सिन्धुली –सिन्धुलीको ग्रामिण भेगमा चोरको विगविगी बढेको स्थानियले गुनासो गरेका छन् । चाडर्पव नजिकिएसँगै गाउँमा चोरको विगविगी बढेको स्थानियको भनाई छ ।
कमलामाई नगरपालिका ४ सातपत्रेका नरबहादुर कार्कीका अनुसार गाउँमा रातको समयमा अपरिचित व्यक्ति घुम्ने र घरका कुखुरा, खसी लगाएत चोरी हुने गरेको छ । गत केहि दिन अगाडि सोहि ठाउँका सन्तोष आछामेको खोरबाट पाँच वटा कुखुरा चोरी भयो । रातको समयमा खोरबाट कुखुरा हराएको उहाँले बताउनुभयो । “रातको समय पाँच वटा कुखुरा हरायो । त्यो रात ठुलो पानी परेकाले केहि थाहा पाउन सकिन ,” उहाँले भन्नुभयो । त्यसको केहि दिनमै कमलामाई नगरपालका ४ जामुन्टारका सिता मायाँ थापाको घर नजिकै रहेको कुखुराको खोरबाटै एउटा कुखुराको भाले हरायो । “रातको समयमा खोरको ताला फुटाएर भाले चोरी भएको उहाँले बताउनुभयो । राती कुखुरा कराएको सुनेको थिए । धेरै राती थियो उठ्न पनि डर लाग्यो, बिहान हेर्दा त खोरको ताला नै फुटाएर भाले चोरी भए छ ,” उहाँले भन्नुभयो ।
सोहि ठाउँकी सरिता थापाले आइतबार बेलुका १२ बजेको समयमा गोठमा केहि व्यक्तिले खसि निकाल्दै गरेको थाहा पाउनुभयो । तुरुन्तै उहाँले परिवार र घर नजिकको छिमेकि खबर गरेपछि होहल्ला भयो । चोरलाई सबै मिलेर समात्ने प्रयास गरेपनि रातको समय भएकाले चोरलाई समात्न सकिएन । “राती १२ बजे सम्म म सुतेको थिइन । कोठा भित्र युटुब हेरिरहेको थिए । एक्कासी गोठको बाख्रा कराउन थालेपछि झ्यालबाट हेरे । गोठमा केहि व्यक्तिले खसि चोर्न खोजेको जस्तो लग्यो र सबैलाई खबर गरे । तिन जनाको टिम रैछन् । को हो भन्ने चाहिँ चिन्न सकिएन । होहल्ला भएपछि जंगलतिर ति चोर भागे ” उहाँले भन्नुभयो ।
यसरी गाउँमा चोरको विगविगी बढे पछि स्थानिय रातभर जाग्रम बसेको बताउछन् । “केहि दिन देखि हामी रातभरि जाग्रम बसेका छौँ, चोर को हो भन्ने अहिले सम्म थाहा पाउन सकेका छैनौँ । रातको समयमा केहि अपरिचित व्यक्ति घुम्ने गर्छन् ।” स्थानिय सविना थापाले भन्नुभयो । गाउँमा चोरको विगविगी बढेको स्थानियले प्रहरीलाई समेत खबर गरिसकेको बताएका छन् ।