सिन्धुली– धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सिन्धुलीका पत्रकार कौशल काफ्लेमाथि सामाजिक संजालबाटै खनिएका छन् । पत्रकार काफ्लेले विद्यार्थीलाई श्रम दान भन्दै श्रम शोषण गरिएकोप्रति मेयर साम्पाङलाई ध्यानाकर्षण गराएका थिए । नेपालसमय डट कममा कार्यरत काफ्लेले उक्त स्ट्याटस हालेको केहि समयमै साम्पाङले तुक्ष शब्द बोल्दै प्रतिक्रिया जनाएका छन् । उनले पत्रकार काफ्लेलाई ‘गफ नदे’ भन्दै ठाडो शब्दमा जवाफ फर्काएका छन् । उक्त प्रतिक्रियामा पत्रकार काफ्लेले ‘हस् मेयरसाब। हजुरलाई कसले सक्ने र ?’ भन्दै प्रतिक्रिया दिएका छन् । सार्वजनिक पद धारण गरेका व्यक्तिले अशिष्ट र अमर्यादित तरिकामा जवाफ फर्काएपछि सामाजिक संजालमा उनको चर्को विरोध भएको छ । साम्पाङको प्रतिक्रियामा जवाफ दिदैँ रन्जन बस्नेतले लेखेका छन्, ‘मेयर साब हजुरकै शब्द सापट लिए है, आलोचना नै सुझाव हो भन्ने नबुझ्नेले के राजनीति गर्नु बेकारमा !’

यसअघि धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले विवादास्पद अभिव्यक्ति दिएका थिए । उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै धरानमा नगरको विकासको लागि श्रमदान नगरे कक्षा उत्तीर्ण नहुने नियम लागू गर्ने अभिव्यक्ति दिएका हुन् । उनले भनेका छन्, ‘ धरानमा नगरको विकासको लागि श्रमदान नगरे कक्षा उत्तीर्ण नहुने नियम लागु गरिनेछ !’ उनको यो धम्कीपूर्ण भाषाप्रति सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ । उनीहरुले श्रमदान नगरेकै कारण बालबालिकालाई उत्तीर्ण नहुने नियम लागू गराउने धम्की दिएर बालबालिकामाथि मानसिक तनाव नदिनसमेत मेयर साम्पाङलाई सुझाव दिएका छन् ।
यस्तै मेयर साम्पाङले अर्को स्टेटस लेख्दै धरान नगरको विकासको लागि कक्षा ९, १०,११ र १२ कक्षामा पढ्ने प्रत्येक विद्यार्थीले कम्तीमा वर्षको ७ दिन सकेको श्रम गर्नुपर्ने बताएका छन्। उनले त्यसलाई श्रम, सरसफाइ, वृक्षरोपणलगायत जे पनि हुन सक्ने औल्याएका छन् । लगत्तै मेयर साम्पाङले फेरि अर्को स्टाटस लेख्दै माटो नछुनेले माटो बेचेर सकाउने भन्दै अहिलेको शिक्षाले आश्वासन दिएर परनिर्भरता बनाएको बताए । उनले भनेका छन्, ‘माटो नछुनेले माटो बेचेर सकाउँछन् । आजको शिक्षाले हामीलाई सिसाको अफिसमा दिने आश्वासन दिएर गोलभेडा, आलु र प्याज समेत भारतबाट किनेर खाने गरी कंगाल बनायो ।’ यता, धरान उप–महानरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखाका अधिकृत मनोज भट्टराईले भने बालबालिकाको श्रमदान सम्बन्धी नीति बनाउने तयारी नरहेको बताए । उनले भने, ‘बालबालिकाले दिनुपर्ने श्रमदान सम्बन्धी नीति बनाउने तयारी त भएको छैन । मेयर ज्यूले हामीलाई केही भन्नुभएको छैन । अब भन्नुहोला कि ।’
सामाजिक संजालमा नेताहरुको अमर्यादित भाषा: पछिल्लो सयम राजनैतिक दलका नेताहरुले सामाजिक संजालमा अमर्यादित शब्द प्रयोग गर्नेक्रम बढिरहेको छ । पुर्वमन्त्री समेत रहेका महेश बस्नेतले सामाजिक संजालमै अशिष्ट भाषा प्रयोग गरिरहेका छन् । उनले ‘चोरका खलक’, ‘तेरो सात पुस्तामा जन्म्या छैन फटाहा’ लगायत अमर्यादित शब्द प्रयोग गरेका छन् । शिर्ष नेताहरुनै यस्ता विवादास्पद वाक्युद्धमा लाग्दा आफ्नो छवि बिगारिरहेको टिप्पणी आउने गरेको छ । आलोचकले नराम्रो प्रतिक्रिया दिदाँ उनीहरुसँगै नराम्रो शब्द प्रयोग गरेर जुध्न नहुने सामाजिक संजाल प्रयोगकर्ता राम लोले बताए ।
