शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीको अक्करे भिर छिचोलेर पढ्न विद्यालय धाउदै

शनिवार , भाद्र १८, २०७९

सिन्धुली, – सिन्धुलीको गोलन्जोर गाँउपालिका–७ खुर्कोटस्थित जनज्योती माविमा पढ्न आउने विद्यार्थी अक्करेभिरको पहिरो छिचोल्न बाध्य भएका छन् ।

उक्त पहिरो नियन्त्रणका लागि हालसम्म कुनै पनि निकायले चासो नदिदा उक्त समस्या आएको विद्यार्थीहरुको गुनासो छ । उक्त गाँउपालिकाकै वडा नं. ६ स्थित हैबार, सुँगुरे, बलेनी लगायतका ठाँउबाट आउने विद्यार्थीलाई उक्त पहिरोले सास्ती दिने गरेको हो ।

कक्षा ५ मा अध्ययनरत छात्रा हैवार निवासी दिलमाया श्रेष्ठ बर्षादको बेलामा अक्करेभिरको पहिरोले जहिले पनि सास्ती दिने गरेको गुनासो गर्नुहुन्छ । “अक्करे भिरको पहिरोले पानी परेको बेलामा जहिले पनि पिरोलो दिने गरेको छ, कतिखेर पहिरो बसेर यातायात थुनिने ठेगान हुदैन,” उहाँले भन्नुभयो, “पानी परेको बेला विद्यालयको बस पहिरोबाट वारपार नहुदा कहिले कँही त पढाई पनि छुट्छ ।”

“अक्करे भीरमा पहिरो झरेपछि बस चल्दैन,” उहाँले भन्नुभयो, “अनि पढ्न जान पाँइदैन । यो पहिरो नखस्ने बनाइदिए पनि त हुने थियो ।” जनज्योति माविलाई वाग्मती प्रदेश सरकारले बस सहयोग गरेकोले उक्त बसले पहिरो छिचोल्दै हैबार लगायतका गाँउबाट दैनिक विद्यार्थी बोकेर ल्याउने र पुर्‍याउने गरेको छ ।

दिलमायाका पिता सुमन श्रेष्ठ पनि गाँउमा नै विद्यालय भएपनि अंग्रेजी पढ्न र बस चढ्न पाईने छोरीको हुटहुटीले विद्यालय परिबर्तन गरी खुर्कोटको विद्यालयमा गत बर्ष भर्ना गरि दिएको सुनाउनुहुन्छ । “यताको भन्दा उता(खुर्कोट) कै पढाई ठिक छ, तर सधै अक्करे भिरको सास्ती छ,” उहाँले भन्नुभयो ।

उहाँका अनुसार जनज्योती मावि दूरीको हिसाबले खासै टाढा छैन । हैबार र खुर्कोटको दूरी पाँच किलोमिटर मात्र छ । तर बीचमा अक्करे भीर छ ।

मध्यपहाडी लोकमार्गको हैबार नजिकैको अक्करे भीरमा वर्षात्को समयमा सधैंजसो पहिरो खस्ने भएकाले अन्य तीन दर्जनको हाराहारीमा गुणस्तरीय शिक्षाका लागि धाउने विद्यार्थीहरूका लागि बाधक बन्ने गरेको अर्का स्थानीय अभिभावक शरद आचार्य बताउनुहुन्छ ।

उहाँका अनुसार गुणस्तरिय शिक्षाको लोभले त्यस क्षेत्रका विद्यार्थी र अभिभावकका लागि जनज्योती मावि खुर्कोट रोजाईमा पर्दै गएको छ । कक्षा १ देखि नै अंग्रेजी माध्यममा पढाइ हुने भएकाले अभिभावकले पनि आफ्ना बालबालिकालाई अक्करे भीर छिचोलेर उक्त विद्यालयमा पठाउने गरेका छन् । अक्करे भीरका कारण बेलाबेलामा बाटो नै अवरोध हुँदा भने उनीहरू खिन्न छन् ।

मध्यपहाडी लोकमार्ग सञ्चालनमा आएको एक दशक बित्दा पनि अक्करे भीरमा पहिरो नियन्त्रण हुने गरी कुनै पनि निकायले काम नगरेको स्थानीयको गुनासो छ । “विद्यार्थीहरू मात्र होइन, अक्करेको पहिरो खसेपछि यात्रुहरू पनि तीन–चार दिनसम्म रोकिन्छन्,’ अभिभावक आचार्यले भन्नुभयो, ‘बर्षादको मौसममा यस क्षेत्रका विद्यार्थीले मात्र होईन, पूर्वी पहाडी क्षेत्र हिडेका खोटाङ, ओखल्ढुंगा, सोलुखुम्बु, भोजपुरका यात्रु समेत तीन/चार दिनसम्म रोकिएर बसेका छन्, पहिरोले गर्दा ।”

बीपी राजमार्ग र मध्यपहाडी लोकमार्गको संगम स्थल खुर्कोटमा अवस्थित जनज्योति मावि जिल्लाकै पुरानो विद्यालय हो । विसं. २००९ सालमा स्थापना भएको यो विद्यालय शिक्षकहरूको उत्साह र व्यवस्थापन समितिको सक्रियताले दशकयता भने विद्यालयको मुहार फेरिँदै गएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमूल कार्कीका अनुसार यतिखेर विद्यालयमा बालविकासदेखि १२ कक्षासम्म नै पढाई हुने गरेको छ । विद्यालयमा भौतिक संरचना बन्ने क्रम पनि बढिरहेको छ । विद्यार्थीहरू खचाखच छन् । विद्यालयले प्रविधिमैत्री शिक्षालाई जोड दिएको छ ।

“विद्यालयमा अध्ययनरत छात्रालाई छुट्टै शौचालय र निःशुल्क सेनेटरी प्याडको व्यवस्था गरेको,” उहाँले बताउनुभयो ।

प्रतिक्रिया