सिन्धुली– सिन्धुलीमा ४ हजार भन्दा बढीले मतदाता नामावलीमा नाम दर्ता गरेका छन् । जिल्ला निर्वाचन कार्यालय सिन्धुलीका अनुसार असार र साउन महिनामा ४ हजार २ सय ३३ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका हुन् ।
जिल्ला निर्वाचन कार्यालय सिन्धुलीले गत असार १ गतेदेखि यही साउन १९ गतेसम्म गरेको मतदाता नामावली संकलन तथा अद्यावधिक अभियानमा विभिन्न बाह्य जिल्लाबाट आएका र जिल्लाका स्थायी बासिन्दा गरी सो संख्यामा मतदाता नामावलीमा नाम दर्ता गरेको जिल्ला निर्वाचन कार्यालय सिन्धुलीका सुचना अधिकारी गिता दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार १६ वर्ष देखि माथि उमेरका नागरिकको नाम दर्ता गरिएको छ । निर्वाचन आयोगले छनोट गरि पठाइसकेपछि जिल्लामा कति नयाँ मतदाता थपिए भन्नेबारेमा जानकारी हुने उहाँले बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालयमा २ हजार ४ सय २३ जनाको मतदाता नामावलीमा नाम दर्ता भएको छ । प्रशासनमा असार महिनामा ६ सय ५९ महिला र ७ सय ८० पुरुष गरि जम्मा ७ सय ८० जनाको नयाँ दर्ता भएको छ । साउन महिनामा ५ सय ८० पुरुष र ४ सय ४ जना महिला गरि ९ सय ८४ जनाको दर्ता भएको निर्वाचन कार्यालयले जनाएको छ । यस्तै निर्वाचन कार्यालयमा १ हजार ६ सय ३६ जनाले नाम दर्ता गरेका छन् । बाहिरि जिल्लाको १ सय ७४ को नाम दर्ता भएको छ । यस्तै असार महिनामा मतदाता नामावली अद्यावधिक गर्ने क्रममा ४ सय ३९ जनाले मतदान स्थल सार्ने, १६ जनाले सच्याउने गरि जम्मा ४ सय ५५ जनाको सच्याइएको छ । साउन महिनामा ४ सय ८० जनाको मतदान स्थल सारिएको, १३ जनाको सच्याइएको छ । जम्मा ६ सय ११ जनाको मदानस्थल सारिएको छ । १ सय ९४ जना बसाइसराइ, १ सय १४ जना विवाह भइ गएका र २९ जनाको सच्याइएको छ ।
आगामी मंसिर ४ गते संघीय र प्रदेशसभाको निर्वाचनको मिति घोषणा गरिसकेकाले आजसम्म मतदाता नामावली सङ्कलन गरिने बन्द भएको छ । यसअघि सिन्धुलीमा पुरुष १ लाख ५ हजार ९ सय ४२, महिला १ लाख ३ सय ९३ र तेश्रो लिंगी एक गरि कूल दुइ लाख ६ हजार ३ सय ३६ मतदाता रहेका छन् । यस्तै २६८ मतदान स्थल रहेको जिल्ला निर्वाचन कार्यालय सिन्धुलीले जनाएको छ ।