सिन्धुली,– संघ र प्रदेशको चुनाव नजिकिँदो छ । यही असोज २ र ३ गते समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची पेश गर्ने निर्वाचन कार्यतालिका छ । जिल्ला निर्वाचन कार्यालय, सुरक्षा निकायदेखि चुनावमा भाग लिने दलहरू तयारीमा जुटेका छन् ।
आसन्न चुनावलाई हेरेर मतदाता नामावली अद्यावधिक, मतदानस्थल थप, स्थानान्तरणदेखि अरु व्यवस्थापकीय काम भइरहेका छन् । चुनावी माहोल क्रमशः बढ्दै गएको छ । मुलुक संघीय शासन व्यवस्थामा गएपछिको दोस्रो कार्यकालका लागि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुन लागेको हो ।
स्थानीय तहको चुनाव भएको केही महिनामै हुन गइरहेको संघ र प्रदेशको चुनावले जनसाधारणमा पनि चासो थपिएको छ । चुनाव जितेर सत्ताको बागडोर सम्हाल्न कुन दल आइपुग्ला भन्ने उत्सुकता बढ्दो छ । निर्वाचन आयोग र मातहात निकायका पदाधिकारीले चुनावी तयारी अघि बढेको जनाएका छन् । जिल्ला निर्वाचन कार्यालय सिन्धुलीका कार्यालय प्रमुख पुष्पा झाले मतदाता नामावली अद्यावधिक र मतदानस्थल पुनरावलोकनको काम भइसकेको बताउनुभयो ।
निर्वाचनका सम्बन्धमा जिल्ला तहमा गर्नुपर्ने तयारीका काम निरन्तर भइरहेको प्रमुख झाको भनाइ छ । झाले आयोगको निर्देशनानुसार काम भइरहेको बताउनुभयो । “मतदाता नामावली अद्यावधिक गरेर आयोगमा नामावली पठाएका छौँ”, उहाँले भन्नुभयो, “मृत्यु भएका र बेजिल्ला दोहोरो भएका नामावली घटाएर आयोगबाट अन्तिम मतदाता नामावली आउन बाँकी छ ।”
दुई नगरपालिका र सात गाउँपालिका रहेको सिन्धुलीमा गत स्थानिय निर्वाचनमा दुई लाख ६ हजार ३३५ मतदाता थए । १ सय ४४ मध्ये अझै ७ वटा मतदानस्थल र ४ वटा मतदान केन्द्र थप्न निर्वाचन आयोग समक्ष सिफारिस गरिएको जनाएको छ । जिल्ला निर्वाचन कार्यालय सिन्धुलीबाट सिफारिस गरिएको मतदानस्थल र केन्द्र कायम भई आएमा अब मतदानस्थल १ सय ५१ वटा र मतदानकेन्द्र २ सय ७२ वटा हुनेछन् । कार्यालयका अनुसार २०७९ बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्बाचनमा जिल्लामा २६८ वटा मतदानस्थल र १४४ वटा मतदान केन्द्र रहेका थिए ।
कार्यालय प्रमुख पुष्पा झाका अनुसार थपिएका मतदान केन्द्रहरुमा गोलन्जोर गाँउपालिका–१ स्थित कामदा मावि डुडभन्ज्याङलाई फुटाएर प्रावि च्याकुटारमा अर्को केन्द्र बनाईएको छ । त्यस्तै गोलन्जोर गाँउपालिका–४ स्थित प्रावि बितिजोर कुभिण्डेलाई फुटाएर बत्सला मावि दिङदिङ किराँतेमा अर्को केन्द्र बनाईएको छ ।
सुनकोशी गाँउपालिका–४ स्थित मावि कोटगाँउ केन्द्रलाई फुटाएर कपिलेश्वर आधारभुत विद्यालय ढुङगेचौरमा अर्को केन्द्र कायम गरिएको छ । मरिण गाँउपालिका–७ स्थित मावि खयरसाल केन्द्रलाई फुटाएर मिलिजुली आधारभुत विद्यालय साहनामा केन्द्र कायम गरिएको कार्यालय प्रमुख झाले जानकारी दिनुभयो ।
तीन वटा केन्द्रलाई पुर्णरुपमा खारेज गरि नजिक ठाँउ सार्न निर्बाचन आयोग समक्ष सिफारिस भएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार कमलामाई नगरपालिका–१४ स्थित वन कार्यालय रानीबास मतदानस्थललाई खारेज गरी जनता मावि चन्दनपुरमा सार्न आयोग समक्ष सिफारिस गरिएको छ । त्यस्तै मरिण गाँउपालिका–५ स्थित आधारभुत विद्यालय घाटा मतदानस्थललाई खारेज गरी पञ्चकन्या आधारभुत विद्यालय घलानचौरमा सार्न आयोगमा सिफारिस गरिएको छ ।
मरिण गाँउपालिका–७ स्थित आधारभुत विद्यालय बाह्रबिसेको दुबै केन्द्रलाई खारेज गरी कपिलाकोट मावि छाप महेश्वता र गौरीशंकर मावि जयमंगलमा सार्न आयोग समक्ष सिफारिस गरिएको कार्यालय प्रमुख झाले जानकारी दिनुभयो ।
समानुपातिकतर्फ उम्मेदवारको बन्द सूची दलले आयोगमा नै बुझाउने हुँदा उक्त कामको जिम्मेवारी जिल्ला तहका निर्वाचन कार्यालयलाई नपर्ने उहाँले बताउनुभयो । मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापनापछि चुनावको व्यवस्थापकीय तयारीले अझ तीव्रता पाउने प्रमुख झाको भनाइ छ । मंसिर ४ मा हुने निर्वाचनका लागि असोज २३ गते मनोनयन दर्ता हुनेछ । असोस २४ गते उम्मेदवार विरुद्ध उजुरी दिने, २४ र २५ गते उजुरीमाथि जाँचबुझ गरी नामावली प्रकाशन गर्ने, २६ गते उम्मेदवारी फिर्ताका लागि समय दिने र सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने आयोगको कार्यतालिका छ ।
जसरी सरकारी संयन्त्र जसरी निर्वाचन सम्पन्न गर्न लागि परिरहेको छ, उसैगरी राजनीतिक दलहरु पनि चुनाव केन्द्रित बनेका छन् । प्रदेश र संघीय निर्वाचनमा सम्भावित उम्मेदवारको नामावलीलाई केन्द्रमा पठाएका छन् । चुनाव लक्षित भेला, प्रशिक्षण र प्रचारात्मक अभियान पनि सुरु हुन थालेका छन् ।