शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

तनाव र थकान मेटाउने थलो बन्दै सिन्धुलीगढी

बुधवार , श्रावण ११, २०७९

सिन्धुली – जिल्ला सदरमुकाम सिन्धुलीमाढीमा यतिखेर उखर्माउलो गर्मी छ । सदरमुकामदेखि उत्तरतिर २० किलोमिटर टाढा बीपी राजमार्गसँग जोडिएको सिन्धुलीगढी भने अहिले गर्मी भुलाउने थलो बन्दै गएको छ ।

ऐतिहासिक सिन्धुलीगढी अबलोकन र गर्मी भुलाउनकै लागि अहिले सिन्धुलीगढी आउनेको सङख्या बाक्लिदै गएको स्थानीयको भनाई छ । सिन्धुलीगढीको प्रवेशद्वारको रुपमा रहेको सोलाभन्ज्याङमामा नै लामो समयदेखि व्यापार व्यवसाय गर्दै आउनु भएका व्यवसायि घनश्याम मगरका अनुसार सिन्धुलीगढी क्षेत्रमा रहेको ऐतिहासिक महत्व, हावापानी र नागबेली सडकको मज्जा लिन तराइबाट सयौं सवारी साधनमा आन्तरिक पर्यटकहरु यहाँ आउने गरेका छन् ।

वर्षातको समयमा पनि गर्मी भुलाउन सिन्धुलीका मात्र नभएर छिमेकी जिल्ला तथा भारतबाट समेत आन्तरिक तथा बाह्य पर्यटकहरु गढी क्षेत्र आउने गरेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “तनाव र थकान मेटाउने थलो गढी क्षेत्र बनेको छ । १२ महिना नै यहाँ हुस्सु लागेर जाडो भइ रहन्छ । झन गर्मीमा स्वर्गिय आनन्द नै प्राप्त हुन्छ ।”

सुनकोशी गाँउपालिका अध्यक्ष दीपा बोहोरा सदरमुकाम आवतजावत गर्दा सधैजसो सोलाभञ्ज्याङमा केही समय बिताउने गरेको बताउनुहुन्छ । उहाँको कार्यक्षेत्र सुनकोसी गाँउपालिका होस अथवा सदरमुकाम सिन्धुलीमाढीमा यतिखेर गर्मी बढुदै गएको छ । सदरमुकाम आउदा र जाँदा सोलाभञ्ज्याङ गर्मी भुल्ने गन्तब्य बनेको उहाँको भनाई छ । अध्यक्ष बोहोरा भन्नुहुन्छ, “गर्मी मौसममा समेत गढी क्षेत्रमा हुने जाडोले छुट्टै मज्जा दिन्छ । त्यहाँ पुग्दा छुट्टै रमाईलो र मज्जाको अनुभुति गर्न पाईन्छ ।”

गाँउपालिका अध्यक्ष बोहोरा मात्र नभई यतिखेर सिन्धुलीगढी क्षेत्रमा पुग्ने अन्य व्यक्तिको अनुभव पनि उहाँको भन्दा फरक पाईदैन । गर्मी मौसममा समेत सिन्धुलीगढी क्षेत्रमा जाडो हुने गरेको छ । गर्मी भुलाउन र प्राकृतिक सौंदर्यको मज्जा लिन तराइ क्षेत्रको हब सिन्धुलीगढी क्षेत्र बन्दै गएको स्थानीय बासिन्दा बताउछन् ।

वनभोजका लागि तथा सामान्य घुमघामको रोजाइको क्षेत्र सिन्धुलीगढी पर्र्दै गएको स्थानीयको भनाइ छ । गर्मीमा चिसोको मज्जा लिन सयौंको संख्यामा तराइ क्षेत्रबाट आन्तरिक पर्यटकहरु आउने गरेको स्थानीय शिक्षक कर्णबहादुर कार्की बताउनुहुन्छ । उहाँले भन्नुभयो, “चिसो मौसममा भन्दा अहिले यहाँ आउनेको संख्यामा बृद्धि भएको छ, गर्मी भुलाउनकै लागि गढी रोजाइमा परेको हो ।”

वर्षातको मौसममा समेत गढीमा मानिसको उत्तिकै चाप हुन्छ । सिन्धुलीगढीले बि.सं. १८२४ मा तत्कालिन ब्रिटिस सेनालाई पराजित गरेको गौरबशाली ईतिहास बोकेर बसेको छ । गढी क्षेत्रमा यतिखेर राजधानी आवतजावत गर्नेको लर्को भेटिन्छ । बीपी राजमार्ग हुदै पूर्वी नेपाल जाने र फर्कने होस वा राजधानीतर्फ जाने जो कोही पनि गढी क्षेत्र घुम्न लालायित हुने गरेको स्थानीय शिक्षक कार्कीले बताउनुभयो ।

सिन्धुलीगढी क्षेत्रमा नेपाली सेनाले एक बर्षअघि निर्माण सम्पन्न गरेको नेपालकै युद्ध सङग्राहलयले पनि आन्तरिक तथा बाहिय पर्यटक तानेको स्थानीयको भनाई छ । स्थानीयका अनुसार सिन्धुलीगढी क्षेत्रमा रानी दरबार, वीरवीराङ्गनाको इतिहास खुलाइएको तस्बिर, सानोगढी, ठुलोगढी, पौवागढी, तोप हान्ने प्वाल, फहराइरहेको राष्ट्रिय झण्डा, टुंडिखेल, सिद्धबाबा मन्दिर लगायतका स्थान हेर्न र दर्शन गर्न सकिन्छ ।

यतिखेर कमलामाइ नगरपालिकाले सिन्धुलीगढीलाइ पर्यटकिय स्थलको रुपमा विकास गर्न गुरुयोजना नै तयार गरेर धमाधम भौतिक पूर्वाधार निर्माणको काम गरि रहेको मेयर उपेन्द्रकुमार पोख्रेल बताउनुहुन्छ । उहाँले सिन्धुलीगढीलाई पर्यटकिय गन्तब्य बनाउन नगरपालिका लागि परेको उहाँको भनाई छ ।

प्रतिक्रिया