सिन्धुली – नेकपा माओवादी केन्द्रका केन्द्रिय उपमहासचिव हरिबोलप्रसाद गजुरेलले जनताको करबाट तलब भत्ता लिनेले जनताको सेवक बनेर काम गर्नुपर्ने बताउनु भएको छ । जनप्रतिनिधि के का लागि निर्वाचित भएको हो, त्यो जनप्रतिनिधिले बुझ्न जरुरी छ, जिल्ला समन्वय समिति सिन्धुलीद्धारा आयोजित छैटौ जिल्ला सभालाई सम्बोधन गर्दै पुर्व मन्त्री समेत रहेका गजुरेलले भन्नुभयो पार्टीका लागि राम्रो भएको व्यक्ति जनप्रतिनिधिमा सफल नहुन पनि सक्छ ।
उहाँले पार्टीले जनप्रतिनिधिका लागि उम्मेदवार छान्दा समेत योग्य र क्षमतावान् व्यक्ति छान्नुपर्ने सुझाव दिनु भयो । काम गर्न ठुलो नेता चाइदैन उहाँले भन्नुभयो,“कामप्रतिको लगाव हुनुपर्छ ।” उहाँले कुरा बढी हुने र कामको ठोस सुरुवात कम हुँदा समस्या भएको बताउनुभयो । जनप्रतिनिधि निर्वाचित भएकालाई पनि काम कर्तव्य र अधिकार थाहा नपाई ठुला भाषण मात्रै गर्दा विकराल समस्या आउन थालेको गजुरेलको भनाई छ । विपी राजमार्गनै जोखिम हुनेगरि जताततै क्रसर उद्योगहरु मापदण्ड विपरित खुल्दा समेत जिल्ला समन्वय समितिले प्रभावकारी अनुगमन गर्न नसक्दा समस्या आएको गजुरेलको भनाई छ । विपी राजमार्गमा मन्त्रीदेखि देशका ठुला तहमा रहेका व्यक्तिहरु आवातजावत गर्ने गर्छन् तर राजमार्गनै जोखिममा राखेर खुलेका क्रसर कसैले अनुगमन गर्दैनन् उहाँले भन्नुभयो ।
कार्यक्रममा बागमती प्रदेश सभा सदस्य लेखनाथ दाहालले स्थानिय तहले जनमुखी कार्यक्रम ल्याउनुपर्ने बताउनु भयो । उहाँले जिल्ला समन्वय समितिले प्रभावकारी रुपमा जिल्लामा सञ्चालित योजनाहरुको अनुगमन गर्नुपर्ने औल्याउनु भयो । यस्तै नेपाली काँग्रेसका नेता माणिक ढकालले जनताले पत्याउने र उपलब्धिमुलक काम जिल्ला समन्वय समितिले गर्नुपर्ने बताउनु भयो । जिल्लाभर सञ्चालन भएका योजनाहरु स्थानिय तहसँगको समन्वयमा अनुगमन गर्ने अधिकार जिल्ला समन्वयलाई भएकाले प्रभावकारी काम गर्न उहाँले सुझाव दिनु भयो । उद्योग बाणिज्य संघ सिन्धुलीका अध्यक्ष अर्जुनकुमार श्रेष्ठले उद्योग बाणिज्यसँग समेत समन्वय गरेर काम गरे आफुहरुले गर्नुपर्ने काम गर्न तयार रहेको बताउनु भयो ।
विहिबारबाट सुरु भएको जिल्ला सभा शुक्रबारसम्म सञ्चालन हुने जिल्ला समन्वय समिति सिन्धुलीले जनाएको छ । पुर्व कृषि मन्त्री हरिबोलप्रसाद गजुरेलको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा जिल्लाका दुई नगरपालिका र सात गाँउपालिकाका अध्यक्ष तथा उपाध्यक्षसहित कार्यालय प्रमुखको सहभागिता छ ।
जिल्ला समन्वय समितिका प्रमुख कार्साङ लामाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सभाको बार्षिक निती कार्यक्रम तथा बजेट बक्तब्य जिल्ला समन्वय समिति सिन्धुलीका उपप्रमुख शान्ता कार्कीले प्रस्तुत गर्नुभएको थियो । उपप्रमुख शान्ता कार्कीले आर्थिक वर्ष २०७९÷०८० को लागी १ करोड ४१ लाख ९२ हजार अनुमानित वजेट जिल्ला सभामा पेश गर्नु भएको छ ।
कार्कीले पेश गर्नु भएको निती तथा कार्यक्रममा संघ,प्रदेश र स्थानिय तहले गरेका विकाश निर्माणको नियमन,अनुगमन र सुपरिवेशक्षण गर्ने तथा नदीजन्य पदार्थहरुको उत्खनन्,संकलन,भण्डारण र विक्री वितरण सम्वन्धी कार्यलाई नियमन गरी प्रतिवेदन तयार गरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय,प्रदेश सरकार र स्थानिय तहमा कार्यान्वयनका लागी पठाउने उल्लेख छ ।
यस्तै स्थानिय तहका महिला जनप्रतिनिधीहरुको नेतृत्व विकासका लागी घरेलु हिंसा तथा महिला अधिकार सम्वन्धी कानुनी व्यवस्था र अभ्यासकाका सम्वन्धमा अभिमुखीकरण कार्यक्रम संचालन गरिने छ । वालविवाह तथा वालश्रम न्यनिकरणका लागी सरोकारवालाहरुलाई अभिप्रेरणामुलक कार्यक्रम संचालन गर्न व्यवस्था मिलाईने उल्लेख गरिएको छ ।
कार्यक्रममा सहभागिले जिल्ला समन्वय समितिले कडाइका साथ जिल्लाभरका योजना अनुगमन गर्नुपर्ने औल्याएका थिए । कार्यक्रममा प्रदेश सभा सदस्यहरु बिनोद खड्का, बुद्धिमान माझी सहित जिल्लाका स्थानिय तहको प्रमुख तथा उपप्रमुख सहित प्रमुख प्रशासकिय अधिकृत तथा अन्य कार्यालयका प्रमुख तथा प्रतिनिधि, गैरसरकारी संघसंस्थाका प्रमुख तथा प्रतिनिधि लगायतको सहभागिता थियो ।