सिन्धुली – हरिहरपुरगढी गाउँपालिकाले शिक्षा क्षेत्रमा फड्को मार्ने गाउँपालिकाका अध्यक्ष ब्रजध्वज वाइबाले बताउनुभएको छ । सिन्धुली सौगातसँग कुराकानी गर्दै वाइबाले पाँच वर्षको अवधिमा गाउँपालिकाले शिक्षामा फड्को मार्ने बताउनुभएको हो ।
उहाँले भन्नुभयो, “पाँच वर्षमा गाउँपालिकामा आमुल परिवर्तनको आभास दिलाउने छु । हामीले शिक्षाको क्षेत्रलाई विशेष प्राथमिकता दिएर काम गरिरहेका छौँ । शैक्षिक सुधारका लागि शिक्षामा ठुलो बजेट विनियोजन गरेका छौँ । गाउँपालिकाभित्र दुईवटा आवासिय विद्यालय निर्माण हुदैँछ । अब छिट्टैनै गाउँपालिकामा आवासिय विद्यालय बनाउने छौँ । छात्र र छात्रा छुट्टा छुट्टै बस्ने गरि विद्यालयमा आवास गृह बन्ने छ । शिक्षकलाई प्रोत्साहन गर्नका लागि पुरस्कृत गर्नेछौँ । गाउँपालिका भित्र पाँच वर्षको अवधिमा सुविधासम्पन्न विद्यालय भवन निर्माण भएको हुनेछ । साच्चिकै, स्थानिय सरकार आएपछि शिक्षा क्षेत्रमा परिर्वतन भयो भन्ने हुनेछ ।”
दोस्रो प्राथमिकतामा जनताको प्रत्यक्ष दैनिकीसँग जोडिएको विद्युतलाई राखेको अध्यक्ष वाइबाले बताउनुभयो । गाउँपालिका भित्र अध्यारोमा बसेका नागरिकको घरमा उज्यालो बनाउने प्रयास गरिरहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “पाँच वर्षभित्र गाउँपालिकाको प्रत्येक घरमा विजुली बत्ति पुर्याउने लक्ष्य अनुरुप अगाडि बढेका छौँ ।” जिल्लाको नौँ वटा पालिकामध्ये विद्युतीकरणमा हरिहरपुरगढी गाँउपालिका पछाडी परेको छ । उक्त पालिकामा विश्व बैंकको सहयोगमा विद्युतीकरण कार्य भई केही बस्तिमा मात्रै बिजुली बत्ति बलेको भएपनि पालिकाका आठ वटै वडाका सबै बस्तिमा पुगेको छैन ।
निर्बाचनको बेला जनतासँग भोट माग्ने क्रममा घोषणापत्रमा धेरै विषय उल्लेख गरेको बताउदै अध्यक्ष वाइबाले कृषिमा आत्मनिर्भर बनाउने, गाँउपालिका भित्रका विद्यालयलाई आबासिय बनाई नमूना बनाउने, शिक्षामा प्रगती, मदनभण्डारी राजमार्गले नछोएका आठ वटै वडाका शाखा सडकलाई स्तरोन्नती गरी दिगोपना गर्ने, कृषिलाई आधुनिकीकरण गर्दै ‘एक घर, एक रोजगार’ सिर्जना गर्ने प्रतिवद्धता गरेको बताउनुभयो ।
कृषि, शिक्षा, स्वास्थ्य र सडक लगायतका क्षेत्रमा धेरै काम गर्न बाँकी रहेको र गाँउपालिकाको आम्दानीको स्रोत बढाउनका लागि पर्यटक भिœयाउन नयाँ योजना बनाएको उहाँले बताउनुभयो । पर्यटक भिœयाउन हरिहरपुरगढी दरबार मर्मतका लागि यो बर्ष गाँउपालिकाले ३१ लाख रुपैया बजेट छुट्याएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “पहिले मदन भण्डारी राजमार्गबाट हरिहरपुरगढीसम्म पुग्ने सडक निर्माणलाई दिगोपना दिईने छ । हरिहरपुरगढी दरबार मर्मत गर्न पहिले पनि केही काम भएको थियो, त्यो काम पर्याप्त भएको छैन । पालिकाभित्र बिभिन्न मठमन्दीर र गुम्बा निर्माण गरिने छ । क्यानेश्वरमा मानब निर्मित ताल निर्माण गर्ने, पर्यटन भिœयाउन ठाँउ–ठाँउमा होमस्टे निर्माण गरिने छ ।”
पालिकाबाट ठुलो संख्यामा युवा रोजगारीको खोजीमा विदेश गई रहेकोले उनीहरुलाई गाँउमै रोक्ने योजना अध्यक्ष वाइबाले बताउनुभयो । कृषिलाई आधुनिकिकरण गर्दै लैजाने र एक घर, एक रोजगार अभियान सञ्चालन गरिने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “भोट माग्ने बेलामा घरदैलो गर्दा नागरिकको अपेक्षा आफुले धेरै पाएको चर्चा गर्दै उनीहरुको अपेक्षालाई सम्बोधन गर्ने छु । कृषि तथा पशुपालन पेशालाई दिगो र भरपर्दो बनाउन कृषि पेशालाई व्यवसायिक र उत्पादनमुखि बनाउने पनि आफ्नो योजना रहेको छ । अब छिटै नै गाउँपालिकाका प्रत्येक वडालाई सडक संजालसँग जोडिने छ । ”