शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीमा पनि अन्तर्राष्ट्रिय युवा दिवस मनाइँयो

शनिवार , श्रावण २८, २०७९

सिन्धुली, –‘अन्तरपुस्ताको ऐक्यबद्धता : सबै उमेर समूहमैत्री विश्व निर्माणमा साझा प्रतिबद्धता’ भन्ने नाराका साथ सिन्धुलीमा पनि शुक्रवार अन्तर्राष्ट्रिय युवा दिवस मनाइँएको छ । स्थानिय तहको योजना प्रक्रियामा युवा सहभागिता सम्बन्धि कार्यविधि निर्माण तथा कार्यान्वयन बिषयक अन्तरक्रिया कार्यक्रम गरेर दिवस मनाईएको हो ।

प्लान ईन्टरनेशनल नेपाल, रिलिफ नेपाल, जनजाति समाज विकास कार्यक्रम र सामुदायिक विकास कार्यक्रम सिन्धुलीको सहयोगमा राष्ट्रिय युवा परिषद र जिल्ला युवा समिति सिन्धुलीको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

अन्तरक्रिया कार्यक्रममा सहभागी जिल्लाका स्थानिय तहका जनप्रतिनिधिहरुले युवाहरुको मुख्य समस्या रोजगारी रहेकाले युवाहरुलाई स्वरोजगार बनाउने किसिमका योजनाहरु निर्माण गर्ने जनाएका छन् ।

जिल्ला समन्वय समिति सिन्धुलीका संयोजक कारसाङ लामाले सरकारी पक्षको एकल प्रयासले मात्रै बेरोजगारीको समस्या हल गर्न नसकिने भएकाले युवाहरु आफैँले पनि स्वरोजगार बन्न उपाय खोज्नुपर्ने बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मरिण गाउँपालिका अध्यक्ष विमर्श मोक्तानले गाउँपालिकाले युवा सम्बन्धि कार्यविधि बनाई सकिएकाले अब त्यसको कार्यान्वयन गरिने बताउनुभयो । उहाँले युवाहरुलाई कृषि र उत्पादन क्षेत्रमा आकर्षण गर्न सके मात्रै बेरोजगारीको समस्या हल गर्न सकिने बताउनुभयो ।

त्यस्तै दुधौली नगरपालिकाका प्रमुख दिनेश अधिकारीले आर्थिक बर्ष २०७९/८० को बजेटमै युवाहरु लक्षित स्वरोजगारमुलक योजनाहरु तयार गरेको बताउनुभयो । उहाँले युवाहरुको क्षमता विकासका लागि खेलकुद प्रतियोगिता संचालनका लागि ३५ लाख भन्दाबढी बजेट विनियोजन गरिएको बताउनुभयो । फिक्कल गाउँपालिका अध्यक्ष पार्वती सुनुवारले गाउँपालिकामा युवा सम्बन्धि कार्यविधि तयार भई सकेकाले कार्यपालिकाबाट पारित गर्न मात्रै बाँकी रहेको बताउनुभयो ।

गोलन्जोर गाउँपालिका अध्यक्ष शंकर बरालले बेरोजगारी समस्या हल गर्न युवाहरुलाई कृषि र उत्पादनको क्षेत्रमा लगाउने खालका योजनाहरु तयार गर्ने बताउनुभयो ।

अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले युवाहरुको मुख्य समस्या बेरोजगारी रहेकाले जिल्लाका स्थानिय तहहरुले आफ्नो पालिका भित्रका युवाहरुलाई स्वरोजगार बनाउने खालका निति तथा कार्यक्रम बनाउन सुझाव दिएका छन् ।

जिल्लाका धेरै युवाहरु लागुऔषधको प्रयोगका कारण गलत दिशा तर्फ गइरहेकाले त्यस्ता दुरव्यसनमा परेका युवाहरुलाई सहि बाटोमा ल्याउन सचेतनाका कार्यक्रम पनि संचालन हुनुपर्ने कार्यक्रममा सहभागीहरुले धारणा राखेका छन् ।

राष्ट्रिय युवा परिषद् सिन्धुलीका अध्यक्ष देवराज बाईवाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन जिल्ला युवा समिति सिन्धुलीका अध्यक्ष हेम कार्कीले गर्नुभएको थियो । कार्यक्रममा जिल्लाका युवाहरु, जनप्रतिनिधि, कर्मचारी, पत्रकार लगाएतको उपस्थिती रहेको थियो ।

युवाका मुद्दा र सवाललाई सम्बोधन गर्ने उद्देश्यले सन् १९९९ देखि हरेक वर्षको अगस्ट १२ तारिखलाई अन्तर्राष्ट्रिय युवा दिवसको रुपमा मनाउने गरिन्छ ।

प्रतिक्रिया