शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

मरिणमा ४८ सामुदायिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नियुक्ति

सोमवार , भाद्र २७, २०७९

सिन्धुली – मरिण गाउँपालिकाका ४८ वटा सामुदायिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नियुक्ति भएका छन् । सोमबार गाउँपालिकाले परिचयात्मक एंव स्वागत कार्यक्रमको आयोजना गरी ४८ वटा सामुदायिक विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुलाई नियुक्ति गरेको हो ।

मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान (प्रख्यात) को अध्यक्षता तथा बागमती प्रदेश सांसद बुद्धिमान माझी (वसन्त) को प्रमुख आतिथ्यतामा सामुदायिक बिद्यालयको शैैक्षिक सुधारका लागी गाउँपालिकाले पालिकामै नियुक्ति पत्र दिएको थियो । मरिण बहुमुखी क्याम्पसका व्यवस्थापन समितिका अध्यक्षमा मरिण गाउँपालिकाले बागमति प्रदेश साँसद बुद्धिमान माझी (वसन्त) लाई व्यवस्थापन समितिका अध्यक्ष नियुक्त गरेको मरिण गाउँपालिकाका अध्यक्ष बिमर्श मोक्तानले जानकारी दिनु भयो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुदै बागमति प्रदेश सासंद बुद्धिमान माझी (वसन्त)ले मरिण गाउँपालिकाबाट पहिलो पटक विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुलाई समाहित गरेर कार्यक्रम गरेको बताउनुभयो । एउटा लिडरले शैक्षिक उन्नती प्रगतीको लागि शैक्षिक क्षेत्रमा गुणस्तरीयता अध्ययन गर्नको लागि हाम्रो बुझाईमा एकरुपता आउन जरुरी रहेको उहाँले बताउनुभयो ।

विद्यार्थी र जनताको ईच्छा, चाहना, भावनालाई सहि ढंगमा मुखारित गरेर शिक्षा क्षेत्रमा एउटा कायापलट गर्न मरिण गाउँपालिकाले मात्रै झण्डै चार करोड ३९ लाख बराबरको रकम विनियोजन गरेको र संघ र प्रदेशले झण्डै २२ करोड भन्दा धेरै लगानी गरेको सासंद माझीको भनाई रहेको छ । सामुदायिक विद्यालयको शिक्षामा आमुल परिवर्तन ल्याउन पहिले संचालक समितिहरु सक्रिय र जिम्मेवार बन्नुपर्ने उहाँले बताउनुभयो । राजनीतिक क्षेत्रमा पनि स्वस्थ र स्वच्छ प्रतिस्पर्धा हुनेगरेको भन्दै शिक्षा पाउने पवित्र संस्थामा पनि स्वस्थ र स्वच्छ प्रतिस्पर्धा हुनुपर्ने कुरामा उहाँले जोड दिनुभयो । प्रतिस्पर्धा भयो भने शैक्षिक गुणस्तरमा सुधार आउने उहाँको धारणा रहेको छ ।

मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान (प्रख्यात) ले विद्यालयको बैठक राख्ने ,विद्यालयको रिपोटिङ गर्ने काम मंगलबार बाटै सुरु गर्नुपर्ने र विद्यालय व्यवस्थपन समितिले विद्यालयको अवलोकन प्रत्येक दिन गर्नुपर्ने बताउनुभयो । विद्यालयका शिक्षक विद्यार्थीलाई धम्काउन नभई विद्यालयको गुणस्तर उच्च राख्नका लागि नियुक्ति दिएको कुरा समेत उहाँले प्रष्ट्याउनुभयो ।

विद्यालयमा गुण्डागर्दी, गुटबन्दी राजनीति गर्ने शिक्षकलाई आवश्यक कारबाही गाउँपालिकाले गर्ने बताउदै त्यस्ता शिक्षकलाई कारबाही गर्ने निर्णय गर्नपनि समितीका अध्यक्षहरु सँग उहाँले आग्रह समेत गर्नुभएको छ । यस्तै, कुटेर, पिटेर अध्ययन गर्ने विद्यालयको विधिलाई तोडेर सुशासन कायम गर्नुपर्ने कुरामा जोड दिनुभयो । नवनिर्वाचित अध्यक्षहरुलाई यो जिम्मेवारी सामान्य नभएको भन्दै आफ्नो जिम्मेवारी र कर्तव्य राम्रोसंग निभाउन आफ्नो विद्यालयको शैक्षिक सुधारमा गुणस्तरीयता ल्याउन आग्रह गर्नुभयो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत ओम दर्जीले अबको नयाँ ब्यबस्थापन समितीले मरिणका सामुदायिक बिद्यालयको शिक्षालाई सुसंगठित र सुब्यबस्थित ढङ्गले सन्चालन गर्न अनुरोध गर्नुभयो ।मरिण सरकारकोे शिक्षाको नितिलाई ब्यबहारिकताका साथ कार्यान्वायन गर्नुपर्न बताउदै उहाँले आफुले लिएको जिम्मेवारीलाई महत्वका साथ बहन गरिनु पर्ने बताउनुभयो । कार्यक्रममा मरिण गाउँपालिकाका उपाध्यक्ष बिमला माझी, माओवादी केन्द्रका मरिण गाउँपालिकाका अध्यक्ष काजिमान थिङ लगाएतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया