शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीको फिक्कलमा कोल्डस्टोर बन्दै, अब तरकारीमा डोजर लगाउनु पर्दैन

शनिवार , भाद्र ४, २०७९

सिन्धुली– कोल्डस्टोर (शित भण्डार) नभएकै कारण सास्ती खपेका सिन्धुलीको फिक्कल गाउँपालिकाका किसानले अब भने राहत पाउने भएका छन् । संघीय सरकारको विशेष अनुदानमा दुई करोड ५८ लाख रुपैयाँको लागतमा कोल्डस्टोर बन्न लागेपछि किसानले राहत महशुश गरेका छन् । गाउँपालिकाको साझेदारीमा तरकारी तथा फलफूल स्टोरेज गर्न सकिने गरी वडा नम्बर १ स्थित दमारमा कोल्ड स्टोर निर्माण गर्न लागिएको गाउँपालिका अध्यक्ष पार्वति सुनुवारले जानकारी दिनुभयो ।

आल लगायतका तरकारीलाई ताजा बनाएर राख्ने गरी कोल्डस्टोर निर्माण गर्न लागिएको फिक्कल गाउँपालिकाको प्राविधिक प्रदिप खुलालले जानकारी दिनुभयो । ‘यो घरघरमा हुने फ्रिजको ठूलो आधार हो । जहाँ तापक्रम कायम गरि सामाग्रीलाई ताजा राख्न सकिन्छ,’ खुलालले भन्नुभयो, ‘यसमा बजारमा जाने बाहेकका तरकारी स्टोरमा राखेर किसानले फाइदा लिन सक्छन् ।’ कोल्डस्टोरमा बेमौसमि समयमा तरकारी वा फलफूललाई स्टोर गरि प्रयोग गर्न सकिन्छ ।

कोल्डस्टोर निर्माण गर्न गत चैत २९ गते शिवालय बिहानि जे.भि सगँ २ करोड ५८ लाखमा सम्झौता भई २०८१ सालमा निर्माण सम्पन्न हुनेगरि सम्झौता भएको खुलालले बताउनुभयो । तीन सय ७५ वर्गमिटरमा निर्माण हुन लागेको कोल्डस्टोरले तरकारी नबिकेकै कारण, मूल्य नपाएकै कारण डोजर लगाउनुपर्ने स्थिति हट्ने गाउँपालिका अध्यक्ष सुनुवारले बताउनुभयो ।

फिक्कलमा कोल्ड स्टोर नभएकै कारण किसानले समस्या भोग्दै आएका थिए । उनीहरूले उत्पादन गरेका वस्तु स्टोर गर्न नपाउँदा बजार मूल्य नपाउने तथा भनेको समयमा बिक्री नहुँदा कुहाएर फाल्नु पर्ने अवस्था थियो । आलु उत्पादनको हब फिक्कलमा किसान कोल्ड स्टार नहुँदा व्यावसायिक रूपमा नभई घरायसी प्रयोजनका लागिमात्र आलु रोप्दै आएका थिए । तर, गाउँमै कोल्ड स्टोर निर्माण हुनेभएपछि बाझो रहने जग्गामा आलु रोपेर हराभरा पार्ने किसानहरुको योजना छ । घरायसी प्रयोजन र परम्परागत विधिबाट आलु खेती गर्दै आएका किसान कोल्ड स्टोर निर्माणभएसँगै बाँझो जमिनको उपयोग गरेर खेती गर्ने सोचमा छन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया