शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुली अस्पतालमा बेवारिसे शवले दुर्गन्ध फैलियो

आइतवार , श्रावण १५, २०७९

सिन्धुली – शव व्यवस्थापन नहुदाँ सिन्धुली अस्पताल दुर्गन्धित बनेको छ । तीन दिन अघि पोष्टमार्टमकालागि ल्याइएको बेवारिसे शवले अस्पताल आसपासको क्षेत्र दुर्गन्धित बनाएको हो ।

दुर्गन्धित शवको कारण अस्पतालमा चेकजाँचका लागि पुगेका विरामीले झनै विरामी हुने खतरा बढेको भन्दै गुनासो गरिरहेका छन् । “अस्पतालमा जान सक्ने अवस्था छैन, कति दिन भयो लास राखेको, यो गन्धले झन् विरामी पो हुने हो कि ?”, अस्पतालमा प्रसूति सेवा लिन पुगेकी एक महिलालले प्रश्न गरिन् । दुर्गन्धित शवका कारण संक्रामक रोग फैलिने डर भएको कमलामाई नगरपालिका ६ का रमेश कार्कीले सिन्धुली सौगातसँग गुनासो पोख्नुभयो । उहाँले भन्नुभयो, “ अस्पताल छिर्ने उत्तर दिशाको गेटमा शव गृह छ । शव गृहमा राखिएको शव कुहिएर विगत केहिदिन देखि गन्हाइरहेको छ । अस्पताल प्रवेशद्वार दुर्गन्धित छ । उपचारार्थ आउने बिरामी लिएर नाक थुनेर आउनुपर्छ । शव गृह वरिपरि र बाहिर दैनिक झिंगा भन्किएका हुन्छन् ।”

तीन दिनअघि जिल्ला प्रहरी कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका ६ स्थित धुराबजारमा सडक दुर्घटनामा ज्यान गुमाएका एक बेवारिसे पुरुषको शव जिल्ला अस्पताल ल्याएको थियो । मृतकको पहिचान खुल्न नसकेको कारण विगत तीनदिन देखि शव गृहमै लास थन्किएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायव उपरिक्षक मनोज कुमार लामाले बताउनुभयो । कोही आफन्त वा परिवारका सदस्य सम्पर्कमा आउँछन् कि भनेर शव तीन दिनदेखि जिल्ला अस्पतालकै शव गृहमा राखिएको उहाँले जानकारी दिनुभयो । कोहि सम्पर्कमा नआए पोस्टमार्टम गरेर स्थानिय तहलाई अन्त्येष्टिकोलागि बुझाइने प्रनाउ लामाले बताउनुभयो ।

निर्माणाधीन अस्पतालमा शब राख्ने डिफ्रिज नहुदाँ शब दुर्गन्धित भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. उमेश प्रधानले बताउनुभयो । डिफ्रिज भएपनि राख्ने ठाउँ नभएकाले जडान गर्न नसकिएको डा. प्रधानले बताउनुभयो । “अस्पतालमा बेवारिसे शव आउँदा समस्या हुन्छ । तीन दिनसम्म मृतकका आफन्तलाई पर्खिनुपर्ने कानुन छ । तीन दिनसम्ममा मृतकका कोहि आफन्तले सम्पर्क गरेनन् भने प्रहरीले पोष्टमार्टमकोलागि अनुमति दिन्छ ,” उहाँले भन्नुभयो, “ बेवारिसे शवको पोष्टमार्टमपछि स्थानिय तहलाई बुझाइने छ ।”

कनपाले शव व्यवस्थापन गर्‍यो

गत मंगलबार सुनकोशी गाउँपालिकामा भेटिएको बेवारिसे शव कमलामाई नगरपालिकाले व्यवस्थापन गरेको छ । कोही आफन्त र परिवारका सदस्य सम्पर्कमा आउने आशमा जिल्ला अस्पताल सिन्धुलीको शव गृहमा राखिएको शव बुझ्न कोहि नआएपछि शनिबार नगरपालिकाले व्यवस्थापन गरेको कमलामाई नगरका मेयर उपेन्द्र पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार सबै पक्षसँग समन्वय गरेर आवश्यक प्रक्रिया पूरा गर्दै शव व्यवस्थापन गरिएको हो । साथै, उहाँले शव गृहमा रहेको अर्को शवको व्यवस्थापनकालागि आवश्यक समन्वय गरिरहेको बताउनुभयो ।

प्रतिक्रिया