरपालिका ६ का श्री नाथ साह मिठाइको परिकार बनाउन व्यस्त हुनुहुन्छ । विश्वकर्मा पुजाका लागि हो यो सबै परिकार उहाँले मिठाइका परिकार देखाउदै भन्नुभयो, “यस्तै समयमा हो विक्री हुने । अरु समयमा खासै राम्रो व्यापार हुन्न । आज देखिनै विभिन्न मिठाइका परिकार किन्नेको लर्को लागि सक्यो । माग अनुसार बनाउनु परिहाल्यो ।” रातभरिनै मिठाइको परिकार बनाउने गरेको उहाँ सुनाउनुहुन्छ । पुजाका लागि अगिल्लो दिनै सबै परिकार बनाएर तयारी राखिएको उहाँले बताउनुभयो ।

उद्योग कलकारखानाका मेसिन,गाडी तथा फलामको पुजा गरि विश्वकर्मा पुजा मनाइन्छ । द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रका बीचमा ‘भेद द्वारका’ बनाइ लुकाएको धार्मिक विश्वास रहेको छ । एकै रातमा समुद्रका बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी पूजाआजा रहेको छ ।

विश्वकर्मा पुजाको अवसरमा बर्ष भरी कुनै अप्रिय घटना नहोस् भनी मेसिन तथा औजारहरुको पूजा गर्ने चलन रहेको छ । देशका विभिन्न भागमा रहेका मजदुरहरुले ध्वजापाताले कलकारखाना, यातायात लगायतका फलामे औजारहरुलाई सजाउने र विश्वकर्माको मुर्ति वा तस्विरमा पूजा गर्नुका साथै प्रसाद चढाउने गर्दछन् ।

प्रतिक्रिया