सिन्धुली – सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–३ स्थित ऐतिहासिक स्थल सिन्धुलीगढीमा नेपाली सेनाले बनाएको युद्धसंग्राहलय प्रति आकर्षण बढ्दै गएको छ ।
नेपालकै दुर्लभ उक्त संग्राहलय अबलोकन गर्न आउने मानिस दिन प्रतिदिन बढ्दै गएको स्थानीयले बताएका छन् । स्थानीयका अनुसार नेपाली सेनाले उक्त युद्धसंग्राहलय निर्माण गरी राष्ट्रपतिबाट उद्घाटन गराई एक बर्षअघि त्यसको स्वामित्व कमलामाई नगरपालिकालाई हस्तान्तरण गरेको थियो ।
नगरपालिकाले युद्धसंग्राहलयको स्वामित्व पाएसँगै अबलोकनका लागि खुल्ला गरेपछि अहिले उक्त संग्राहलय हेर्न आउने मासिनसको संख्या बढ्दै गएको छ । युद्धसंग्राहलय हेर्न भनेर नै सर्लाहीको लालबन्दीबाट आउनु भएका मनिस साह संग्राहलय लोभलाग्दो पाएको सुनाउनुभयो ।
उहाँले भन्नुभयो, “संग्राहलय भित्र सङग्रह गरी राखिएका ऐतिहासिक बस्तुहरु भोलिका पुस्ताका लागि समेत उत्तिकै चाखलाग्दो रहेछ । पहिलो पटक सिन्धुलीगढी घुम्न आएको तर उत्साहित भएर फर्किदै छु ।” अहिले दैनिक कम्तीमा चार सयभन्दा बढी व्यक्ति युद्ध संग्राहलय र सिन्धुलीगढी घुम्न आउन थालेका कमलामाई नगरपालिकाले जनाएको छ ।
उक्त संग्राहलयको परिसरमा निर्माण भएको बिर योद्धाहरु श्रीहर्ष पन्त, बंशु गुरुङ, बंशराज पाण्डे र बिरभद्र उपाध्यायको प्रतिमा, ठूलोगढी, सानोगढी, युद्धमा प्रयोग भएका किल्ला, पृथ्वीनारायण साहको पूर्णकदको शालिकले सिन्धुलीगढीको ऐतिहासिक महत्वमा उर्जा थपेको उक्त गढी घुम्न आउनु भएका स्थानीय बासिन्दा बलराम बरालले बताउनुभयो ।
अझ त्यहा बन्न बाँकी रहेको भौतिक संम्रचनाहरु निर्माण भएपछि सिन्धुलीगढी नेपालका पर्यटकिय प्रमुख गन्तव्य मध्येको एकमा पर्ने उहाँको ठम्याई छ ।
नगरपालिकाका बरिष्ठ सामाजिक विकास अधिकृत सागरकुमार ढकालका अनुसार संग्राहलय दैनिक बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मात्र खुल्छ । संग्राहलय अबलोकन गर्न नेपाली नागरिकले प्रतिव्यक्ति ५० रुपैया र बिदेशी नागरिकले त्यसको दोब्बर शुल्क तिर्नु पर्दछ । उक्त शुल्क एक दिनमा दुई लाख १९ हजार रुपैयासम्म सङकलन भएको छ ।
उहाँले भन्नुभयो, “अहिले युद्ध संग्राहलय हेर्न आउने मानिस दैनिक बढ्दै गएका छन् । उक्त संग्राहलय नेपालकै पहिलो दुर्लभ भएकोले पनि यसको चासो लिएर हेर्न आउने मानिस बढ्दै गएका हुन् । संग्राहलय अबलोकन गर्न आउने मध्ये ४५ प्रतिशत नागरिक भारतीय छन् ।”
नगरपालकाका अनुसार सिन्धुलीगढीमा नै अहिले बागमती प्रदेश सरकारको साँढे चार करोड रुपैया लागतमा रानीदरबार निर्माण कार्य आन्तिम चरणमा पुगेको छ । त्यस्तै सिन्धुलीगढी युद्धमा सबैभन्दा बढी मानिसले ज्यान गुमाएको रक्ते छाँगोमा समाधिपार्क निर्माणको तयारी भई रहेको छ । यि सबै संम्रचना निर्माण भई सकेपछि सिन्धुलीगढी घुम्न आउनेबाट बार्षिक पाँच करोड रुपैया आम्दानी लिने योजना कमलामाई नगरपालिकाले बनाएको छ ।
पहिले नाममात्रै रहेको सिन्धुलीगढी युद्धसंग्राहलय निर्माणपछि घुम्न लाएक ठाँउ भएको स्थानीय खनियाखर्क माविका प्रधानाध्यापक लेखबहादुर बस्नेत बताउनु हुन्छ । उहाँले भन्नुभयो, ‘जतिसुकै व्यस्त मान्छे अहिले सिन्धुलीगढी पुगेपछि कम्तीमा पनि डेढ घण्टा समय खर्च भएको पत्तै पाउदैन । त्यहा बनेको संम्रचना हेर्दा हेर्दै उक्त समय बित्द छ ।’
नगरपालिकाका अनुसार अहिले सिन्धुलीगढी घुम्न आउने मानिसले संग्राहलय भित्र सङग्रहित गरि राखिएको थिएटर मार्फत गढीको ऐतिहासिक सामरिक महत्वको बृत्त चित्रको प्रर्दशनी, तत्कालिन समयमा सेनाले प्रयोग गरेका घरेलु हात हतियार, तोप, गोला, दस्ताबेज, तत्कालिन युद्धकालिन समयमा घरेलु सेना र बिपक्षी सेनाको पोशाक लगायत ऐतिहासिक बस्तुहरु अबलोकन गर्न पाउने व्यवस्था मिलाईएको छ ।
नगरपालिकाका अनुसार उक्त संग्राहलय नेपाली सेनाको नागरिक सहयोग अभियान अन्तर्गत २०७६ साल माघ महिनादेखि युद्ध संग्राहलय बनाउन सुरु गरिएको थियो । उक्त संग्राहलय निर्माण गर्ने जिम्मेवारी सदरमुकाम सिन्धुलीमाढीस्थित नेपाली सेनाको बद्र्धबहादुर गणले पाएको थियो । नेपाली सेनाको करिब सात करोड रुपैया लागतमा सिन्धुलीगढीमा युद्धसंग्राहलय निर्माण भएको हो । छ हजार २८१ स्क्वायर फिट क्षेत्रफलमा ंछ कोठे एक तल्ले संग्राहलय निर्माण भएको छ ।
नेपाल एकिकरणका बेला बिं. सं. १८२४ असोज १५ गते काठमाण्डौ कब्जा गर्न कप्तान किनलोकको नेतृत्वमा आएको आधुनिक हतियारले सुसज्जित अंग्रेज सेनालाई सिन्धुलीगढीको युद्धमा गोर्खाली सेनाले हराएकोले उक्त स्थानको ऐतिहासिक महत्व रहेको जनाईएको छ ।