शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

दुधौलीको आन्तिरक कर संकलन लक्ष्य भन्दा अत्याधिक कम

मंगलवार , भाद्र २८, २०७९

सिन्धुली – सिन्धुलीको दुधौली नगरपालिकाको आन्तरिक राजश्व लक्ष्य भन्दा ९३ प्रतिशत कम संकलन भएको छ । नगरपालिकाले आर्थिक वर्ष २०७८÷७९ मा १३ करोड १८ लाख २२ हजार ९ सय २५ रुपैया आन्तरिक राजश्व संकलन गर्ने लक्ष्य लिएको थियो । लक्ष्यको सात प्रतिशत अर्थात १ करोड २८ लाख ८९ हजार ९ सय २८ रुपैया राजश्व संकलन भएको छ ।

नगरपालिकाले सबै भन्दा बढी सिफारिश दस्तुरबाट बढी राजश्व संकलन गरेको छ । सिफारिश दस्तुरबाट ३० लाख ११ हजार ८ सय ६० रुपैया २० पैसा राजश्व संकलन गरेको हो । नगरले सिफारिश दस्तुरबाट ५० लाख राजश्व संकलन गरिने लक्ष्य लिएको थियो । संस्थागत सम्पत्तिमा लाग्ने बार्षिक कर ११ हजार १ रुपैया, सम्पत्ति कर ९ लाख ५४ हजार ५ सय ९२ रुपैया ८७ पैसा, भुमिकर÷मालपोतबाट २२ लाख ३८ हजार ४८ रुपैया ९५ पैसा, घरवहाल कर ६ लाख २१ हजार १ सय ५२ रुपैया ७३ पैसा राजस्व संकलन भएको नगरपालिकाले जनाएको छ ।

यस्तै वहाल विरौटी कर १ लाख ७६ हजार ४ सय ६५ रुपैया, व्यवसाय रजिष्ट्रेसन दस्तुरबापत् ११ लाख ७७ हजार ९ सय ६६, विद्युतीय सेवा शुल्क बापत् ४ हजार ६ सय २, अन्य सेवा शुल्क बापत् १४ लाख ७७ हजार ९ सय ६६, न्यायिक दस्तुर बापत् १ हजार ३ सय १५, अन्य प्रशासनिक सेवा शुल्क बापत् ५७ हजार ४ सय ५० राजस्व संकलन भएको छ । नक्सापास दस्तुर ८ लाख ९८ हजार ८ सय ३९, व्यक्तिगत घटना दर्ता दस्तुर बापत् ९ लाख ७० हजार ९ सय ९०, नाता प्रमाणित दस्तुर बापत् २ लाख ८३ हजार २ सय ९८, अन्य दस्तुर बापत १० लाख २५ हजार १ सय ५१ र प्रशासनिक दण्ड जरिवाना र जफतबाट २ हजार ४ सय राजस्व संकलन गरेको नगरपालिकाले जानकारी दिएको छ ।

आर्थिक वर्ष २०७८/७९ मा सबै भन्दा बढी सवारी साधन कर संकलन गर्ने लक्ष्य लिएको थियो । सवारी साधन कर साना सवारी ४ करोड १७ लाख संकलन गर्ने लक्ष्य लिएको नगरपालिकाले जनाएको छ । यस्तै व्यवसायिक कर २ करोड संकलन गर्ने लक्ष्य लिएको थियो ।

प्रतिक्रिया