शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीमा ७ जनामा परिक्षण गर्दा १ जना कोरोना संक्रमित !

मंगलवार , श्रावण १०, २०७९

सिन्धुली– सिन्धुलीमा मंगलबार २५ जनाको कोरोना परिक्षणको नतिजा आउँदा चारजनामा संक्रमण देखिएको छ । मंगलबार आएको कोरोना परिक्षणको नतिजा अनुसार हरेक सातजनामा एक जना कोरोनाबाट संक्रमित देखिएको हो । चारजना संक्रमित थपिएसँगै सिन्धुलीमा २५ जना सक्रमित संक्रमित रहेको स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ ।

हाल सिन्धुलीमा सबैभन्दा धेरै कमलामाई नगरपालिकामा ११ जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै, मरिण गाउँपालिकामा चार जना, तिनपाटन र घ्याङलेखमा १/१ जना सक्रिय संक्रमित रहेको कोभिड फोकल पर्सन डाक्टर सागर देवकोटाले जानकारी दिनुभयो । सक्रिय संक्रमित मध्य १७ जना पुरुष र ८ जना महिला रहेको डाक्टर देवकोटाले बताउनुभयो । सिन्धुलीमा कोरोनाबाट हालसम्म १६ जना महिला र १९ जना पुरुष गरि ४५ जनाको मृत्यु भएको छ ।

दुईको मृत्यु

देशभर पछिल्लो २४ घण्टामा ६३८ मा कोभिड संक्रमण पुष्टि भएको छ भने संक्रमणका कारण दुई जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा पाँच हजार ५५ को नमूना परीक्षण गरिएको थियो । दुई हजार २१५ ले पिसिआर र दुई हजार ८४० को एन्टीजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा २१८ कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन् । यससँगै संक्रमणमुक्त हुनेको संख्या नौ लाख ६८ हजार ८०२ पुगेको छ । संक्रमण मुक्त हुने दर ९८ दशमलव चार प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा दुई लाख ५७ हजार ८७८ ले कोभिडविरुद्धको खोप लगाएका छन् । हाल सक्रिय संक्रमितको संख्या तीन हजार ७१४ रहेको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९५९ पुगेको छ । होम आइसोलेसनमा तीन हजार ५८१, संस्थागत आइसोलेसनमा १३३, आइसियुमा ३० र भेण्टिलेटरमा एक जना संक्रमित रहेका छन् ।

हाल देशभरमा ५०० भन्दा बढी सक्रिय संक्रमित भएका जिल्ला काठमाडौँ र २०० भन्दा बढी संक्रमित रहेको जिल्लामा ललितपुर तथा मोरङ रहेका छन् । शून्य संक्रमित रहेका जिल्लामा मनाङ, जाजरकोट, कालीकोट, मुगु, हुम्ला र बाजुरा रहेका छन् । उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा दुई हजार ४०, ललितपुर ३८१ र भक्तपुरमा ८४ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया