शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीमा कम उमेरमै गर्भपतन गर्ने बढे

बुधवार , भाद्र १, २०७९

सिन्धुली– सिन्धुलीमा कम उमेरमा गर्भपतन गर्ने किशोरीको संख्या बढ्दो रहेको तथ्यांकले देखाएको छ । जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीका अनुसार सुरक्षित गर्भपतन गराउनेमा २० वर्ष मुनिका किशोरीको संख्या बढ्दै गएको हो । कम उमेरमा गर्भवती बन्नु स्वास्थ्यको दृष्टिकोणले जोखिमपूर्ण भए पनि विगत तीन वर्षको तथ्यांक हेर्दा जिल्लामा सुरक्षित गर्भपतन गर्ने २० वर्ष मुनिका किशोरीको संख्यामा वृद्धि भएको पाइएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख राजेन्द्र पोखरेलका अनुसार आर्थिक वर्ष २०७६/०७७ मा २ सय ३ जनाले गर्भपतन गराएकोमा ३२ जना २० वर्ष मुनिका किशोरीले गर्भपतन गराएका छन् । यस्तै आ.व.२०७७/०७८ मा २ सय ६६ जनाले गर्भपतन गराएकोमा २२ किशोरी रहेको उहाँले जानकारी दिनुभयो । आ.व. २०७८/०७९ मा ३ सय २१ जनाले गर्भपतन गराएकोमा ८७ किशोरी रहेका छन् । परिवार नियोजनका साधनको उपलब्धता हुँदा हुँदै पनि गर्भपतनलाईनै परिवार नियोजनको साधनका रुपमा लिने गर्दा यस प्रकारको समस्या देखिएको पोखरेलको भनाई छ । उहाँले भन्नुभयो, ‘परिवार नियोजनका साधन प्रतिको बेवास्ताका कारण पनि गर्भपतन गराउनेको सख्या बढेको देखिन्छ ।’ असुरक्षित तवरले गरिएको गर्भपतनमा विभिन्न कारणले गर्भ नरहने तथा संक्रमणका कारण गर्भ तुहिने सम्भावना उच्च रहने चिकित्सकको भनाई छ । ‘कम उमेरमा विवाह गरेर मात्रै तथ्यांक बढेको होइन, उमेर नपुगेका किशोरीहरू यौन क्रियाकलापमा सहभागी हुने गरेको पनि भेटिएको छ ।’, पोखरेलले भन्नुभयो । स्वास्थ्य संस्थाबाट सेवा लिनु सकारात्मक भए पनि कम उमेरमै किशोरीहरू गर्भवती हुनु सोचनीय विषय भएको उहाँले बताउनुभयो ।

श्रोतका अनुसार असुरक्षित गर्भपतन गराउने किशोरीहरूको संख्या पनि कम छैन । अवैध तरिकाबाट गर्भवती भएका अधिकांश महिलाहरूले मान्यता नपाएका संस्थामा सेवा लिने गरेको एक स्वास्थ्यकर्मीले दाबी गर्नुभयो । ‘उमेर नपुगेका युवती गर्भवती हुनु उमेर पुगेका महिला हुनुभन्दा दोब्बर खतरा हुन्छ’, उहाँले भन्नुभयो, ‘आमाको मृत्यु हुने र गर्भमा जटिलता देखिने सम्भावना अत्यधिक हुन्छ ।’ २० वर्षभन्दा कम उमेरमा आमाको स्वास्थ्य पूर्ण रूपमा विकसित नभएको हुनाले गर्भ रहन गएमा त्यस्तो महिला जोखिममा पर्ने सम्भावना हुने स्वास्थ्यकर्मीहरूको भनाइ छ । ‘औषधि खाएर गर्भपतन गराउन २० वर्षमुनिका युवतीहरू धेरै आउँछन्’, सिन्धुलीमा संचालित एक मेडिकल संचालकले भन्नुभयो । कम उमेरमा गर्भ रहने र पतन गराउने क्रम बढेको भन्दै कार्यालयले परिवार नियोजनसम्बन्धी कार्यक्रमलाई थप प्रभावकारी बनाउनुपर्ने जनाएको छ । परिवार नियोजनका साधनमध्ये छोटो अवधिका साधन प्रयोग गर्नेको संख्या उल्लेख्य छ । कार्यालयबाट कन्डम, पिल्स लगायत छोटो समयका लागि काम गर्ने साधन र इम्प्लाट र कपर–टी लगायत ५ वर्षभन्दा लामो समय काम गर्ने साधन प्रयोग गर्ने गरेको जनाइएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार तालिम प्राप्त चिकित्सक तथा नर्सद्वारा गरिने गर्भपतनलाई सुरक्षित गर्भपतन मानेको छ । नेपालमा हाल १२ हप्ता सम्मको गर्भपतनलाई सुरक्षित मानिन्छ । सरकारी मान्यता प्राप्त जुनसुकै स्वास्थ्य संस्थाबाट १२ हप्तासम्मको गर्भपतन निःशुल्क रुपमा गराउन सकिन्छ । त्यस्तै, जर्बजस्ती करणी वा बलात्कारको हकमा भने १८ हप्तासम्मको गर्भलाई जुनसुकै बेला गर्भपतन गर्न सकिने व्यवस्था छ । गर्भमा रहेको शिशु विकलांग भएमा, आमाको स्वास्थ्यमा जटिल समस्या उत्पन्न भएमा पनि जुनसुकै बेला गर्भपतन गराउन सकिन्छ । त्यसबाहेक, अनिच्छित गर्भ रहेको खण्डमा नौ हप्तासम्मको गर्भपतन गर्दा त्यसको जोखिम कम रहन्छ भने १२ हप्ता भन्दा माथिका गर्भपतनमा जोखिम हुने सम्भावना बढी रहने चिकित्सकहरू बताउँछन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया