शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीका राजुले बनाए सिन्का बनाउने मेसिन (भिडियो सहित)

शनिवार , भाद्र ४, २०७९

सिन्धुली– सिन्धुलीको कमलामाई नगरपालिका ४, साङ्बेलाका राजु थापाले सिन्का बनाउने मेसिन बनाउनुभएको छ । महाविर पुनको आविष्कार केन्द्रमा थापाले उक्त मेसिन बनाउनुभएको हो ।

सो मशीनबाट निस्केको सिन्काले बाँसको झाडु, सिन्के धुप र बरफको सिन्का बनाउन सकिने थापाले बताउनुभयो । झण्डै दुई महिना लगाएर थापाको टिमले उक्त मेसिन बनाएको हो । व्यवसायिक प्रयोजनकालागि बनाइएको सिन्को बनाउने मेसिनको मूल्य दुई लाख रुपैँया पर्ने थापाले जानकारी दिनुभयो । नेपालमा सिन्को बनाउने मेसिन भारतबाट आयात गरिदैँ आएको छ । भारतबाट आयात गर्दा उक्त मेसिनको मूल्य ५ लाख पर्ने एक व्यवसायीले बताए ।

थापाले बस्ने मुढा बनाउँदा प्रयोग हुने सिन्का र दाँत कोट्याउने सिन्का बनाउने मेसिनपनि बनाउन प्रयास गरिरहेको बताउनुभयो । नेपालमा दाँत कोट्याउने सिन्काको आयात आर्थिक वर्ष २०७७/७८ मा झन् बढेको छ । एक वर्षमा नेपालमा २ करोड ७१ लाख मूल्यको ‘टूथ पिक्स’ आयात भएको हो । भन्सार विभागको तथ्यांक अनुसार एक वर्षमा ८ लाख ८६ हजार किलो टुथ पिक आयात भएको हो । यसबाट सरकारले ८३ लाख रुपैयाँ राजस्व असुल गरेको छ । आर्थिक वर्ष २०७७/७८ नेपालमा २ करोड ३ लाख मूल्यको ७ लाख ७२ हजार किलो ‘टूथ पिक्स’ आयात भएको थियो । विभिन्न देशबाट नेपालमा दाँत कोट्याउने सिन्का आयात हुने गरेको छ । नेपालमा यस्ता ‘टुथ पिक्स’ बनाउने उद्योगहरु स्थपना हुन नसक्दा वर्षैसाल यस्तो वस्तुको आयात बढेको छ । चीन, भारत, थाइल्यान्डबाट टुथ पिक्स आयात हुने गरेको छ ।

यसअघि थापाले आकाशमा उड्ने प्यारामोटर र माछाको कत्ला खुईलाउने मेसिन बनाइसक्नुभएको छ । माछाको कत्ला खुईलाउने मेसिनको मूल्य एक लाख ८० रुपैँया रहेको थापाले बताउनुभयो ।

सम्बन्धित विषय:

प्रतिक्रिया