सिन्धुली, – सिन्धुली जिल्लाको पूर्वी पहाडी क्षेत्रको व्यापारिक केन्द्र चकमकेलाई जोड्ने सिन्धुलीमाढी–चकमके सडक निर्माणले गति लिन नसकेको स्थानीयले गुनासो गरेका छन् ।
उक्त सडक अन्तर्गत सिन्धुलीमाढीको माझीटार चोकदेखि अगाडी २८ किलोमिटर सडकलाई तीन खण्डमा ठेक्का लगाई निर्माण सुरु भएपनि पहिलो खण्ड अन्तर्गत जिर्घासम्मको १४ दशमलब ५६० किलोमिटर सडकको निर्माण कार्यले गति नलिएको स्थानीयको गुनासो छ ।
प्रादेशिक सडक कार्यालय सिन्धुलीका अनुसार पहिलो खण्डमा करिब सात किलोमिटर जंगल क्षेत्र पर्ने र उक्त क्षेत्रमा रुख काट्न डिभिजन वन कार्यालयले नदिदा समस्या भएको हो । पहिलो खण्ड सडक निर्माणका लागि आशिष डिएस हेटौंडाले दुई बर्षभित्र निर्माण सम्पन्न गर्ने गरी ठेक्का लिई २०७७ असार २६ गते सम्झौता गरेको थियो । पहिलो खण्ड सडकको सम्झौताको म्याद २०७९ असार २५ मा सकिएको छ ।
सबै प्रकृया पुरा गरी रुख काट्ने फाईल वन विभागमा गएर अड्किएको र वनको समस्या समाधान नभएसम्म उक्त सडक नबने कार्यालय प्रमुख देवनारायण प्रसाद यादबले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त २८ किलो मिटर सडक मध्ये दोस्रो खण्ड चार किलोमिटर र तेस्रो खण्ड १० किलोमिटर रहेको छ । दोस्रो खण्डको निर्माण कार्य धमाधम भई रहेको र तेस्रो खण्ड दुई बर्षभित्र निर्माण पुरा गर्ने गरी यही असारमा सम्झौता भएको छ ।
सडकको स्तरउन्नती गरी कालोपत्रे सहित निर्माण हुने तीन वटै खण्डको कुल लागत ७० करोड रुपिया रहेको पनि कार्यालय प्रमुख यादबले बताउनुभयो ।
कच्चि सडक निर्माण भएको करिब दुई दशकपछि सिन्धुलीको सदरमुकाम सिन्धुलीमाढीदेखि चकमके सडकलाई कलोपत्रे सहित निर्माण सुरु हुदा उत्साहित बनेका स्थानीय सडकको निर्माण कार्य सुस्त भएपछि निरास देखिएका छन् । जिर्घा निवासी दावा तमाङ सडकको निर्माण कार्य दुई बर्षमा ४० प्रतिशत पनि प्रगती नभएको बताउनुहुन्छ ।
उक्त सडक अन्तर्गत गड्यौली खोला, जिर्घा खोला, चँदाहा खोलामा पक्कि पुल निर्माण पुरा भई सञ्चालनमा आएपनि सडक निर्माण कहिले पुरा हुने भन्ने अन्यौल रहेको उहाँको गुनासो छ । प्रदेशिक सडक कार्यालय र डिभिजन वन कार्यालय बीच समन्वय नहुदा यो समस्या आएको स्थानीयको बुझाई छ ।
प्रदेशिक सडक कार्यालयका अनुसार सडकको चौडाई १२ मिटर हुने र त्यो मध्ये सात मिटर कालोपत्रे हुने छ । नालाको चौडाई एक दसमलब दुई मिटर रहने जनाइएको छ । उक्त सडक निर्माण पुरा भएमा सिन्धुलीमाढीदेखि चकमकेसम्म बाह्रै महिना यातायात सञ्चालनमा आई स्थानीयलाई सुविधा हुने छ ।