शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सुनकोसी-मरिन डाइभर्सनको निर्माण रोकियो

शनिवार , श्रावण १४, २०७९

सिन्धुली - राष्ट्रिय गौरवका आयोजनामध्येको सुनकोसी-मरिन डाइभर्सनको निर्माण कार्य रोकिएको छ। आयोजनाले पारिश्रमिक कम दिएको भन्दै कामदार आन्दोलित भएपछि शुक्रबारदेखि निर्माण कार्य ठप्प भएको हो।

आयोजनाका प्रमुख मित्र बरालका अनुसार मजदुरहरुले जिल्ला दर रेट भन्दा कम पारिश्रमिक पाएको भन्दै विरोध गर्दै आएका हुन्। यतिखेर आयोजना निमार्णको ठेक्का पाएको चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप कम्पनीले जिल्ला दर रेट भन्दा कम पारिश्रमिक दिएकाले विरोध गर्दै मजदुरले सबै काम अनिश्चितकालका लागि ठप्प पारेका छन्।

आयोजनाले दिएको तलब सुविधा अत्यन्तै न्यून रहेकाले परिवार धान्न कठिन भएको भन्दै जिल्लाको दररेट अनुसार पारिश्रमिक दिनुपर्ने माग उनीहरुको छ। माग पुरा नभएसम्म सबै काम बन्द रहने घोषणा उनीहरुले गरेका छन्।

निर्माण कम्पनीले आफ्नै नियम र सम्झौता बमोजिम काम लिएको छ। निर्माण कम्पनीले पारिश्रमिक कम दिने भन्दा पनि मजदुरले दिनकै भुक्तानी गर्न माग गरेका कारण समस्या भएको बरालको भनाइ छ।

'कम्पनीले दुई सिफ्टमा काम लगाइरहेको थियो र महिनाको अत्यमा पैसा दिन्थ्यो तर मजदुरहरुले भुक्तानी काम गरेकै दिनमा दिनुपर्ने माग गरेका छन्,' उनले भने, 'यसरी भुक्तानी गर्दा भोलि कामदार काममा आएन भने निर्माण चक्र बिग्रिने डरले कम्पनी मानेको छैन। यसले निर्माण काममा असर गर्ने कम्पनीको भनाइ छ।'

काम गरेको महिना दिन पुगेपछि कम्पनीले तलब भुक्तानी गर्ने बेलामा बोनस लगायतका सुविधाहरु दिने प्रतिबद्धता जनाए पनि मजदुरहरु भने बोनस नलिने र काम गरेकै दिन भुक्तानी हुनुपर्ने भन्दै अडान लिइरहेको बरालले बताए। 'वार्ता चलिरहेको छ। यही कुरा मिलेन भनि मन्त्रिस्तरीय छलफलबाट यसको समाधानको उपाय खोजिनेछ,' उनले भने।

साथै यस आयोजनामा काम गर्दै आएका मजदुरले सरकारी नियम अनुसार अहिले ८ घण्टा काम गरेबापत दैनिक सुक्खा ५ सय ८० रुपैयाँ र मिस्त्रीले ७ सय ३५ रुपैयाँका दरले पाउँदै आएका छन्।

प्रतिक्रिया