सिन्धुली – तिन देखि लगातार भइरहेको बर्षाले सिन्धुलीका तरकारी किसानलाई चिन्ता बढाएको छ । साता /दश दिन तथा दिन बिराएर पर्दै आएको पानीले नियमित गोडमेल र उपचार नपाउँदा तरकारी बाली पहेँलिँदै गएपछि किसानको चिन्ता बढेको हो ।
वर्षाको पानीले चुटेर फुल, चिचिला र फलसमेत चाउरिएर झर्न थालेपछि अपेक्षित तरकारी उत्पादन लिन नसकिने चिन्ताले यहाँका किसान पिरोलिएका हुन् । खासगरी चाहेको बेला सिञ्चित गर्न सकिने, पानी नजम्ने रुखो जग्गामा लगाइने तरकारी बाली लगातार पानी परिरहेपछि गोडमेल र औषधोपचार नपाउँदा पहँेलिएको किसानको भनाइ छ । “लगातार पानी परिरहेको छ, गोड्नसमेत पाइएको छैन” तरकारी उत्पादक किसान कमलामाई नगरपालिका–४ का सम्भु घिमिरेले भन्नुभयो, “गोडमेल नपाएपछि बारीभरि झार बढेर कीराको प्रकोप बढ्दा बालीबाटै हात धुनुपर्ने स्थिति आउने भैसक्यो ।”
उत्पादन लिइने तरकारी पानीले गलाएर चाँडै लहरा मरेको र बारीमा अहिले चिस्यान बढी हुँदा खनजोत गर्न नसकेर भदौरे तरकारी लगाउन नपाइएको किसान बताउँछन् । लगातारको वर्षाले करेला, फर्सी, घिरौँला, लौका, बोडी, चिचिण्डा र परवलसहितका तरकारीका लहरा पहँेंलिएर सुकेका छन् । केहि दिन देखि लगातार परेको पानीले हिउँदसम्म उत्पादन दिने लहरे र खुर्सानी, भण्टासहितका तरकारी बाली पहेँल्याएर सुकाएको कमलामाई नगरपालिका–३ का अर्का तरकारी किसान समिता देवकोटा बताउनुहुन्छ । “लगातारको पानीले तरकारी पहेँलिएर सबै कुहिन थालेको छ । केहि अगाडि सम्म लटरमै फलेको बोडि अहिले सबै कुहिएको छ । झरिले गर्दा उम्रदै गरेका तरकारीका विरुवा समेत सुकेको छ ,” उहाँले भन्नुभयो ।
तरकारी खेतिमा पानी जम्ने साथै ठुलो पानीले लाग्दै गरेको कोपिला समेत झरेको उहाँले गुनासो गनुभयो । भदौरे तरकारी वर्षाले सखाप पारेको भन्दै कमलामाई नगरपालिका ४ ज्यामिरेकि उसा लामा बताउनुहुन्छ । ”कोपिला लागेका तरकारी सबै मर्न थालेको छ । सागको सबै पात पानीले छियाछिया पारेको छ । सबै विरुवा समेत पहेँले भएर कुहिन थालेको छ । लगातारको झरिले सबै तरकारी कुहिनेभयो । ” उहाँले भन्नुभयो । वर्षाको कारण क्राक्रो, खुसार्नी, फर्सी पहेँलिन थालेको किसानहरुको गुनासो छ । विषेश पानी नजम्ने रुखो जग्गामा लगाइएको तरकारी कूहिन थालेको छ ।