शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

हात्तिले गरेको क्षेतीको अनुगमन गर्दै मेयर उपेन्द्र पोखरेल

सोमवार , भाद्र १३, २०७९

सिन्धुली – सिन्धुलीमा हात्तिले गरेको क्षेतीको कमलामाई नगरपालिकाका मेयर उपेन्द्र पोखरेलले स्थलगत अनुगमन गर्नु भएको छ । आइतबार मेयर पोखरेलले नगरभित्र हात्तिले गरेको क्षेतीको स्थलगत अनुगमन गर्नु भएको हो ।

अनुगमनको क्रममा मेयर पोखरेललाई स्थानियले हात्ति धपाइदिनु पर्‍यो भन्दै गुनासो गरेका छन् । “दसैंलाई जोहो गरेको चामल, केराका घरी, मकै केही राखेन” कमलामाइ नगरपालिका ८ करकरेकी रत्नमाया मगरले नगर प्रमुख उपेन्द्र पोखरेल समक्ष गुनासो गर्नुभयो । उहाँको भान्साघरमा राखेको चामल लगायत अन्न, बारीको केराका घरी शनिबार राति दुईवटा जंगली हात्ती आएर खाइदिएको छ ।

उहाँले चाडबाडको लागि मदिरा बनाउन राखेको दुई घ्याम्पा जाँड समेत खाइदिएको भन्दै गुनासो गर्नुभयो । दसैं, तिहार लगायत चाडका लागि कोदोको जाँड छिप्पड बनाएर रक्सी पारी सगुन लिएर माइत जाने रत्नमायाको योजना जंगली हात्तीको उदण्डतासँगै चकनाचुर भयो । “केही राखेन । ऋणधन गरेर चाडको लागि चामल र मदिरा बनाउन सबै तयारी गरिएको थियो । अब हामी जस्ता गरिबले यो सब कहाँबाट जोहो गर्नु । हात्तीका अगाडि कसको के लाग्ने रहेछ र ?” रत्नमायाले भन्नुभयो ।

भत्काएको भान्सा घर र त्यहाँ रहेका सबै खानेकुरा हात्तीले खाइदिएको गुनासो सुनेपछि मेयर पोखरेलले नगरवासीको घरमा परेको विपद्बाट भएको क्षतिपूर्ति उपलब्ध गराउने भन्दै खुसीसाथ चाडबाड मनाउने वातावरण सिर्जना गर्ने प्रतिवद्धता गर्नुभयो ।

रत्नमायाको मात्र हैन कमलामाई नगरपालिका १३ रानीवासको जंगलबाट भिमान हुँदै छिरेका दुईवटा हात्तीले तीन दिनको अवधिमा दर्जनौं गोठ, भान्साघर भत्काउनुका साथै अन्नपात, केरा र धान खेतीमा क्षति पुर्‍याएका छन् । कमलामाइ नगरपालिका ८ का वडाध्यक्ष कमल श्रेष्ठका अनुसार तीनतले, पातीपरान, माइखोला, जिम्दार चोक, घट्ट, धाप्सार, हात्तीसार, हात्तीखर्क, माइस्थान, करकरेमा रहेका दुईवटा हात्तीले स्थानीयलाई सताउने गरेका छन् । हात्तीको त्रासले गर्दा स्थानीयहरु रातभर जाग्राम बस्नुपर्ने बाध्यता रहेको समेत उहाँले बताउनुभयो ।

माइस्थानका हात्ती पीडित कुलबहादुर श्रेष्ठका अनुसार हात्तीले गोठ भत्काएर मकै खाइदिएको छ भने धान खेतमा रोपाइँ गर्न तयार बनाएको गरा जस्तो बनाइदिएको छ । श्रेष्ठले हात्तीले आफ्नो गोठ भत्काएर चाङ मिलाएर राखेको मकै खानुका साथै केराखेती नष्ट गरिदिएको बताउनुभयो । स्थानीय सूर्य श्रेष्ठका अनुसार हात्ती अहिले पुनः रानीवास क्षेत्रतर्फ लागे पनि कतिबेला फर्किने हो भनेर स्थानीयहरु त्रसित बनेका छन् । श्रेष्ठले आफ्नो कुखुरा फार्मबाट ७ बोरा दाना हात्तीले खाइदिएको पनि बताउनुभयो ।

केही वर्ष बिराएर आउने हात्ती अहिले वर्षकै दुई/तीन पटक ओहोर दोहोर गरेर किसानलाई दुःख दिएको मेयर पोखरेलले बताउनुभयो । “हात्तीखर्क, हात्तीसार जस्ता ठाउँहरु हात्तीको पुर्खौली थलो भएकाले उनीहरुले आफ्नो रुट प्रयोग गरेको जस्तो देखिन्छ,” उहाँले भन्नुभयो, “जंगलमा फलफुलको भण्डार रित्तिएकाले हात्तीहरू मानव बस्तीमा खाना खोज्दै पसेका हुन् । दीर्घकालीन समाधानका लागि जंगलमा फलफुल नरोपी सुखै छैन ।” हात्तीले पु¥याएको क्षतिको वडा कार्यालय मार्फत् विवरण संकलन गरेर पीडितलाई राहत वितरण गरिने उहाँको भनाइ छ ।

ख

प्रतिक्रिया