शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

पूर्वकृषिमन्त्री गजुरेलले दिलाउनुभयो मोहियानी हकको जग्गा

बिहिवार , श्रावण १९, २०७९

सिन्धुली – पूर्वकृषिमन्त्री एवं नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य हरिबोल गजुरेलले आफ्नो जमिन भोगचलन गर्दै आएका मोहीलाई मोहियानी हक दिलाउनुभएको छ । उहाँले सिन्धुलीको कमलामाई नगरपालिका ४ फाँटमा रहेको जमिनमा २०४२ सालदेखि बस्दै आएका स्व. छत्रबहादुर श्रेष्ठको परिवारलाई मोहियानी हक दिलाउनुभएको हो ।

२०४१ सालमा अमलेमा बाढी पहिरो आएपछि श्रेष्ठ परिवार भोला अधिकारीको जमिनमा बस्दै आएको थियो । पछि खोलाले अधिकारीको जमिन बगाएपछि ठूलो परिवार रहेको श्रेष्ठ परिवारलाई समस्या प¥यो र गजुरेल परिवारले उब्जनी गर्दै आएको केही क्षेत्रफलको जमिन श्रेष्ठको परिवारलाई बस्न दिनुभएको थियो । पूर्वकृषिमन्त्री गजुरेल भन्नुहुन्छ, “४२ सालतिर ठूलो परिवार रहेको श्रेष्ठ परिवारलाई बसिरहेको जग्गा पनि खोलाले लग्यो र म आफैले कृषि उब्जनी गरिरहेको जग्गा उहाँहरूलाई दिएको थिएँ, लामो समय हाम्रो जग्गामा बस्नु भएकोले प्रतिवेदनअनुसार मोहियानी हक दिलाएको हुँ ।”

०४२ सालदेखि श्रेष्ठ परिवारले साढे २१ कठ्ठा जमिन कमाउँदै आउनु भएको छ । ४ मिटरको बाटो निकालेर ५ कठ्ठा जमिन स्व. श्रेष्ठकी श्रीमती र छोरा दीर्घराज श्रेष्ठको नाममा पास गरिदिनु भएको नेता गजुरेलले जानकारी दिनुभयो । मोहियानी हकको कागजपत्र नभए पनि आफ्नो जमिनमा लामो समयदेखि बस्दै आउनुभएको परिवारलाई जमिन दिलाएको उहाँले प्रस्ट्याउनुभयो । हालको मूल्यअनुसार उहाँले हक दिलाउनुभएको जमिन लगभग साढे दुई करोड पुग्ने देखिन्छ ।

उच्चस्तरीय भूमिसुधार आयोग २०६५ सालमा दर्तावाल मोहीलाई वर्तमान कानुनबमोजिम दुई तिहाइ जमिनमा मोहियानी हक दिलाउनुपर्ने उल्लेख गरिएको छ । यस्तै बेदर्तावाल मोहीको हकमा कमाइरहेको जग्गाको हदबन्दीको सीमासम्म भए चौखण्डी (१÷४) र त्यो भन्दा माथि आधा अर्थात् ५० प्रतिशत हुने भूमि सुधार आयोगको २०६५ को प्रतिवेदनमा उल्लेख छ । सो समयमा पूर्वमन्त्री गजुरेल आफै उच्चस्तरीय आयोगको अध्यक्ष हुनुहुन्थ्यो भने उहाँकै नेतृत्वमा मोहियानी हक दिलाउनुपर्ने आयोगको प्रतिवेदनमा उल्लेख गरिएको थियो । प्रतिवेदनअनुसार कार्यान्वयनमा नआउँदा पूर्वमन्त्री गजुरेल चिन्तित हुनुहुन्छ । यो प्रतिवेदनले मोहियानी हकको सवालमा निकै चर्चा पाएको थियो ।

प्रतिक्रिया