शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

एक बर्षभित्र भुमिहिन सुकम्बासीलाई लालपुर्जा बितरण गर्छौ : अध्यक्ष बिमर्श मोक्तान

मंगलवार , श्रावण १०, २०७९

सिन्धुली,– सिन्धुलीको मरिण गाँउपालिका अध्यक्ष बिमर्श मोक्तानले गाँउपालिकाले एकल पुरुषलाई जीवन निर्वाह भत्ता दिन लागेको बताउनु भएको छ ।

उहाँले आगामी आर्थिक बर्ष ०७९÷०८० को साउन महिनादेखि नै बिदुर पुरुषलाई मासिक दुई हजार रुपैया र ४० बर्षसम्म विवाह नगरि बसेका एकल पुरुषलाई कार्यविधि बनाएर उक्त भत्ता उपलब्ध गराईने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “त्यसका लागि गाँउपालिकाले १२ लाख रुपैया बजेट छुट्याएको छ । श्रावण महिनादेखि एकल पुरुषहरुलाई पनि भत्ता दिने तयारी गरेर बजेट नै छुट्याएका छौं । पालिका भित्र रहेका एकल पुरुषहरुको तथ्यांक संकलन गरेर एकल पुरुषहरुलाई भत्ता वितरण गर्ने तयारी गरेका छौं ।”

निर्बाचनको बेला घोषणा पत्रमा उल्लेख गरेका कुरालाई कार्यान्वयन गर्न आफु प्रतिबद्ध रहेको र सोही अनुसार गाँउपालिकाले आगामी आर्थिक बर्ष ०७९÷०८० को नीति तथा कार्यक्रम र बजेट ल्याएको गाँउपालिका अध्यक्ष मोक्तानको भनाई छ । एक बर्षभित्र भुमिहिन सुकम्बासीलाई लालपुर्जा बितरण गर्ने, पाँच बर्षभित्र सबै वडा कार्यालयको भवन निर्माण गर्ने, बेरोजगारी समस्या समाधानका लागि श्रम सहरकारी संस्था स्थापना गर्ने, पञ्चकन्या पोखरीमा बन्यजन्तुको चिडियाखाना स्थापना गर्ने लगायतका योजना आफुसँग भएको उहाँले सुनाउनुभयो ।

उहाँले भन्नुभयो, “गाँउपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन र पुर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको छ । सोही बमोजिम नीति तथा कार्यक्रम बनाएका छौं ।” गाँउको बेरोजगारी समस्या समाधान गर्ने बेरोजगार व्यक्तिको तथ्याङक संलन गरिने र गाँउपालिका, प्रदेश तथा संघिय सरकारबाट आएका योजनाहरु श्रम सहकारी संस्थामार्फत सञ्चालन गरी बेरोजगार व्यक्तिहरुलाई परिचालन गरी रोजगार दिईने उहाँको भनाई छ ।

गाँउपालिकाले गर्भवती महिलाहरुको निःशुल्क स्वास्थ्य विमा गर्ने र उनीहरुलाई बच्चा जन्माउन स्वास्थ्य संस्थामा जाँदा निःशुल्क एम्बुलेन्सको व्यवस्था मिलाएको उहाँले बताउनुभयो । गाँउपालिकाले शहिद परिवारलाई एक लाख रुपैया दिने योजना पनि अघि सारेको उहाँले सुनाउनुभयो ।

गाँउपालिकाका सात वटा वडा मध्ये अहिले वडा नं. ४ को भवन निर्माण सम्पन्न भई दैनिक कामकाज सञ्चालन भई सकेको र वडा नं. २ को भवन निर्माणाधिन रहेको जानकारी दिदै उहाँले बाँकी वडाको भवन पाँच बर्षभित्रमा निर्माण पुरा गर्ने प्रतिबद्धता गर्नु भयो ।

गाँउपालिका अध्यक्ष मोक्तानले भन्नुभयो, ”कृषिमा नबप्रबद्र्धन कार्यक्रम ल्याउका छौं । उक्त कार्यक्रम मार्फत गोठ तथा खोर सुधार गरेर किसानलाई भैसि, बाख्रा र बंगुर निःशुल्क बितरण गर्ने योजना ल्याएका थियो । त्यसका लागि आगामी आर्थिक बर्षका लागि दुई करोड नौ लाख रुपैया बजेट छुट्याएका छौं ।”

प्रतिक्रिया