सिन्धुली– सिन्धुलीको मरिण गाउँपालिका–७, कपिलाकोटमा रहेको मरिण प्राकृतिक श्रोत व्यवस्थापन कलेज (सीएनआरएम) को पहिलो ब्याजलाई राजनैतिक दलको भातृ संगठनले बिदाई गरेका छन् ।
कलेजले शैक्षिक वर्ष २०७४/०७५ देखि कृषिमा स्नातक तहको अध्यापन गराउदैँ आएको छ । कलेजको पहिलो ब्याजलाई नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस र नेकपा एमालेको विद्यार्थी संगठनले विदाई गरेको छ । अखिल(क्रान्तिकारी), अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन र नेपाल विद्यार्थी संघ क्याम्पस कमिटिले विद्यार्थीलाई मायाको चिनो प्रदान गर्दै विदाई गरेको हो ।
सीएनआरएम सिन्धुलीको पहिलो ब्याजमा नेपालका विभिन्न ३० जिल्लाका २० जना महिला र २५ जना पुरुष गरी ४५ जना विद्यार्थी अध्ययनरत रहेका थिए । कृषि संकायको प्राकृतिक श्रोत व्यवस्थापन कलेज कृषि तथा वन विज्ञान विश्वविद्यालयबाट सम्बन्धनप्राप्त नेपालकै दोश्रो कलेज हो ।
सीएनआरएमलाई २०७४ वैशाख ५ गते बसेको कृषि तथा वन विज्ञान विश्वविद्यालयको सिनेट बैठकले कृषि तथा वनविज्ञान विश्वविद्यालय, नेपालको दोश्रो संरक्षक कलेजको रूपमा स्थापना गरेको थियो । २०७४ फागुन ३ गते प्रमुख अतिथि तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले फूलको बोटमा पानी लगाएर कलेजको उद्घाटन गर्नुभएको थियो ।
सीएनआरएमको भवन पुर्व कृषि मन्त्री हरिबोल गजुरलेको निर्वाचन क्षेत्र विकास कार्यक्रम(सांसद विकास कोष) र मरिण गाउपालिकाको सहयोगमा निर्माण भएको हो । सांसद विकास कोषको ४० लाख र मरिण गाउपालिकाको १० लाख गरी कुल ५० लाख लागतमा निर्माण भएको हो ।