शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

यात्रुलाई सधै सास्ती दिने सिन्धुलीको अक्करेभिर

शुक्रवार , श्रावण २७, २०७९

सिन्धुली,– मध्यपहाडी लोकमार्ग अन्तर्गत सिन्धुलीको गोलन्जोर गाँउपालिका–६ हैबारस्थित अक्करेभिरमा बर्षादको मौसममा पहिरो खसी रहदा चार जिल्लाका बासिन्दाले सास्ती खेप्दै आएका छन् ।

बर्षाको मौसममा जमिन गलेर अक्करे भिरमा पहिरो खस्दै आएको हो । उक्त पहिरो खसेर यातायात अबरुद्ध हुदा सिन्धुली रामेछाप जिल्लाको पूर्वी क्षेत्र सहित गन्तव्यमा हिडेका खोटाङ, ओखलढुङगा, सोलुखुम्बु, भोजपुरका यात्रुले सास्ती खेप्नु परेको स्थानीयको भनाई छ ।

हैबार निवासी सुबास कोईराला बर्षा भएर जमिन गल्ने बित्तिकै अक्करेभिरले सधै सास्ती दिदै आएको बताउनुहुन्छ । उहाँका अनुसार अक्करेभिरमा पहिरो जानथालेको बर्षौ भई सक्यो, तै पनि त्यसलाई दिर्घकालिन रुपमा नियन्त्रण गर्न कुनै पनि निकायले चासो देखाएको पाईदैन ।

अक्करे भिरमा बर्षादको मौसममा मात्र नभई हिउदको मौसममा समेत लामो समय पानी पर्‍यो भने पहिरो गएर यात्रुले सास्ती व्यहोर्नु पर्ने उहाँको भनाई छ । स्थानीयका अनुसार यो बर्ष गएको असार महिनाको १४/१५ गतेतिर पनि अक्करेभिरमा पहिरो गएर यातायात अबरुद्ध भएको थियो ।

सिन्धुलीबाट पूर्वि पहाडी क्षेत्रका विभिन्न जिल्लाका खाद्यान्न ढूवानीको गाडी चलाउदै आउनु भएका चालक हरिबहादुर थापा पानी पर्ने बित्तिकै अक्करेभिर कट्न पाईने हो की नपाईने हो भन्ने चिन्ता बढ्ने गुनासो गर्नु हुन्छ । उहाँले भन्नुभयो, “अक्करे पहिरो खस्यो भने कतिखेर यातायात खुल्ने टुङगो हुदैन, कहिले कही त तीन दिनसम्म पनि थुनिएर बसेको छु ।”

त्यसो त बीपी राजमार्ग र मध्यपहाडी लोकमार्ग निर्माण भई यातायातका साधन सञ्चालनमा आएसँगै सिन्धुली, रामेछाप सहित पुर्वि पहाडी जिल्ला खोटाङ, ओखलढुङगा, सोलुखुम्बु, भोजपुरका बासिन्दालाई राजधानी आउन र जान सजिलो भएको छ ।

ती दुई राजमार्ग निर्माण भई यातायात सञ्चालनसँगै राजधानी काठमाण्डौ जान र आउन निकै सजिलो भएको ओखलढुंगा जिल्ला सुनकोशी गाँउपालिका–७ बलखु निवासी राजेश लुईटेल बताउनुहुन्छ । उहाँले भन्नुभयो, “बीपी राजमार्ग र मध्यपहाडी लोकमार्ग निर्माणसँगै राजधानीसम्मजान सात घण्टा पनि लाग्दैन । नत्र तराईको जिल्ला निस्किएर महेन्द्र राजमार्ग जाँदा काठमाण्डौसँग पुग्न कम्तिमा पनि १२/१३ घण्टा लाग्थ्यो ।”

बीपी राजमार्ग र मध्यपहाडी लोकमार्ग निर्माणले राजधानीसँगको दुरी छोट्याएपनि अक्करेभिरले सधै सास्ती दिई रहेको उहाँको गुनासो छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरिक्षक गणेशराज कणेल पनि बर्षा रोकिएपछि मेसिन लगाएर पहिरो पन्छाई यातायात खुलाउदै आएको बताउनुहुन्छ । अहिले पनि त्यसक्षेत्रमा बर्षा भई रहेको र बर्षा रोकिएपछि पहिरो पन्छाएर यातायात खुलाईने गरेकोे उहाँको भनाई छ ।

प्रतिक्रिया