सिन्धुली – कमलामाई नगरपालिका ४ मल्लगाउकि १९ वर्षिय मनिसा कार्की गत बैशाख २० गते सिन्धुली अस्पतालमा प्रसूतिका लागि भर्ना हुनुभयो । झण्डै तिन दिनसम्म प्रसव पिडा (वेथा) भयो । अस्पतालमा सामान्य तरिकाले प्रसूति गराउन धेरै कोशिश गरे । सानै उमेरमा गर्भवती भएकाले सामान्य तरिकाले नभइ शल्यक्र्रिया गर्नुपर्ने भन्दै तयारी पनि गरियो । तर सामान्य रुपमा भ्याकुभ अर्थात औजारको सहायताले सुत्केरी गराउन सफल भयो र बच्चा जन्मिएको उहाँले सुनाउनुभयो । “ बच्चाको तौल तीन केजी थियो । आमा तथा बच्चाको स्वास्थ्य अवस्था पनि सामान्य थियो । ” उहाँले भन्नुभयो ।
कमलामाई नगरपालिका ४ कि सीताले दुई वर्षअघि कक्षा ८ मा पढ्दापढ्दै गाउँकै आफ्नै समुदायका केटासँग प्रेम बिहे गर्नुभएको थियो । उहाँका श्रीमान् सहचालकको काम गर्नुहुन्छ । घरको आर्थिक अवस्था पनि नाजुक छ । “सानै उमेरमा बिहे गरेँ सुत्केरी हँुदा निकै गाह्रो हुनेरहे छ । अस्पतालले सुरक्षित तवरले सुत्केरी गरायो, अब ढुक्क भएँ, केही दिन अस्पतालमा राखेर घर पठाउला ।” उहाँले भन्नुभयो । सोही अस्पतालमा गत विहिबार तिनपाटन गाउँपालिका–४ की २३ वर्षीया मेलिना नेपालीले शल्यक्र्रिया गरेर छोरी जन्माउनुभयो । प्रसूति कक्षमा आइतबार भेटिनु भएकी उहाँले भन्नुभयो, “घरको आर्थिक अवस्था नाजुक छ, चिकित्सकले बाहिर लग्नुहोस् भने तर कसरी जाने होला भन्ने चिन्ता लागेको थियो, शल्यक्रिया गरेर भए पनि आफ्नै ठाउँको अस्पतालमा बच्चा जन्माए खुसी छु ।’’
उक्त अस्पतालबाट आर्थिक २०७८÷८९ मा ६ सय ६७ जनाले प्रसूति सेवा लिएको अस्पतालले जनाएको छ । ५२ जनाले जटिल र २३१ जनाले शल्यक्रिया गरेर प्रसूति सेवा लिएका थिए । सो अवधिमा १९ गर्भवतीलाई बाहिर पठाइएको थियो । विशेषगरी गर्भवती महिलामा जटिल समस्या भएमा अस्पतालमा सघन कक्ष र नवजात शिशु कक्ष व्यवस्थाको नभएकाले अन्य अस्पतालमा रिफर गरिएको जनाएको छ । बितेको एक वर्षको अवधिमा ८ सय ५० जना गर्भवतीले नियमितरुपमा अस्पतालमा आएर स्वास्थ्य परीक्षण गराए बापत र अस्पतालमा प्रसूति भएकाहरुले पोत्साहन भत्ता पाएका छन् । नियमिति रुपमा स्वास्थ्य परिक्षण गराउने गर्भवति महिलालले २८ सय रुपैया पोत्साहन भत्ता पाउँदै आएका छन् भने अस्पतालमा प्रसूति गराउन आउने महिलालाई यातायात खर्च वापत दुइ हजार दिदै आएको अस्पतालले जनाएको छ ।
प्रसूति सेवा लिन आउनेमध्ये ९० जना महिला २० वर्ष भन्दा कम उमेरको छन् । १६ वर्ष देखि केही १८ वर्षका पनि रहेको अस्पतालले जनाएको छ । यसरी सानै उमेर आमा बन्ने महिलालाई बच्चा जन्माउदा समस्या हुने र शल्यक्र्रिया गर्नुपर्ने अवस्था आउने डा सागर देवकोटाले बताउनुभयो । उहाँले पाठेघर खस्ने समस्या पनि बढी हुने भएकाले उमेर पुगेर मात्र बच्चा जन्माउनुपर्नेमा जोड दिनुभयो ।