सिन्धुली – सिन्धुलीको सदरमुकाम सिन्धुलीमाढीमा शिद्धेश्वर खानेपानी उपभोक्ता संस्थाले आपूर्ति गर्ने पानी फोहोर भएको उपभोक्ताले गुनासो गरेका छन् ।
सिन्धुलीमा स्वच्छ खानेपानी आपूर्तिकालागि स्थानिय देखि केन्द्रिय सरकार र एसियालि विकास बैंकले शिद्धेश्वर खानेपानी संस्थामा करोडौँ लगानी गरेपनि जिल्लावासिहरुले स्वच्छ पानी पिउन पाएका छैनन् । संस्थाले आपूर्ति गर्ने पानी उमालेर खानसम्म नसकिने कमलामाई नगरपालिका ५ कि निस्ता ठकुरीले बताउनुभयो । आफूहरु जारको पानी किनेर खान बाध्य भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘शिद्धेश्वरको पानी त कपडा धुने मात्र हो । कपडा धुँदा पनि फोहोर पानीले गर्दा कपडामा दाग बस्ने गर्छ ।’ शिद्धेश्वर खानेपानी तथा सरसफाई उपभोक्ता समितिले सदरमुकाम सिन्धुलीमाढीमा विभिन्न वडाहरुका ३ हजार ७ सय घरधुरीका २५ हजार जनसंख्यालाई पानी वितरण गर्दै आएको छ । संस्थाले उपभोक्ताहरुसँग महिनामै १५ लाख रुपैँया बढि महशुल उठाउने गरेको छ । पानी भण्डार गर्ने ट्यांकी, पाईप विस्तार, मुहानहरुमा ग्याविन वाल निर्माण लगायतका कामहरु बाह्य लगानीबाटै हुने गरेको छ । संस्थाको आन्तरिक लगानीबाट मर्मत, संभार एवं विपद व्यवस्थापनमात्र हुने गर्दछ । तर, मर्मत एवं संभारमै संस्था चुकिरहेको उपभोक्ताले गुनासो गरेका छन् ।
प्रदेश तथा संघीय सरकार र एडिबिको लगानीमा १५ वटा भन्दा बढि रिजर्भर ट्यांकीहरु जिल्लामा छन् । तर, स्थानीयबासीले धारामा खानेपानी आपूर्ति अव्यवस्थित भएको गुनासो गरेका छन् । उनीहरुले पानी नआएपनि प्रत्येक महिना चर्को शुल्क तिर्नुपरेको बाध्यता रहेको बताएका छन् । सिन्धुलीमाढीका उपभोक्ताहरु वर्षायामको समयमा कैयौँ दिन पानी आपूर्ति नहुने, पानी धारामा आएपनि धमिलो र पिउन लायक नहुुने भएका कारण संस्थाप्रति आक्रोशित छन् । सिद्धेश्वर संस्थाको फोहोर पानी पिएकै कारण झाडापखाला लागेर अस्पतालमा उपचार गराउनु परेको स्थानियले बताएका छन् ।
यता, जिल्लामा उपभोक्ता संस्थाको लापर्वाहीका कारण निजि कम्पनिहरु भने मालामाल भइरहेका छन् । सिद्धेश्वर उपभोक्ता संस्थाको सदस्य भएपनि जारकै पानी खाइरहेको कमलामाई नगरपालिका ५ कि पुष्पा दाहालले बताउनुभयो । उहाँले भन्नुभयो, ‘खानेपानीको लागि सिद्धेश्वर संस्थाको सदस्य बनियो । लुगा धुनकैलागि त ईनारकै पानी काफि थियो । अहिले २० लिटरको पानीलाई ७० रुपैँया तिरेर खानुपरेको छ ।’
निजि उद्योगको उपभोक्तामारा शुल्क: सिद्धेश्वरले स्वच्छ खानेपानी आपूर्ति नगर्दा पानी प्रशोधन गर्ने निजि कम्पनिले ब्रम्हलुट मच्चाएका छन् । वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले २०७७ साल भदौ १० देखि लागू हुने गरी प्रशोधित पानीको जारको मूल्य अधिकतम ५० रुपैयाँ तोकेपनि सिन्धुलीमा प्रति जारको पानीको मुल्य ६० देखि ७० रुपैँया रहेको छ । वााणिज्य विभागका अनुसार पानीको खुद्रा मूल्य ४० रुपैयाँनै रहेको छ । प्रशोधित पानी प्रतिजार कम्पनीको मूल्य २० रुपैयाँ, डिस्ट्रिब्युटर मूल्य ३५ रुपैयाँ र खुद्रा मूल्य ४० रुपैयाँ रहेको विभागले उक्त समयमा सूचना निकाल्दै जानकारी दिएको थियो । अधिकतम खुद्रा मूल्य ५० रुपैयाँ र त्योभन्दा बढी लिए कारबाही हुने सूचनामा उल्लेख गरिएको छ । तर, सिन्धुलीमा भने पानी प्रशोधन गर्ने उद्योगले आफूखुशी मूल्य निर्धारण गरेका छन् । निजि उद्योगले सरकारको प्रतिवेदनलाई अवेज्ञा गर्दै वर्षौँदेखि ठगि गरिरहदा समेत जिल्ला प्रशासनले सम्बन्धित निकायलाई औँला उठाउन सकिरहेको छैन ।
पानीमा किरा, खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय मौन: सिन्धुलीमा संचालित पानी प्रशोधन उद्योगबाट प्रशोधित पानीमा किरा भेटिएपनि खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय मौन बसेको उपभोक्ताले आक्रोश व्यक्त गरेका छन् । पानीको बोत्तलभित्र किरा देखिएको छ । सामाजिक संजालमा उक्त भिडियो भाइरल नै भएपनि नियामक निकायले अनुगमन गरेको छैन । जिल्लामा फोहोर पानी बिक्रि हुँदा समेत नियामक निकाय कानमा तेल हालेर बस्नु दुखद रहेको कमलामाई नगरपालिका ४ का दिपक कार्कीले बताउनुभयो । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली केकालागि स्थापना भएको पत्तो नभएको कार्कीले बताउनुभयो ।
न्यूनस्तर तथा दूषित खाद्य पदार्थ उत्पादन तथा बिक्रीवितरण गरेको कसुरमा खाद्य ऐन ०२३ अनुसार विभागले प्रशोधित पिउने पानी उद्योगहरूलाई ५० हजार जरिवाना, ५ वर्ष कैद वा दुवै सजाय गर्न सक्छ ।