सिन्धुली, – माध्यमिक शिक्षा परिक्षा (एसईई) मा सिन्धुलीबाट १५८ जनाले ए प्लस ल्याएका छन् । राष्ट्रिय परीक्षा बोर्डले बुधवार सार्वजनिक गरेको नतिजा अनुसार माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षामा ३ दशमलव ६ देखि ४ जीपीएसम्म ल्याउने विद्यार्थीको संख्या साधारण धार तर्फका १५५ जना र प्राविधिक धार तर्फका ३ जना गरी १५८ जना रहेका छन् ।
यस्तै ३८७ जनाले ‘ए’ अर्थात ३ दशमलव २० देखि ३ दशमलव ६०, ५३८ जनाले ‘बि’ प्लस अर्थात २ दशमलव ८० देखि ३ दशमलव २० र १ हजार २५६ जनाले ‘बि’ अर्थात २ दशमलव ४ देखि २ दशमलव ८० जीपीए ल्याएका छन् ।
यस्तै १ हजार ७३२ जनाले सि प्लस अर्थात २ देखि २ दशमलव ४ जीपीए र ९७६ जनाले सि अर्थात १ दशमलव ६ देखि २ जीपीए ल्याएका छन् । १ दशमलव २ देखि १ दशमलव ६ जीपीए अर्थात डि प्लस ल्याउनेको संख्या २७३ जना र ० दशमलव ८० जीपीएदेखि १ दशमलव २ जीपीए ल्याउनेको संख्या २० जना रहेको छ ।
एसईई परीक्षामा सिन्धुलीबाट ५ हजार ५२४ जना सहभागी भएका शिक्षा विकास तथा समन्वय ईकाई सिन्धुलीका शाखा अधिकृत दुर्गा बहादुर भुजेलले जानकारी दिनुभयो । उहाँका अनुसार साधारणधार तर्फ ५ हजार ३४८ जना र प्राविधिकधार तर्फ १७६ जना परीक्षार्थी सहभागी भएका थिए ।
उहाँका अनुसार सिन्धुलीका १९२ जना भने परीक्षामा विभिन्न कारणले अनुपस्थित देखिएको छ । कोभिड १९ कारण शैक्षिक सत्र २०७६ र २०७७ मा आन्तरिक मूल्यांकनबाट नतिजा सार्वजनिक भएकोमा २०७८ मा भने विद्यार्थीको भौतिक उपस्थितिमा परीक्षा भएको थियो ।