सिन्धुली – मरिण गाउँपालिकामा छोरी जन्माउनेलाई पोषण खर्च दिइएको छ । शुक्रबार गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तानले मरिण गाउँपालिका वडा नम्बर २ की २१ बर्षीय मान कुमारी आलेलाई पोषण खर्च हस्तान्तरण गर्नुभएको हो ।
छोरी जन्माएकी आललेलाई पोषण खर्च लिएर अध्यक्ष मोक्तान प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटमा पुग्नुभएको थियो । मरिण गाउँपालिकाको मातृशिशु सुरक्षा एवं संरक्षण कार्यविधि २०७९ अनुुसार लैंगिक समानताको लागि स्वास्थ्य केन्द्रमै छोरी जन्माउने सुत्केरीलाई पोषण खर्च नगद प्रदान गर्न गाउँपालिकाका अध्यक्ष मोक्तान स्वास्थ्य केन्द्रमै पुग्नुभएको हो । अध्यक्ष मोक्तानले सुत्केरी आलेलाई पोषण खर्च बापत ५ हजार नगद प्रदान गर्नुभएको थियो ।
छोरा प्रतिको मोहले गर्दा लैंगिक बिभेद बढेकाले यस्ता बिभेदलाई अन्त्य गर्ने उदेश्यले जिल्लामा पहिलो पटक स्वास्थ्य केन्द्रमा छोरी जन्माउने सुत्केरीहरुलाई पोषण खर्च नगद बितरण गर्ने लागिएको अध्यक्ष मोक्तानको भनाइ छ ।
गाउँपालिकाको तर्फबाट प्रोटोकल अनुसार गर्भवती जाँच गर्ने २० बर्ष उमेर पुगेका महिला लाई ८ पटक जाँच गरेको हजार, सुत्केरी हुन स्वास्थ्य केन्द्र आउनको लागि निशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने गरिएको गाउँपालिकाका उपाध्यक्ष बिमला माझिले बताउनुभयो ।
यसैबिच शुक्रबारबाट प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटबाट रेबिज विरुद्धको भ्याक्सिन समेत निशुल्क उपलब्ध रहने स्वास्थ्य केन्द्र कपिलाकोटका मधु लाखेले जानकारी दिनुभयो ।