शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

‘सिन्धुलीको जहा सेवाग्राहीले पाउछन् मुस्कान सहितको सेवा’

मंगलवार , भाद्र २१, २०७९

सिन्धुली, – सिन्धुली जिल्लाको नौँ वटा स्थानीय तह मध्ये दुधौली नगरपालिका–३ को वडा कार्यालयले सेवाग्राहीलार्य मुस्कान सहितको सेवा दिन सुरु गरेको छ ।

२०७९ साल बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्बाचनमा उक्त वडाको अध्यक्षमा महिला जनप्रतिनिधि निर्बाचित भएर आएसँगै मुस्कान सहितको सेवा सेवाग्राहीले पाउन थालेको स्थानीयले बताएका छन् । उक्त निर्बाचनमा नेपाली काँग्रेसको तर्फबाट उमेद्वार बन्नु भएको ३६ बर्षिया भद्राकुमारी माझीले नेकपा एमाले र नेकपा माओवादी केन्द्रका उमेद्वारलाई पछि पार्दै वडा अध्यक्षमा निर्बाचित बन्नु भएको हो ।

जिल्लाका ७९ वटा वडा मध्ये दुधौली नगरपालिका–३ ले मात्रै महिला वडा अध्यक्ष पाएको हो । स्थानीय खड्गबहादुर सार्कीका अनुसार निर्वाचित भएको तीन महिना नवित्दै वडा अध्यक्ष माझीले वडा कार्यालयबाट प्रदान गरिने सेवा प्रवाहमा सुधार गर्नु भएको छ । कार्यालयमा पुगेका सेवाग्राही सबैलाई कर्मचारीदेखि जनप्रतिनिधिहरुले नमस्कार गरेर मुस्कान सहितको सेवा दिन थालेका छन् । यसअघि कार्यालय प्रयोजनको लागि मात्रै प्रयोग हुदै आएको फोटोकपी सेवा अहिले सेवाग्राहीले निःशुल्क पाएका छन् ।

“फोटोकपी गर्न टाढा जानु पर्ने हुन्थ्यो । अहिले वडामा पुगेका सेवाग्राहीहरुलाई अन्यत्र जानु पर्ने झनझटबाट मुक्ति पाएका छन् । यो सेवा कार्यालयभित्र निःशुल्क प्रदान गरेका छौँ,” उहाँले भन्नु भयो, “सेवाग्राहीले पैसा तिरेर पनि सेवा लिने अवस्था थिएन । वडा कार्यालय नजिकै फोटोकपी गर्ने मेसिन नहूँदा सेवाग्राहीलाई सास्ती थियो ।” त्यसो त वडा अध्यक्ष माझीले कक्षा १२ सम्मको पढाई पुरा गर्नु भएको छ ।

यस्तै खहरे नियन्त्रण गरेर बस्ती र खेतियोग्य जमिन जोगाउने काम आफ्नो पहिलो प्राथमिकतामा परेको वडा अध्यक्ष माझीले बताउनु भयो । उहाँले वडा कार्यालयबाट प्रवाह गरिने सेवालाई भेदभावन नगरी सबैलाई समान रुपले सहयोग गर्ने पनि सुनाउनुभयो । स्वास्थ्य र शिक्षाको विषयलाई पनि उहाँले प्राथमिकतामा राख्नु भएको छ ।

“स्वास्थ्य चौकी छ, डाक्टर छन् । तर औषधी छैन । यसले स्वास्थ्य सेवा प्रभावित बनेको छ । यो समस्याको समाधान गर्न तत्कालै पहल गदैँ छु, कतिपय बालबालिका विद्यालय पढ्न गएको पाउदिन, उनिहरुलाई विद्यालय जाने वातावरण बनाउन लागि परिरहेकी छु,” उहाँले भन्नु भयो ।

अन्य विभिन्न समस्याका कारण वडा कार्यालयसम्म पुगेर सिफारिस लिन नसक्ने सेवाग्राहीको घर आँगमा पुगेर उहाँले सिफारिसमा हस्ताक्षर गर्दै आउनु भएको स्थानीयको भनाई छ । धेरै सपना बाँडेर भ्रम छर्ने काम आफूबाट नहुने वडा अध्यक्ष माझीको भनाई छ ।

यसअघि २०४९ साल र २०५४ सालमा भएको स्थानीय तह निर्बाचनमा नेकपा एमालेका उमेद्वार बिजयी भएको उक्त वडामा भर्खरै सम्पन्न स्थानीय तह निर्बाचनमा भने नेपाली काँग्रेसको प्यानल नै बिजयी भएको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया