सिन्धुली– कमलामाई नदी बग्ने दुधौली फाँटको स्वरूप दुई वर्षयता फेरिएको छ । यो फाँट उत्तरतर्फ महाभारत पर्वत र दक्षिणतर्फ चुरे पहाडको बीचमा फैलिएको छ । उहिल्यैदेखि सबैले चिन्ने गरेको भित्री मधेस कमलाखोंजको फाँट हो यो ।
कमलामा पाँच वटा अन्तर्राष्ट्रिय मापदण्ड अनुकूलका पुल बनेका छन् । घोडेटो र कच्ची बाटा दुई लेन सडकमा परिणत भएका छन् । सडक सञ्जाल विस्तार भएसँगै दायाँ–बायाँ सहरी बस्ती बन्न थालेको छ । कमला नदी नियन्त्रणका लागि कमला करिडोर निर्माण थालिएको छ ।
दुधौली नगरपालिका वागमती प्रदेशको पूर्वी–दक्षिण सिमाना छ । २०७१ सालमा साबिक लदाभीर, दुधौली र टाँडी गाविस गाभेर दुधौली नगरपालिका बनाइयो । संघीय संरचना कार्यान्वय भएसँगै हत्पते, सिर्थौली, निपाने, हर्षाही, अरुणठाकुर, ककुरठाकुर जिनाखु गाविस समाहित गरी १४ वडामा विस्तार गरिएको छ । राजधानी काठमाडौंबाट सिधै दुधौलीसम्म यातायात चल्छ ।
मदन भण्डारी लोकमार्ग दुधौली हुँदै पूर्वतर्फ तन्किएको छ । यो तराई÷मधेसको वैकल्पिक मार्ग हो । ‘आफ्नो गाउँठाउँ हेर्दाहेर्दै सहर बन्दै छ,’ दुधौली नगरपालि–९ का लालबहादुर थापाले भन्नुभयो, ‘यस्तो होला भन्ने कल्पनासमेत गरेको थिइनँ ।’ काठको खाँबा र टायलले छाएका घर घट्दै छन् । सिमेन्ट, फलामे रडसँग स्थानीय गिटी, बालुवा मिसाएर आरसीसीका बिल्डिङ तीव्र रूपमा बन्दै छन् ।
नयाँ होटल, किराना पसलहरू थपिएका छन् । निर्माण व्यवसायीले दुधौलीको बदलिँदो स्वरूपलाई लक्षित गरेर नयाँ गन्तव्य बनाउन थालेका छन् । तत्कालीन जिल्ला विकास समितिका सदस्यसमेत रहेका थापाको शब्दमा कमलाखोंज क्षेत्रको दुधौली, लदाभीर, सिर्थौली, हत्पते पहिले दुर्गम थिए । उहाँ सम्झिनु हुन्छ, ‘अब त्यस्तो स्थिति रहेन । सडक, बिजुली, पक्की पुल, स्वास्थ्य चौकी, स्कुल, क्याम्पस बनेका छन् ।’
स्थानीय पत्रकार दीपेन्द्र बुढाथोकीले दुधौली सहरोन्मुख हुनुका केही कारण सुनाउनुभयो । प्राकृतिक रूपमा कमलामाईको तीर विशाल फाँट र कृषि उर्वर भूमि हुनु पहिलो पक्ष हो । स्थानीय आदिवासी दनुवार, मुसहर, माझी, हायु, थामी लगायत हुन् । उहिल्यैदेखि पहाडबाट बसाइँ झरेकाहरूको बाहुल्य रहेको छ । लोकमार्गको उत्तरतर्फ वडा नं १० मा सहिद पार्क बन्दै छ ।
वडा नं ९ तावाखोला किनारामा रंगशाला निर्माण सुरु भएको छ । नगरपालिकाले घरवारविहीन १ सय ५० परिवार स्थानीय मुसहर परिवारलाई आवासको व्यवस्था गरिदिएको छ । कमलामाई र तावा नदीबाट सिंचाइको व्यवस्था छ ।
प्रदेश सरकार र स्थानीय सरकारले दुधौलीको विकासमा प्राथमिकता राखेको हुँदा सम्भावित विशाल सहर बन्ने ताकमा छ,’ पत्रकार बुढाथोकी भन्नुहुन्छ, ‘तर सहरको नाम प्राकृतिक स्रोतको दोहन र अव्यवस्थित जग्गा खण्डीकरण गरी प्लटिङ हुन थालेको छ । स्थानीय सरकारले दूरगामी संकटको आंकलन गरेर बेलैमा व्यवस्थित योजना निर्माण गर्न जरुरी छ ।’
स्थानीय शिक्षक गान्धीराज मगर विकासको गतिसँगै दुधौली बदलिँदै गएकोमा मक्ख हुनुहुन्छ । उहाँका अनुसार रोजगारीकै निम्ति अब दुधौलीवासी अन्यत्र जानु पर्दैन ।