सिन्धुली– निर्वाचन आयोगले कानूनबमोजिम निर्वाचन खर्चको विवरण पेश नगर्ने सिन्धुलीका एक हजार एक सय ७९ जना उम्मेदवारलाई कारबाही प्रक्रिया सुरु गरेको छ ।
निर्वाचनको खर्चको विवरण निर्वाचन परिणाम घोषणा भएको ३० दिनभित्र सम्बन्धित जिल्ला वा प्रदेश निर्वाचन कार्यालयमा बुझाउनु पर्ने कानूनी व्यवस्था भए पनि उम्मेदवारले नबुझाएपछि आयोगको यस्तो निर्णय सार्वजनिक भएको हो । आयोगले देशभरका एक लाख २३ हजार ७८३ जना उम्मेदवारलाई कारबाही प्रक्रिया शुरु गरेको छ ।
सिन्धुलीमा हालसम्म ७६ जनाले मात्र खर्चको विवरण बुझाएको निर्वाचन आयोग सिन्धुलीले जनाएको छ । सिन्धुलीमा गत वैशाख ३१ गते सम्पन्न स्थानिय तह निर्वाचनमा एक हजार दुई सय ५५ जनाले उम्मेदवारी दिएको आयोगले जानकारी दिएको छ ।
आयोगले सूचना निकाल्दै उम्मेदवारलाई तोकिएको समयावधिभित्र कुन कारणले निर्वाचन खर्चको विवरण नबुझाएको हो भनी आफ्नो सफाइसहितको स्पष्टीकरण सात दिनभित्र सम्बन्धित जिल्लाको जिल्ला निर्वाचन कार्यालयमा पेश गर्न आदेश दिएको छ ।