सिन्धुली– राजनैतिक दलको काम गर्दा पैसा उठाउन गारो भएको सिन्धुलीका व्यवसायिहरुले बताएका छन् । राजनीतिक पार्टीको काम गर्दा पैसा उठाउन निकै कठिन हुने गरेको उनीहरूको गुनासो छ ।
राजनैतिक दलले सामान्य होटलको खाना, नास्ताको खर्च देखि पार्टीप्यालेसमा ठूला कार्यक्रम गर्दा लाग्ने खर्च समेत उधारोमै कारोबार गर्ने गरेको जिल्लामा होटल व्यवसाय संचालन गर्दै आएका एक व्यवसायीले गुनासो गरे । बुधबार सिन्धुलीको कमलामाई नगरपालिका ६ मा रहेको सिताराम पार्टी प्यालेसका प्रोपाइटर सिताराम पहाडीले सामाजिक संजालबाटै दल तथा पार्टीको भातृसंगठनले बाँकी वक्यौता नतिरे राष्ट्रिय दैनिक पत्रिकामा नाम र रकम सहित प्रकाशित गर्ने चेतावनि दिनुभयो । पहाडी जस्तै राजनैतिक पार्टीको काम गरेर अरु धेरै व्यवसायी पछुताइरहेका छन् ।
मुख्यतः राजनैतिक दलबाट होटल तथा रेष्टुरेन्ट र छापाखाना व्यवसायी बढि पिडित बनेका छन् । चुनावको समयमा झण्डा, तुल तथा ब्यानर बनाउने व्यवसायीलाई भ्याइ–नभ्याइ हुन्छ । चुनावको समयमा पार्टीको काम गर्दा जति भ्याइनभ्याई हुन्छ, पैसा उठाउने बेला त्यतिनै दौडधुप हुने गरेको छापाखाना व्यवसायीले गुनासो गरेका छन् ।

व्यवसायले नै गुजारा गरिरहेका श्रमिक जब कुनै राजनीतिक दलका मानिस ग्राहक बनेर आउँछन्, तब हरेक पटक झस्कन्छन्, कतै काम गराएर पैसा नदिने पो हो कि भनेर । उनीहरु भन्छन्, “नेताहरूका बारेमा लेखिएको पर्चा वा झण्डाको पैसा पाउनै मुस्किल हुन्छ । व्यवसायमा पनि राजनीति गर्न खोज्छन् ।– राजनीतिक दलका अधिकांश कार्यकर्ताले भनेबमोजिमको पैसा नदिँदा पैसा उठाउनै मुस्किल भएको व्यवसायीले गुनासो गरेका छन् ।
गत वैशाख १४ गते पुष्पदिप अफसेट प्रेसका प्रोपाइटर पुष्प देवकोटाको माओवादी केन्द्रको पार्टी कार्यालयमै मृत्यु भयो । सिन्धुलीमाढीमा छापाखाना व्यवसाय संचालन गर्दै आउनुभएका देवकोटा वक्यौता रकम उठाउन पार्टी कार्यालय पुग्नुभएको थियो । अनुसन्धानबाट उच्चरक्तचापका कारण मृत्यु भएको निष्कर्ष निकालिएतापनि वक्यौता नउठ्दा उहाँ मानसिक तनावमा रहेको पारिवारिक श्रोतले बताएको छ । त्यसअघि पनि देवकोटाले नेकपा एमालेको पार्टी कार्यालयमा धर्ना दिनुभएको थियो ।
देवकोटा मृत्युको घट्ना त एउटा प्रतिनिधि घट्ना मात्र हो । जिल्लाका राजनैतिक दलले काम गरेवापत पैसा नदिदाँ धेरै व्यवसायी मानसिक तनाबको सिकार भएका छन् ।