शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

पुर्वराजाका अतिगोप्य सिन्धुली कक्ष (भिडियोसहित)

शुक्रवार , भाद्र ३, २०७९

सिन्धुली– पुर्वराजा ज्ञानेन्द्र र स्वर्गिय राजा वीरेन्द्रले कार्यालय समयपछि विशेष परिस्थितमा राजनितिक र कुटनीतिक भेटघाटका लागि निजी कार्यालयको रुपमा प्रयोग गर्दै आएको नारायणहिटी संग्रहालय अन्तर्गत गणेश हिमाल तर्फका सिन्धुली सहित ९ वटा कक्ष खुलेको छ । लामो समयको प्रयासपछि पुरातत्व विभागले ती कक्ष खुला गरेको होे । देशमा विषम परिस्थिति हुदा पूर्वराजा ज्ञानेन्द्रले समेत गणेश हिमाल तर्फका सिन्धुली सहित विभिन्न कक्षमा अति गोप्य भेटघाट गर्नुहुन्थ्यो । पूर्वराजा वीरेन्द्रको वंशनासपछि केही समय नारायणहिटी राजदरबारबाट शासन संचालन गर्दा पूर्वराजा ज्ञानेन्द्रले गणेश हिमाल तर्फका विभिन्न कक्षमा कुटनितिक नियोग र राजनीतिक व्यक्तिलाई भेट गर्ने गर्नु भएको थियो ।

कार्यालय समयपछि खुला हुने ती कक्षमा गोप्य कुराकानीका लागि प्रयोग गर्ने गरिएको थियो । गणेश हिमाल कक्ष नजिक गोप्य रुपमा सवारी साधन प्रवेश गरेपछि कुन समयमा को संग भेटघाट गर्ने भन्ने विषय अन्य कसैलाई जानकारी हुदैन थियो । निजी तर्फका कक्षमा दुई–तीनजना निजी कर्मचारी बाहेक पूर्वराजाले को संग भेट गर्नुभयो विषयमा भन्ने समेत जानकारी नहुने गरी गोप्य रुपमा ती कक्षहरु प्रयोग हुदै आएको थियो ।

वीरेन्द्रले प्रयोग गरेका सबै कक्ष पूर्वराजा ज्ञानेन्द्रले प्रयोग गर्नुभएको थियो । देशमा २०६२–२०६३ सालको आन्दोलन चर्किएको बेला पूर्वराजा ज्ञानेन्द्रले गणेश हिमाल कक्षको विभिन्न कोठामा विभिन्न निकायका उच्च राजनितिक दलका नेता, कुटनीतिक नियोगका प्रमुख, राजदूत लगायतका उच्च अधिकारीसंग विशेष भेटघाट गर्ने गर्नुभएको थियो । विभागले २०७७ मंसिर ९ गते पूर्व राजाका अति गोप्य बैठक कक्ष खुला गरेको थियो ।

गणेश हिमाल तर्फको सिन्धुली, सप्तरी, सुनसरी, सिराहा, धनुषा, पर्सा, कपिलवस्तु, झापा र इलाम कक्ष खुला गरिएको हो ।

खोलिने तयारीमा रहेका कक्ष मध्य झापा र इलाम कक्षमा पूर्व राजाको अति गोप्य भेटघाटको रुपमा प्रयोग गरिन्थ्यो । पुर्वराजाले ती कक्षहरुमा आफ्ना केही निजी कर्मचारी बाहेक अन्यलाई प्रवेशमा पूर्ण रोक लगाइएको थियो ।

खोलिएको कक्षहरु मध्य केही पूर्वराजाले कार्यालय समय पछि मात्र खोल्ने र भेटघाट गर्न प्रयोग गर्ने गरेका थिए । सिन्धुली कक्ष स्वर्गिय रानी एश्वर्याको श्रृंगार र पोशाक कक्षको रुपमा प्रयोग गरिएको थियो । इलाम कक्षमा पुर्वराजाले हरेक हप्ताको बिहीबार प्रधानमन्त्रीसँग गोप्य भेटघाट गर्ने गरेका थिए ।

ती मध्य सुनसरी कक्षमा छाँया दर्शन गर्ने र जनैपुर्णिमा रक्षा बन्धन लगाउन प्रयोग गरिन्थ्यो । सप्तरी कक्षमा पुर्व राजा स्व. वीरेन्द्र र ज्ञानेन्द्रको जन्मोत्सवमा आमा रत्नलाईसँगै राखेर भोजन गराउने कक्ष हो । सिराहामा आराम गर्ने र धनुषामा खाना खाएपछि आराम गर्ने कक्ष रहेको संग्रहालय प्रमुख अद्धैतप्रकाश श्रेष्ठ श्रेष्ठले जानकारी दिनुभयो ।

नारायणहिटी संग्रहालय खुलेको करिब एक दशक पछि थप ९ वटा कक्ष सहित २४ कक्ष खुला भएको विभागका महानिर्देशक भेषनारायण दाहालले बताउनुभयो । तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले २०६५ साल असार १ गते नारायणहिटी दरबारलाई संग्रहालय बनाउने घोषणा गरे लगत्तै २०६५ फागुन १५ देखि संग्रहालयका रुपमा सर्वसाधारणका निम्ति खुला गरिएको थियो । ७ सय ५३ रोपनी क्षेत्रफलमा फैलिएको नारायणहिटी सग्रहालय भने दरवारले ३ सय १८ रोपनी क्षेत्रफलमा मात्रै सिमित छ । राजा पृथ्वी वीरबिक्रम शाहको शासनकालमा तत्कालिन राणा प्रधानमन्त्री रणोद्धिप शाहको कार्यकालमा निर्माण भएको नारायणहिटी दरबार विसं १९९० सालमा भुकम्पले क्षति पुर्योएको थियो ।

पछि तत्कालिन राणा प्रधानमन्त्री वीर शमसेरको कार्यकालमा हालको प्यागोडा शैलीको दरबार निर्माण गरिएको थियो । विसं २०२६ सालमा अमेरिकी वास्तुकार बेन्जामिन पोल्कको नक्सामा पुनर्निमाण भएको थियो । तत्कालिन राजा महेन्द्रको शासनकालमा नारायणहिटी दरबार पुनर्निमाण गरिएको थियो । राजा त्रिभुवन, महेन्द्र, वीरेन्द्र, दीपेन्द्र र ज्ञानेन्द्र सम्मका राजाहरू र अन्य धेरै राजपरिवारका सदस्यको जन्मेको सो भवनमा रहेका सबै कक्ष खुला गर्न अझै केही वर्ष लाग्ने संग्रहालय प्रशासनले जनाएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया