सिन्धुली, – नेपाल स्वास्थ्यका लागि पानी(नेवा)ले सिन्धुलीमा ३ सय ४५ वटा खानेपानी परियोजनाहरु सम्पन्न गरेको जनाएको छ । नेवाले आफ्नो ३० औँ स्थापना दिवसको अवसरमा बुधवार सिन्धुलीमाढीमा आयोजना गरेको जिल्लास्तरीय सिकाई तथा अनुभव सम्बन्धि कार्यक्रममा सिन्धुलीमा ३ सय ४५ वटा खानेपानीका परियोजनाहरु सम्पन्न गरेको जनाएको हो ।
वि.स २०५४ साल देखि काम गर्न सुरु गरेको नेवाले करिव २५ बर्षको दौरानमा सम्पन्न गरेको परियोजनाबाट सिन्धुलीको २४ हजार ६ सय ३ घरधुरीका १ लाख ५३ हजार ७१८ जनसंख्या खानेपानी सुविधाबाट प्रत्यक्ष लाभान्वित भएको नेवाको प्रधान कार्यालयका वास मेनेजर अरुण कुमार श्रेष्ठले बताउनुभयो ।
त्यस्तै नेवाले आर्थिक बर्ष २०७९/०८० मा सिन्धुलीका ६ स्थानिय तहहरु कमलामाई नगरपालिका, दुधौली नगरपालिका, सुनकोशी, गोलन्जोर, मरिण र हरिहरपुरगढी गाउँपालिकामा खानेपानी परियोजनाहरु निर्माण गर्ने उहाँले बताउनुभयो । नेवाले काभ्रे जिल्लामा भने हाल सम्म ५ वटा मात्रै खानेपानी परियोजनाहरु सम्पन्न गरेको छ ।
नेवाले काभ्रेमा आर्थिक बर्ष २०७९/०८० मा बेथानचोक र रोशी गाउँपालिमा खानेपानी परियोजनाहरु निर्माण गर्ने जनाएको छ ।
कार्यक्रममा बोल्दै बेथानचोक गाउँपालिकाका उपाध्यक्ष तारा राना तिमल्सिनाले आफ्नो गाउँपालिकामा खानेपानीको अभावमा नागरिकले धेरै दुःख खेप्नु परेको बताउनुभयो । उहाँले नागरिकको खानेपानीको समस्या समाधानका लागि गाउँपालिकासँगको साझेदारीमा नेवाले यसै बर्ष देखि चार खानेपानी आयोजना निर्माणको काम थाल्ने बताउनुभयो ।
त्यस्तै जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कारसाङ लामाले सिन्धुलीको ग्रामीणभेगका नागरिकहरु अझै खानेपानी सुविधाबाट बन्चित रहेकाले जिल्लाका पालिकाहरुले खानेपानीको समस्या हल गर्न ध्यान दिनुपर्ने बताउनुभयो ।
२०४९ साल साउन १५ गते स्थापना भएको नेपाल स्वास्थ्यका लागि पानी(नेवा) एक गैरसरकारी संस्था हो । यस संस्थाले खानेपानी आपुर्ति, सरसफाई र स्वच्छता प्रवद्र्धनको क्षेत्रमा झन्डै २८ बर्ष देखि काम गर्दै आईरहेको छ ।
नेवाले सिन्धुलीमा तत्कालिन समयमा जिल्लाका २६ वटा गाविसलाई खुल्ला दिसा मुक्त घोषणा गर्न सहयोग गरेको नेवाको प्रधान कार्यालयका वास मेनेजर अरुण कुमार श्रेष्ठले बताउनुभयो ।
कार्यक्रममा सिन्धुलीको नौ वटै स्थानिय तहका जनप्रतिनिधि, काभ्रेका बेथानचोक गाउँपालिकाका उपाध्यक्ष लगाएतको उपस्थिती रहेको थियो ।