शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीका सांसदले भने, 'चुनाव लड्न पैसा छैन'

मंगलवार , श्रावण २४, २०७९

काठमाडौं - नेकपा एमालेका सांसद गणेशकुमार पहाडीले अहिलेको निर्वाचन प्रणालीमा समस्या रहेको बताएका छन्। मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले अहिलेको निर्वाचन प्रणाली भड्किलो र महंगो रहेको बताएका हुन्।

उनले अहिलेको निर्वाचन प्रणालीबाट महिला मात्रै नभइ पुरुषहरू पनि प्रत्यक्ष निर्वाचन लड्न डराइरहेको बताए। उनले निर्वाचन प्रणाली महंगो भएकोले पुरुष सांसदहरू पहिलो हुने निर्वाचन प्रणालीबाट भागेर समानुपातिकतीर जान खोजिरहेको बताए।

अहिले सांसदहरूमा प्रत्यक्ष भन्दा समानुपातिकमा चुनाव लड्ने होडबाजी रहेको दाबी गरे। उनले निर्वाचन प्रणालीलाई सस्तो र सरल बनाउनेतर्फ जानसके मात्रै प्रत्यक्षतर्फ प्रतिष्पर्धामा आउन महिला पुरुष सबै अग्रसर हुने बताए।

‘अहिले हाम्रो समस्या निर्वाचनमा छ। निर्वाचन महंगो छ,भड्किलो छ। महिलाहरू मात्रै होइन, पुरुषहरू पनि पहिलो हुने निर्वाचन प्रणालीबाट भागेर समानुपातिकतिर जान खोजिरहनुभएको छ। किनभने जीवनभर राजनीति गर्नुभएको छ, चुनाव लड्न पैसा छैन। त्यसकारण प्रत्यक्षबाट भागेर समानुपातिकमा बस्नको लागि प्रतिष्पर्धा र होडबाजी छ’, उनले भने, ‘समस्या त्यहाँ छ। त्यसैले हाम्रो निर्वाचन सस्तो सरल बनाउनेतर्फ हामी जाने हो भने स्वभाविक रुपमा प्रत्यक्षतर्फ प्रतिष्पर्धामा आउन महिला पुरुष सबै अग्रसर हुनेछन् । त्यसले पनि हाम्रो प्रतिनिधित्वलाई सुनिश्चित गर्छ।’

उनले यो निर्वाचन प्रणालीले कुनैपनि दलले स्पष्ट बहुमत ल्याउने कुरालाई निरुत्साहित गरिरहेको बताए।

प्रतिक्रिया