शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीका थापाको टिमले बनाउदैँ छ दाँत कोट्याउने सिन्का उत्पादन गर्ने मेसिन

शनिवार , भाद्र १८, २०७९

सिन्धुली– बाँसको मुडा, झाडु र बरफमा प्रयोग हुने सिन्का उत्पादन गर्ने मेसिन बनाइसक्नुभएका राजु थापाले दाँत कोट्याउने सिन्का उत्पादन गर्न मेसिन बनाउदैँ हुनुहुन्छ । सिन्धुलीको कमलामाई नगरपालिका ४ साङ्बालेका थापाको समूहले राष्ट्रिय आविष्कार केन्द्र र लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्रको सहकार्यमा मेसिन बनाउन लागेको हो । शुक्रबार मेसिनको आवश्यक प्रविधिको अध्ययन, अनुसन्धान र विकासका लागि काम गर्नेगरी प्रवद्र्धन केन्द्र र आविष्कार केन्द्रबीच समझदारी पत्रमा हस्ताक्षर भएसँगै नेपालमै दाँत कोट्याउने सिन्का उत्पादन हुने भएको हो । उक्त मेसिनले सिन्केधुप र दाँत कोट्याउने सिन्का उत्पादन गर्ने थापाले जानकारी दिनुभयो । आगामी वैशाखसम्म केन्द्रले यस्तो मेसिनको निर्माण सक्नेगरी काम भएको र त्यसका लागि सरकारले पनि सघाउने भएको हो । समझदारीमा प्रवद्र्धन केन्द्रका निमित्त प्रमुख विष्णुप्रसाद भुसाल र आविष्कार केन्द्रको तर्फबाट अध्यक्ष महावीर पुनले हस्ताक्षर गर्नुभएको थियो ।

समझदारीअनुसार आविष्कार केन्द्रलाई अनुदानस्वरुप ४० लाख रुपैयाँ यो आर्थिक वर्षका लागि प्राप्त हुनेछ । सम्झौता पछि आफूहरु उत्साहित भएको आविष्कार केन्द्रका अध्यक्ष पुनले बताउनुभयो । ‘हामी आर्थिक वर्ष सकिने अघि नै काम भ्याउने गरि काम गर्नेछौँ’, पुनले भन्नुभयो ‘वैशाखसम्म यस्तो मेसिन बनाउने छौँ।’

कति हुन्छ सिन्का आयात ?: चालु आर्थिक वर्षको साउन महिनामा नेपालले एक लाख २ हजार मूल्यको १८५ किलो दाँता कोट्याउने सिन्का आयात गरेको छ । यसबाट सरकारले ४९ हजार रुपैयाँ राजस्व असुल गरेको छ । गत वर्ष नेपालले २ करोड ७१ लाख ३९ हजार रुपैयाँको ८८ हजार ६४४ किलो सिन्का आयात गरेको थियो ।

को हुन् थापा ?: वैदेशिक रोजगारीबाट स्वदेश फर्किनुभएका थापा विभिन्न सामाग्रीका निर्माता हुनुहुन्छ । उहाँले आकाशमा उड्ने प्यारामोटर र माछाको कत्ला खुईलाउने मेसिन बनाइसक्नुभएको छ । हाल उहाँ आविष्कार केन्द्रमै रहेर विभिन्न मेसिनहरुको निर्माणमा खटिइरहनुभएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया