शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

बाढीपहिरोले सिन्धुलीको ग्रामीण सडक ठप्प

शुक्रवार , श्रावण २०, २०७९

सिन्धुली – सिन्धुलीमा असारको पहिलो साता बाढीपहिरोले क्षतिग्रस्त भएको सडक जेनतेन गरेर मर्मत गरियो । तर, यातायात सञ्चालनमा आएको दुई साता नबित्दै फेरि अवरुद्ध भएको छ । बस मलिक बद्रि प्रसाद पाहाडीले वर्षा हुनासाथ अवरुद्ध हुने ग्रामीण सडकले यात्रु र यातायात सञ्चालकलाई हैरानी भएको बताउनु भयो । सिन्धुलीमाडी–चकमके सडक बाढीपहिरोले लथालिंग भएको छ । लगातारको वर्षापछि खसेको पहिरो र बाढीले अब यातायात सञ्चालन हुन लामै समय कुर्नुपर्ने स्थानीयको भनाइ छ । सिन्धुलीमाडी–चकमके सडकअन्तर्गत कमलामाई नगरपालिका–११ थरहरीमा खोलाले ५० मिटर सडक र कल्भर्टसमेत बगाएको छ ।

सदरमुकाम सिन्धुलीमाडीसँग तीनपाटन गाउँपालिका केन्द्र जोड्ने एकमात्र चकमके सडक पहिरोले छियाछिया भएको हो । संघ, प्रदेश र स्थानीय तहको करोडौं रकम उक्त सडकमा खर्चिएको छ । “बर्सेनि सडक निर्माणमा बजेट खर्च हुन्छ तर दिगो भएन,” स्थानीय रमेश कार्कीले भन्नु भयो । सदरमुकामबाट तीनपाटन गाउँपालिका केन्द्र ४० किलोमिटर दूरीमा छ । तीन दिनको वर्षाले ५० स्थानमा सडक बिगारेको कार्कीले बताउनु भयो ।

कमलामाई र दुधौली नगरपालिकाका ग्रामीण सडकहरूसमेत बाढीपहिरोले क्षत–विक्षत भएका छन । घरघरमा सडक पु¥याउने नाममा जथाभावी मेसिन प्रयोग गरेर सडक खन्दा दिगोपन नभएको भुवाहीका रेखराज दाहालले भन्नु भयो । “जनप्रतिनिधिलाई देखिने काम हुने भएकाले सडकमा बजेट खन्याउन सजिलो भएको छ तर दिगोपनतिर ध्यान नदिँदा वर्षात्मा ठूलो क्षति हुने गरेको छ,” उहाँले भन्नेु भयो ।

प्रतिक्रिया