सिन्धुली – सिन्धुलीको स्थानिय तहका दलित महिला सदस्यहरु दलित समुदायको हक अधिकारका लागि सक्रिय रुपमा लागि पर्न थालेका छन् । वडामा आउने बजेट तथा कार्यक्रम दलित समुदायको पहुचमा पुर्याउनका लागि महत्वपूर्ण भूमिकामा देखिएका छन् । जनप्रतिनिधि भएपछि धेरै कुरा बुझ्ने अवसर पाएकाले दलित समुदायको हक अधिकार माग्न सक्ने भएको कमलामाई नगरपालिका वडा नम्बर ४ की दलित महिला सदस्य गोरी मायाँ सर्किनीे सुनाउनुुहुन्छ ।
सर्किनी जस्तै निर्वाचित दलित महिला सदस्यहरु आफ्नो हक अधिकारप्रति सचेत हुन थालेका छन् । दलितहरुका लागि आएको बजेट अन्यत्रै खर्च गर्ने परिपाटी अन्त्यका लागि आवाज उठाई रहेका छन् । “पहिले आफूहरुको हक अधिकार के हो ? दलितका लागि के कति बजेट आउछ भन्ने आफूहरुलाई थाहै थिएन ।” तिनपाटन गाउँपालिका ५ की दलित महिला सदस्य गिता विश्वर्कमा भन्नुहुन्छ । “तर अहिले जनप्रतिनिधि भएपछि धेरै कुरा बुझ्ने भएकाले दलितको क्षमता विकासका साथै सिपमूलक तालिमका लागि बजेट छुट्याउनका लागि पहल गरिरहेको छु ,” तिनपाटन गाउँपालिका ११ की दलित महिला सदस्य जगत कुमारी सार्की पनि जनप्रतिनिधि भएसंगै आफ्नो क्षमता विकास भएको सुनाउनुहुन्छ ।
पहिले पहिले आफ्नै हक अधिकारबारे अन्यौलमा रहेको बताउने रेसम माया अहिले दलितको लागि छुट्याउने बजेटले उनीहरुकै लागि खर्च गर्नुपर्ने रहेछ भन्ने बुझेको बताउनुहुन्छ । दलितका लागि आएको बजेट सार्वजनिक धारा, बाटो र भवनहरुमा खर्च गरिदै आएको अहिले आएर बुझेको भन्दै उनी अव दलितका लागि आएको बजेट दलितको लागि खर्च गर्न लागि पर्ने सुनाउनुहुन्छ ।
त्यस्तै, कमलामाई नगरपालिका १३ की सदस्य विमला कामी पनि दलित महिलाको सिप विकासका लागि आवश्यक बजेट विनियोजन गर्न लागि रहनु भएकोछ । वडाको बैठकमा दलितका सवाललाई प्राथमिकतामा राख्न पहल गरिरहेको उहाँले सुनाउनुभयो । वडाको जुन सुकै बैठकमा पनि दलित समुदायको हक हितको लागि काम गर्नुपर्छ भनेर वडाध्यक्षलाई झकझकाउने गरेको उहाँ बताउनुहुन्छ ।
जनप्रतिनिधि भएपछि दलित महिलाहरु विभिन्न तालिम, गोष्ठी, सभा, सम्मेलनहरुमा सक्रिय रुपमा सहभागिता जनाईरहेका छन् । आफ्नै हक अधिकारबारे अन्यौलमा रहेका उनीहरु राज्यले अवसर दिएकाले अहिले सिंगो समाजको नेतृत्व गर्न सक्ने भएको बताउछन् ।