शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

अपांगता भएका सिन्धुलीका महिलाहरूले यसरी मनाए तीज

मंगलवार , भाद्र १४, २०७९

सिन्धुली, – ‘सुनको चुरा, औंठी नि सुनकै छ....’

तीज गीत घन्किरहेको थियो, सिन्धुलीमाढीस्थित सीताराम पार्टी प्यालेसमा । कार्यक्रम हलमा टाँगिएको थियो, एउटा व्यानर । व्यानरमा लेखिएको थियो ‘अपांगता भएका महिलाहरूको लागि शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रम ।’

कार्यक्रममा सहभागी थिए, सुनाइ, बोलाइ र हिँडाइसम्बन्धी समस्या भएका महिलाहरू । श्रवण क्षमता कम भएका महिलाहरू घन्किरहेको गीतमा झुम्न सकेका थिएनन् । कारण थियो, गीत बजेको पत्तो नहुनु ।

हिँडाइसम्बन्धी समस्या भएका केही महिलाहरू ह्विलचियरबाट उठ्न सकेका थिएनन् । एकापट्टीको खुट्टा मात्र गुमाएकी दिपा कार्यक्रम हलको कुर्सीमा बसेर सबै सार्थीहरूलाई नचाउन उस्काइरहनु भएको थियो ।

घन्किरहेको गीतको शब्द,

सुनको चुरा औंठी नि सुनकै छ,

माया जालमा परेकी क्या हो म,

दिनरात झझल्को उनकै छ ।

‘हे, मनको कुरा गा¥हो भो खोल्न,

क्यारी भनु थाल्यो नि मन पोल्न,

सुनको चुरा औंठी नि सुनकै छ ।

माया जालमा परेकी क्या हो म,

दिनरात झझल्को उनकै छ ।’

यस गीतले तान्यो, कमलामाई नगरपालिका–७ माझिटारकी ह्विलचियर प्रयोगकर्ता गोमादेवी कार्की (चमलादेवी) लाई । गायत्री थापाको शब्द, उहाँकै संगीत । राजमजी खाण र देवी घर्तीको स्वर ठूलो आवाजमा बजिरहँदा उहाँलाई यो हरफले मन छोयो । आफ्नै कथा गीतमा भनिदिए झैँ लाग्यो ।

‘शौचालय जाँदा लडेर मेरुदण्ड भाँचिएदेखि हास्न सकेको छैन । कम्मरमुनिको अंग चल्दैन, नाच्नु कसरी ?’ आँखा आँसुले भरियो । उहाँ, निःशब्द हुनुभयो । केही समयपछि तीजको रमझममा रमाउने उपाय बुन्न थाल्नु भयो । दुःख, पीडालाई बेवास्ता गरेर हाँस्ने जाँगर बढाउनुभयो । सुनको चुरा नभएपनि औँठी र रिङ सुनकै छ भनेर ठट्यौली गर्न थाल्नु भयो । ह्विलचियरमा बसेरै पाखुरा भाँचीभाँची नाच्न शुरु गर्नुभयो । अन्य साथीसंगीले ताली पिटेर साथ दिए । कार्यक्रमस्थल हाँसोले भरियो । सबैको अनुहारमा उमंगता छायो ।

फराकिलो हृदय मात्र होइन् फरासिलो स्वभावले भरिपूर्ण भएकी चमलादेवीलार्ई गीतले भने झैँ मनको कुरा खोल्न गा¥हो भएपनि तीजको कुरा बोल्न केहिले छेकेन । उमेरले ६९ वर्ष पार गर्नै लाग्दा श्रीस्वस्थानीको महिनामा जन्मेको भएर आफ्नो नाम गोमा कार्की राखेदेखि ४० वर्ष कटेपछि रमाउन नपाएको तीजका कुरा खुलेर सुनाउनुभयो ।

“नारी जातिको पर्व हो तीज । साथीसंगी जम्मा भएर रातो सारी लर्खाउँदै बारुले कम्मर मर्काएर पाउजु बजाउँदै छमछमी नाचिन्थ्यो,” अपांगता हुनुअघिको तीजलाई सम्झिनु भयो । झन्डै २५ वर्षपछि सार्थीसंगीसँग तीज मनाउन पाएको खुशियालीले उहाँलाई फेरी एक्छिन भावुक बनायो ।

“तीजको व्रत बस्ने अघिल्लो दिन रातको १२ बजेसम्म दर खाएर बस्थ्यौँ । भोलिपल्ट तीन सय जना महिला जम्मा भएर खोलामा नुहाउन जान्थ्यौ । बाटोबाटो नाँच्दै शिव मन्दिर पूजा गर्न पुग्थ्यौँ । नाच्दैनाच्दै घर फर्किन्थ्यौँ । गाउँमा सबैभन्दा फराकिलो आँगन जसको घरमा छ, उसैकोमा दिउँसो सामूहिक पूजा लगाइन्थ्यो । रातभर जाग्राम बस्थ्यौँ । त्यो बेलाको जस्तो रमाइलो अहिलेको तीजमा कहाँ छ र छोरी ?,” उहाँले सुनाउनु भयो ।

उबेला मनाइने तीज र यो बेला बनाउँदै गरिएको तीजबीचको फरक तुलना गर्दाका क्रममा चमलादेवीको अगाडि खीर, अचारलगायतका परिकार आयो । पहिलो चम्चा खीर निल्दै उहाँले भन्नुभयो, “मीठो रहेछ । यसरी पार्टी प्यालेसमा आएर दर खाएको आजै हो ।”

उहाँ मात्र कहाँ हो र ? उहाँकै छेउमा रहेका तथा अपांगता भएका महिलाहले पनि आफूहरूको पहिलो अनुभव भएको सुनाए । यसरी, उस्तैउस्ता र पीडा मिल्दाजुल्दा भएका साथीसङ्गीसँग बसेर सुविधायुक्त ठाउँमा तीज मनाउन पाउनु आफूहरूका लागि हर्षको कुरा भएको सुस्त श्रवण शक्ति भएकी सुनिता दाहालले बताउनुभयो ।

अपांगता भएका महिलाको लागि शुभकामना आदाप्रदान तथा दर खाने कार्यक्रम सिन्धुली जिल्लामै पहिलोपटक भएको सिन्धुली अपांग महिला संघ, सिन्धुलीकी अध्यक्ष दिलकुमारी देवकोटा (दिपा) बताउनुहुन्छ । “महिलालाई वर्षेनी दर खान स्थानीय सरकारले सरकारी सम्पति छुट्याउने गर्दछ । अपांगता भएका महिलाहरूलाई समेटिँदैन । सपांगता भएका महिलाहरू कार्यालय, गाउँ तथा पार्टी प्यालेसमा मनाउँछन्,” उहाँले भन्नुभयो, “सपांगता भएका महिलालाई जस्तै अपांगता भएका महिलाहलाई पनि तीज मनाउने रहर हुन्छ । त्यसैले यस वर्ष अपांगता भएका महिलाका लागि छुट्टै कार्यक्रमको आयोजना गर्नु परेको हो ।”

अपांगता भएका महिलालाई सरकारी कार्यालयलेसम्म अपांगतासम्बन्धि बाहेकका कार्यक्रममा नसमेटेको उहाँको दुखेसो छ । कमलामाई नगरपालिकाले भने तीज मनाउन आर्थिक सहयोग गरेको आयोजकसमेत रहेका सिन्धुली अपांग महिला संघ, सिन्धुलीले जनाएको छ ।

प्रतिक्रिया