सिन्धुली – जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा संघ र प्रदेशको निर्वाचनका लागि म्यादी प्रहरीको भर्ना सुरु भएको छ । विहिबारबाट कार्यालयमा म्यादी प्रहरीको भर्ना सुरु भएको हो ।
डेढ महिने रोजगारीका लागि आवेदन दिन युवा पुस्ताको लर्को छ । विहिबार २ सय जनाले आवेदन दिएका छन् । कक्षा १२ मा अध्ययनरत कमलामाई नगरपालिका ४ कि गिता विक थोरै समय भएपनि काम पाइने आसले म्यादी प्रहरीमा आवेदन दिएको दिनुभएको छ । कामको अनुभव हुने र खर्च पनि जुट्ने भएकाले उहाँ उत्साहित हुनुहुन्छ ।
सोहि ठाउँकि विष्णु कार्की पनि थोरै समयका लागि भएपनि म्यादी प्रहरीमा रोजगारी खुलेपछि जिल्ला प्रहरी कार्यालयमा आवेदन दिन पुग्नु भएको छ । बेरोजगार बस्नु भएको उहाँ रोजगारी खोज्दै जिल्ला प्रहरी पुगी आवेदन दिनुभयो । आफुले जस्तै सयौँ युवाले म्यादी प्रहरीमा आवेदन भरिरहेकाले थारै समयको रोजगारीका लागि पनि कडा प्रतिस्पर्धा गर्नुपर्ने बाध्यता भएको उहाँ बताउनुहुन्छ ।
निर्वाचनका बेला म्यादी प्रहरीको सान पनि कम हुदैन ? त्यही भएर आवेदन दिने पनि छन् । तर देशलाई परेको बेला सहयोग गर्ने मनशायले म्यादी प्रहरी बन्नेहरु पनि छन् । डेढ महिना नै भएपनि रोजगारी पाईने भएकाले बाध्यताले म्यादी प्रहरी बन्न आवेदन दिईरहेकाहरु धेरै छन् । म्यादी प्रहरीमा भर्ना हुन आएकाहरु स्नाकोत्तर उर्तीण गरेकादेखि बिभिन्न सीपमुलक तालिम लिएकासम्म छन् ।
आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि १ लाख १५ हजार जना म्यादी प्रहरीका लागि भर्ना खुलेको छ । प्रहरी प्रधान कार्यालय नक्शालले एक सूचना जारी गरी भर्ना खुलेको जानकारी दिएको हो । म्यादी प्रहरीमा भर्ना हुन इच्छुकले यही भदौ ३० गतेदेखि असोज ६ गतेसम्म दरखास्त दिन सक्ने छन् । दरखास्त सबै जिल्लाका जिल्ला प्रहरी कार्यालयमा दिन सकिने छ । १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका र साधारण लेखपढ गर्न जान्नेहरुले दरखास्त दिन सक्ने छन् ।
दरखास्त दिनेहरु राजनीतिक दलको सदस्य नभएको, आतंककारी संगठनको सदस्य नभएको, फौजदारी अभियोगमा सजाय नपाएको, गर्भवती नभएको र आँखा माइनस २ वा प्लस २ भन्दा बढी कमजोर नभएको पनि हुनुपर्ने सूचनामा उल्लेख छ । असोज ९ गतेदेखि १४ गतेसम्म छनौट सुरु हुने छ । असोज २५ गते अन्तिम नतिजा सार्वजनिक गर्ने र असोज ३० गतेदेखि कात्तिक ८ गतेसम्म तालिम दिइने प्रहरी प्रधान कार्यालय नक्शालले जनाएको छ ।
म्यादी प्रहरीले प्रतिदिन ८६९ रुपैयाँको दरले ४० दिनसम्मको पारिश्रमिक पाउने छन् । उनीहरुले खाद्यान्न बापत एकमुष्ट ७ हजार २ सय रुपैयाँ, पोशाक तथा अन्य सामग्री खरिद गर्न ६ हजार रुपैयाँ (हिमाली जिल्लामा खटिनेलाई थप १ हजार), आउने–जाने खर्च १ हजार रूपैयाँ र ३०० रुपैयाँको दरले ४ दिनको खाजा खर्च पनि पाउने छन् ।
सिन्धुलीमा गत वैशाख ३० गते सम्पन्न स्थानिय तहको चुनावकालागि एह हजार १६८ जना म्यादी प्रहरी छनोट भएका थिए । त्यसैगरि, २०७४ मंसिर २१ गते भएको प्रदेश र प्रतिनिधिसभाको चुनावमा सिन्धुलीबाट ११ सय ८१ जना छनोट भएका थिए ।