शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीको दुधौली नगरपालिकाले आठ लाख खर्च गरेर पोखरामा तालिम गर्दै

सोमवार , भाद्र १३, २०७९

सिन्धुली – दुधौली नगरपालिकाका जनप्रतिनिधि र कर्मचारी जनप्रतिनिधिको क्षमता विकास तालिमका लागि पोखरा पुगेका छन् । नगरपालिकामा गठबन्धबाट निर्वाचित जनप्रतिनिधि र विभिन्न शाखाका प्रमुखहरु सो तालिमका लागि पोखरा पुगेका हुन् । दुधौली नगरपालिकाद्धारा आयोजित क्षमता विकास तालिममा एमालेबाट निर्वाचित चार वडा अध्यक्ष भने सहभागि छैनन् ।

नगरपालिकाले आठ लाख खर्च गरेर पोखराको होटल क्विन स्पार्क लेक साइडमा तालिम गरिरहेको छ । यता नगरपालिकाको सुविधा सम्पन्न सभाहल भने खाली छ । जनप्रतिनिधिको क्षमता विकास कार्यक्रममा कर्मचारी व्यवस्थापनका लागि भन्दै सहभागि भएका छन् । पोखरामा तिन दिनको कार्यक्रमका लागि आवतजावत गरि जम्मा सात दिनको कार्यक्रम तालिका रहेको छ । सात दिन सम्म नगरपालिकामा कर्मचारी र जनप्रतिनिधि विहिन हुदाँ सम्पूर्ण काम ठप्प भएका छन् ।

नगर कार्यपालिकाको बैठकमा निर्णय नै नगरि पोखरामा तालिम आयोजना गरिएको भन्दै तालिममा सहभागि नभएका चार वडा अध्यक्षले विरोध गरेका छन् । उनीहरुले नगरपालिकालाई ध्याकर्षण पत्र समेत बुझाएका छन् । लामो समय कार्यक्षेत्र बाहिर रहदा सेवाग्राहिहरुको कामकाज ठप्प हुने र प्रत्यक्ष असर पर्नेहुदाँ यस्ता कार्यक्रमहरु खर्च मितव्ययिताका दृष्टिकोणले समेत उचित नभएको उनीहरुले बताएका हुन् ।

नगरक्षेत्रमा नै अभिमुखिकरण गरेमा सहभागिता जनाउने र ३ दिनको कार्यक्रममा सहभागिता हुन सात दिन सम्म समयखर्च गरेर पोखरामा आयोजना हुने कार्यक्रममा नैतिक रुपमा सहभागिताको लागि असमर्थ रहेको दुधौली नगरपालिका १० का वडा अध्यक्ष कुमार शर्माले बताउनुभयो । सात दिन सम्म पालिकाको सेवा प्रवाहमा असर परेको भन्दै स्थानियले तालिमको विरोध गरेका छन् ।

प्रतिक्रिया