नायिका पुजा शर्मा अभिनित फिल्म ‘सम्हालिन्छ कहिले मन’ अहिले हलमा रिलिज भइरहेको छ । हरेक पटक उनको फिल्म रिलिज हुँदा फिल्मी नगरिमा एउटा न एउटा तहल्का मच्चिन्छ । अहिले भने सो फिल्मका निर्देशकले बोलेको शब्दहरुका कारण पुजा अभिनित फिल्मको चर्चा चुलिएको छ । फिल्म निर्देशन सुदर्शन थापाले आफ्नो चलचित्रको व्यापारका विषयमा भ्रामक समाचार सम्प्रेषण गरेको आरोप लगाउँदै एक फिल्म पत्रकारलाई गालीगलौज गरेका छन् । नौलोन्यूज डटकम नाम अनलाइनमा प्रकाशित समाचारलाई लिएर उनले पत्रकार सुजन श्रेष्ठलाई फोन गरेर गाली गरेका हुन् । थापा निर्देशित चलचित्र ‘सम्हालिन्छ कहिले मन’ हेर्न दर्शक नआएको भन्दै सो अनलाइनमा एउटा तस्बिरसहित समाचार प्रकाशित भएको थियो । उक्त समाचारमाथि आपत्ति जनाउँदै थापाले आफ्नी श्रीमतीको मोबाइलबाट फोन गरेर गाली गलौज गरेको श्रेष्ठले बताएका छन् ।
श्रेष्ठका अनुसार थापाले उनलाई ‘कानको जाली फुटाइदिने’ धम्की दिएका थिए । हलबाट दर्शक निस्किसकेपछि फोटो खिचेर भ्रम फैलाउन खोजेको उनको आरोप छ । श्रेष्ठले भने आफू स्वयम् हलमा गएर देखेको दृष्यअनुसार समाचार बनाएको बताएका छन् । केही हप्ता यताबाट चाड पर्व परेका कारण यहाँका सिनेमा हलमा पनि नेपाली चलचित्रको चाप बढेको छ । गत साता दुई चलचित्र प्रकाश र राधा रिलिज भएकोमा हल नपाएको भन्दै प्रदर्शनको पाँचौ दिनमा निर्माताले राधालाई हलबाट हटाए ।
यस्तै शुक्रबारबाट थप दुई वटा नयाँ नेपाली चलचित्र रिलिज भएको छ । सुदर्शन थापाको निर्देशनमा चलचित्र ‘ सम्हालिन्छ कहिले मन’ र ज्ञानेन्द्र देउजाको निर्देशनमा चलचित्र ‘झिँगेदाउ’ नेपालका सिनेमा हलमा रिलिज भएको हो । चलचित्र सम्हालिन्छ कहिले मन प्रेमकथामा आधारित चलचित्र हो । यो चलचित्रको छायाँकन नेपाल, युएई, लन्डन, स्कटल्यान्ड लगायतका स्थान गरिएको यसका निर्देशक सुदर्शन थापाले बताएका छन्,‘बिशुद्ध प्रेमकथामा आधारित यो चलिचत्र हामीले अन्तराष्ट्रिय स्तरको बनाएका छौं । मनोरञ्जनका लागि निर्माण गरिएको यो चलचित्र मेरो उत्कृष्ट मध्यको एक हुनेछ भन्ने विश्वास लिएको छु ।’
मुलुकका ७ दर्जन भन्दा बढी सिनेमा हलबाट यो फिल्म एकसाथ रिलिज भइरहेको पनि सुदर्शनले बताए । यो चलचित्रमा आकाश श्रेष्ठ, पुजा शर्मा, सोनाम तोप्देनलगायतको मुख्य भूमिका रहेको छ । एक समयको चर्चित गीत सम्हालिन्छ कहिले मन गीतको शिर्षकलाई लिएर यो चलचित्र निर्माण गरिएको हो । यस्तै शुक्रबार रिलिज हुने चलचित्र झिँगेदाउ मुलुकमा ६ दर्जन भन्दा बढी सिनेमा हलबाट आउने भएको छ । दाजु–भाई र देउरानी–जेठानीको घर झगडामा आधारित यो चलचित्र भीमनिधि तिवारीको कृति ‘झिँगेदाउ’मा बनाईएको हो । यो चलचित्रको बुधबार बेलुका काठमाडौंमा प्रिमियर गरिएको थियो । चलचित्रलाई प्रिमियरमा रुचाईयो । चलचित्र झिँगेदाउमा केकी अधिकारी, आँचल शर्मा, मुकुन भुषाल, कुशल विष्ट, हिउँवाला गौतम, गम भण्डारी, विजय देउजा, आर्यन खड्का, अभयराज बराल, आशा भुषाललगायतका कलाकारहरुको मुख्य भूमिका छ ।