शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

नेपाल पत्रकार महासंघ सिन्धुलीका संस्थापक सभापति दाहाल सम्मानित

मंगलवार , भाद्र २१, २०७९

सिन्धुली – नेपाल पत्रकार महासंघ सिन्धुलीका संस्थापक सभापति शेषराज दाहाल सम्मानित हुनुभएको छ । सोमबार दाहाललाई विशाल–कुमार स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको हो ।

शहिद विशाल कुमारको १९ औं स्मृति दिवशको अवसरमा शहिद विशाल–कुमार स्मृति प्रतिष्ठान सिन्धुलीद्धारा आयोजित कार्यक्रममा पत्रकार दाहाललाई पाँच हजार नगद, सम्मान पत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

एमालेका केन्द्रीय सदस्य एवम् नेपाल बुद्धिजिवी संगठनका इन्चार्ज मनोजजंग थापाले बरिष्ठ पत्रकार दाहाललाई सम्मान गर्नुभएको थियो । थापा प्रतिष्ठानका संरक्षक पनि हुनुहुन्छ । कार्यक्रमलाई सम्बोधन गर्नुहुदै थापाले शेरमान र मोहनचन्द्रबाट सिक्ने धेरै राम्रा गुणहरु भएको स्मरणगर्दै सिन्धुलीको कम्युनिष्ट आन्दोलनमा उहाँहरुको निकै ठूलो योगदान रहेको बताउनुभयो । शहिद ऋषिराज देवकोटा आजाद दुर्गा सुवेदी र दलवहादुर रजनमगरको जस्तै योगदान उहाँहरुको भएपनि सरकारले अहिलेसम्म शहिद घोषणा नगरेर अपमान गरेको बताउनुभयो ।

माओवादी संघर्षका बेला उहाँहरुसँग बसेको विवरणहरु स्मरणगर्दे एमाले केन्द्रीय नेता थापाले भन्नुभयो, “कमरेड बिशाल र कुमारसँग अद्भुत क्षमता थियो, त्यही कारणले तत्कालिन सरकारले उहाँहरुको हत्या ग¥यो । उहाँहरुले गरेको बलिदानबाटै हामिले अहिले यो परिवर्तनको अनूभूति गर्न पाएको हो ।”

कार्यक्रममा सम्मानित हुनुहुने शेषराज दाहालले शेरमान कुँवरलाई आफुले गौमती माध्यमिक विद्यालयमा २ कक्षासम्म पढाएको स्मरणगर्दै उनै विद्यार्थीका नाममा आफु सम्मानित हुन पाएको गर्वले छाती फुलेको बताउनुभयो । उहाँले अगाडि भन्नुभयो, “मैंले राष्ट्रिय स्तरको पत्रकारिता पुरस्कार पाएको थिएँ, रकमकैं हिसावले पनि २ लाख थियो, तर मेरा लागि त्यो पुरस्कार भन्दा यो ५ हजार राशीको पत्रकारिता पुरस्कार निकै ठूलो रहेको अनुभति भइरहेको छ । सिन्धुलीमा अहिलेसम्म यस्तो पुरस्कार कसैले पनि स्थापना गरेका थिएनन, आफ्नै कर्मभूमिमा यसरी सम्मानित हुन पाउँदा गर्व लागिरहेको छ ।”

शहिदपत्नी एवम् कार्यक्रमकी अध्यक्षता गर्नुभएकी प्रतिष्ठानकी अध्यक्ष निरु दर्लामी (शिला)ले सरकारले विशाल र कुमारलाई अहिलेसम्म पनि शहिद घोषणा नगरेकोमा दुःख लागेको बताउनुभयो । उहाँले अगाडि भन्नुभयो, “हामीलाई शहिदका नाममा कुनै पनि सहयोग चाहिएको छैन, मात्रै राज्यका तर्फबाट शहिद घोषणा गरिदिए पुग्छ ।” छोटो तयारीका बीच आयोजना गरिएको कार्यक्रम भएकाले व्यवस्थित ढंगले कार्यक्रम गर्न नसकिएको बताउँदै सम्पूर्ण शहिदहरुलाई पार्टीले समान दृष्टिकोण राख्न आग्रह गर्नुभयो ।

कार्यक्रममा एमालेका केन्द्रीय सदस्य कमलजंग राई, सल्लाहकार परिषद सदस्य केशवप्रसाद देवकोटा, एमाले वाग्मती प्रदेश कमिटी सदस्यहरु खड्ग खत्री, शान्तिमान कार्की, जिल्ला अध्यक्ष रामकुमार कार्की, उपाध्यक्ष कर्ण घिसिंग, सचिव नारायण बराल, उपसचिव रस्मिला देवकोटालगायतका नेता तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन पत्रकार नविनवावु अधिकारीले गर्नुभएको थियो । प्रत्येक वर्ष भदौ २० गते पत्रकारिता पुरस्कार प्रदान गर्नेगरी सो पुरस्कार घोषणा गरिएको हो । प्रतिष्ठानले एक विज्ञप्तीजारी गर्दै १ लाख रुपैयाँ पत्रकारिता पुरस्कारका लागि अक्षयकोष स्थापना गरिएको जनाएको छ ।

प्रतिक्रिया