सिन्धुली – हिन्दू संस्कृति र परम्परा अन्तर्गतका चाडबाड बाक्लिदा छन् । एकपछि अर्को पर्व चाडबाड मुखमा आइरहँदा सिन्धुलीमा आम सर्वसाधारणको व्यस्तता बढेको छ । हिन्दू परम्परामा आफ्ना दिवंगतहरूको सम्झना गरिने पितृपक्ष (सोह्रश्राद्ध) अहिले जारी छ ।
अहिले कर्मकाण्डी पुरोहितको पनि धपेडी (दौडधुप, भ्याइनभ्याई) छ । अहिले जारी असोज कृष्णपक्षको पितृपक्ष (सोह्रश्राद्ध) ले पुरोहितहरूको धपेडी बढाएको हो । अहिले कर्मकाण्डी पेसाका पुरोहितलाई सन्चोबिसन्चको शिष्टाचार निर्वाहका लागि सोधपुछको समय मिलाउन पनि फुर्सद छैन । जारी पितृपक्ष (सोह्रश्राद्ध) मा एकपछि अर्का यजमानको बोलाहटमा श्राद्ध गराईदिनैपर्ने दौडादौडले पुरोहितहरूलाई भ्याइनभ्याई परेको हो । सोह्रश्राद्धमा आफ्ना दिवंगत आफन्तहरूको विशेष विधिबाट पार्वण श्राद्धगर्ने हिन्दू परम्पराका कारण एकै दिन चारपाँच ठाउँमा श्राद्ध गराउनुपर्ने भएपछि आफुहरूका लागि एकछिन थकाइमार्ने समय पनि नभएको पुरोहितहरूको भनाइ छ ।
कमलामाई नगरपालिका–५ का पुरोहित ठाकुर प्रसाद थपलिया भन्नुहुन्छ, “गर्दै आएको संस्कार हो, सबै यजमानको चित्त त बुझाउनै पर्यो, दौडादौडले आफ्नै घरका परिवारजनलाई पनि घरकाजका कुरामा सल्लाह गर्नसम्म भ्याइएको छैन ।”
पितृपक्षका बितेका तीन दिन (भदौ–२६ आइतबारदेखि २९ गते बुधबारसम्म) मा दैनिकजसो तीन÷चार घरमा तर्पण र श्राद्ध गराउनु परेको र यस पक्षका बाँकी दिनका लागि पनि दिनदिनै तीन/चार ठाउँको बोलाहट रहेको थपलियाको भनाई छ ।
असोज कृष्ण प्रतिपदादेखि औँसीसम्मका १५ तिथि, मातामह श्राद्धको अलग विधान र पूर्णिमा तिथि रहेका पितृहरूको पार्वण श्राद्ध पनि यसै पक्षभित्र हुने हुँदा १६ दिन पार्वण श्राद्धको परम्परा छ । पितृपक्षको अन्तिम दिन (औँसी सकिएर असोज शुक्ल प्रतिपदा टेक्ने दिन) मातामह (मावली बाजे) को श्राद्ध गर्नुपर्ने विधान छ ।
सामान्यतया एकोदिष्ट श्राद्ध (पितृपक्षबाहेकको बेलाको तिथि, आफन्त निधन भएको तिथिमा गरिने तर्पण श्राद्ध) सम्पन्न गर्न दुई घण्टा लाग्नेमा पार्वण श्राद्ध (पितृपक्षको श्राद्ध) भने कम्तीमा साढे तीन घण्टा लाग्ने पुरोहित बताउँछन् ।
एकोदिष्टमा जुन पितृको तिथि हो, उनलाई मात्र पिण्ड दिइने हुनाले कम समय लाग्ने गर्छ । तर, पार्वण श्राद्धमा भने आफ्नो घर (पितृकुल), मावल (मातृकुल) का तीन पुस्तालाई नै सङ्कल्प गरेर तर्पण पिण्ड दिनुपर्ने र थपमा गुरु, सासू÷ससुरा, अविवाहित दिदीबहिनी तथा आफ्नै सन्तान नभएका दिवंगत काकाबाबुहरूलाई समेत तर्पण र पिण्ड दिनुपर्ने कर्मकाण्डीय परम्पराले समय बढी लाग्ने गरेको कमलामाई नगरपालिका–६ का पुरोहित बलराम पौडेल बताउनुहुन्छ ।
सूचना र प्रविधिको विकासले पछिल्लो पुस्तामा संसारलाई बुझ्ने र नवीनतम् विषयमा दखल बढाउने होड बढेसँगै कर्मकाण्ड पढ्ने र यो पेसा अँगाल्ने ब्राह्मण पातलिँदै गएका छन् । अझैसम्म लोकलाई देखाउनै भए पनि कतिपयले श्राद्ध र अन्य वैदिक कार्यको आयोजनागर्दै आए पनि अब केही वर्षपछि भने पुरोहित पाइन मुस्किलपर्ने अवस्था देखिन लागेको पूर्वीय वैदिक परम्पराका अनुयायी चिन्ता व्यक्त गर्छन् । “अब त पुरोहित ब्राह्मण भेट्नै मुस्किल भइसक्यो” कमलामाई नगरपालिका–५ का ७१ वर्षीय बाबुराम थापा भन्नुहुन्छ, “नयाँ पुस्ताका सबै अर्कै पेसामा लागेका देखिन्छन्, पुराना पुस्ताका पुरोहितहरूको शेषपछि खै के थामिएला हाम्रो चलन ?”
समयको प्रवाहसँगै अन्य कामदार सरह आपूmहरूको पारिश्रमिक र मर्यादा नहुँदा अव आफ्ना छोराछोरीलाई कर्मकाण्डी क्षेत्र छोडाएर अन्य विषय पढाउन थालिएको पाका कर्मकाण्डी ब्राह्मण स्वीकार गर्छन् ।
यता वैदिक परम्पराका अनुयायीको भने आफ्नो पुरानो रीतिथिति थाम्न नयाँ पुस्ताले चासो देखाउनपर्ने सुझाव छ । दुनियाँका अन्य मुलुकमा आ–आफ्ना परम्पराप्रति गर्व गर्नेहरू देखिनु र पूर्वीय वैदिक परम्परामा भने स्खलन आउनु आफ्नै परिचय निभ्नु जस्तै सबैले ठान्नुपर्ने कमलामाई नगरपालिका–४ का रामबहादुर कार्की बताउनुहुन्छ ।