सिन्धुली– शिद्धेश्वर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले वर्षौँअघि लिएको ऋणको किस्ता तिर्न सकेको छैन । कमलामाई नगर विकास कोषबाट संस्थाले लिएको ऋण भाका नाघिसक्दा समेत वक्यौता साँवा ब्याजको किस्ता भुक्तानी गर्न नसकेको हो । नगर विकास कोषका पदाधिकारीले किस्ता तिर्नका लागि शिद्धेश्वर खानेपानी लागि पटकपटक सम्पर्क गर्दा समेत वेवास्ता गरेपछि कमलामाई नगरपालिकालाई भुक्तानी पठाउनका लागि एक पत्र मार्फत अनुरोध गरेको छ । संस्थाले ऋण लिने समयमा कमलामाई नगरपालिका जमानी बसेको थियो ।
आर्थिक वर्ष २०७८/७९ सम्म तिर्नुपर्ने बक्यौता साँवा ब्याज किस्ता ३० दिन भित्र तिर्नका लागि कमलामाई नगरपालिकाले संस्थालाई अनुरोध गरेको छ । नगरपालिकाले सोमबार एक पत्रमार्फत उपभोक्त संस्थालाई रकम भुक्तानी गर्न अनुरोध गरेको हो । “भाका नाघेको बक्यौता साँवा ब्याज रकम भुक्तानी गर्ने सम्बन्धमा जमानीकर्ता यस नगरपालिका समेत भएकोले नगरपालिकालाई समेत सो पत्रको बोधार्थ प्राप्त भएको र जिम्मेवार पक्ष समेत भएको साथै सोको कारणबाट नगरपालिकामा नगर विकास कोषको सहकार्यमा संचालन हुने कार्यक्रममा समेत असर पर्ने देखिएकोले उक्त उपभोक्ता संस्थालाई पत्र साथ प्राप्त रकम भुक्तानी गरी नगरपालिकालाई तिस दिन भित्र जानकारी उपलब्ध गराउन अनुरोध छ ।” पत्रमा भनिएको छ । उपभोक्ता संस्थाले सावाँ र ब्याज गरि चार करोड ३३ लाख ७७ हजार ५ सय १० रुपैया नगर विकास कोषलाई तिर्न बाकिँ रहेको छ ।
उपभोक्ता संस्थाको तिन वर्षिय कार्यकाल हुनुपर्ने भएपनि ७ वर्ष वित्तिसक्दा समेत साधारणसभा नभएको भन्दै कमलामाई नगरपालिकाका मेयर उपेन्द्र पोखरेलले आर्थिक प्रारदर्शिता नदेखिएको बताउनुभयो । विगतको वर्षमा पनि कमलामाई नगरपालिकाले शिद्धेश्वर खानेपानी संस्थाले काम गरेको क्षेत्रमा पाइप वितरण लगाएत विभिन्न काम गरिरहेको उहाँको आरोप छ । उपभोक्ता समितिले जनताको पैसा हिनमिना गरेको थाहा पाएमा उपभोक्ता संस्थालाई नगरपालिकाले लिइ नगबासीलाई स्वच्छ खानेपानी वितरण गर्ने व्यवस्था मिलाउने उहाँले बताउनुभयो । साथै मेयर पोखरेलले ३० दिनभित्र ऋणको बक्यौता साँवा ब्याज किस्ता भुक्तानी गर्न अनुरोध गर्नुभयो ।
यता शिद्धेश्वर खानेपानी तथा सरसफाइ संस्था भने नगर विकास कोषलाई किस्ता भुक्तानी गरिरहेको बताएको छ । संस्थाले आर्थिक वर्ष २०६७÷०६८ मा ३ लाख, आ.व २०६८/६९ मा १५ लाख ५० हजार तिरेको जनाएको छ । यस्तै, आ.व २०७०/०७१ मा १० लाख, आ.व २०७१/०७२ मा १५ लाख, आ.व २०७३/०७४ मा १० लाख, आ.व २०७४/०७५ मा १० लाख, आ.व २०७५/०७६ मा पनि १० लाख र आ.व २०७७/०७८ मा २५ लाख तिरेको छ ।
शिद्धेश्वर खानेपानी तथा सरसफाइ संस्थाले गत आर्थिक वर्ष २०७८/०७९ मा १ करोड ४४ हजार १ सय २६ रुपैया २२ पैसा आम्दानी गरेको छ भने १ करोड ४ लाख ६ हजार ६ सय ८६ खर्च गरेको जनाएको छ । संस्थाका ग्राहक ४ हजार भन्दा बढी छन् । संस्थामा हाल २४ जना कर्मचारी कार्यरत रहेका छन् ।